बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

बालबालिकालाई प्राणायाम, ध्यान र योगासनमा किन लगाउने ?

मङ्गलबार, २५ भदौ २०८१, १८ : ४५
मङ्गलबार, २५ भदौ २०८१

मानिस एक प्राकृतिक जीव हो र उसको जीवनशैली नै प्राकृतिक रूपमा सरल र सहज हुन आवश्यक छ, तर विज्ञान र प्रविधिको विकाससँगै कतिपय मानिसको जीवनशैली अप्राकृतिक हुन पुगेको छ ।

पछिल्लो समय खासगरी सहरबजारका बालबच्चा प्रकृतिको सामीप्यताबाट टाढा भएका छन् वा उनीहरुलाई त्यसबाट टाढा राखिएको छ । शारीरिक परिश्रमको कमी, मानसिक परिश्रमलाई विशेष महत्त्व दिने प्रवृत्तिले हिजोआजका बच्चामा उमेर अनुसारको चञ्चलता घट्दै गएको पाइन्छ । 

विद्यालय शिक्षामा निरन्तर खटिनुपर्ने दबाब एकातिर छ भने अर्कोतिर अध्ययनमा मात्रै केन्द्रित हुने र फुर्सदको समय पनि प्रविधिमा रमाउने हुँदा बालबच्चाको दिमागले उचित मात्रामा आराम पाउँदैन । शारीरिक परिश्रम नगन्य मात्रामा गर्दा गहिरो निद्रा र मिठो भोक समेत जाग्न छाडेको देखिन्छ । 

बाहिरी खुला वातावरणमा हिँड्ने, डुल्ने वा खेल्ने प्रकृतिका बच्चालाई हामीले सहजताका नाममा कम्प्युटर, ल्यापटप र टीभीसँग अत्यधिक सम्पर्कमा राखेर शारीरिक र मानसिक रूपमा खुम्च्याएका पनि छौँ । उमेरसँगै आफ्ना छोराछोरीलाई आधुनिक प्रविधिसँग आवश्यकमा मात्रा जोड्नु स्वाभाविक हो । तर आज बालबालिका घरायसी तथा सामूहिक छलफलमा नबस्ने र बसे पनि मोबाइलमा गेम खेल्ने या टिकटक बनाउने या युट्युब हेर्नमा तल्लीन देखिन्छन्, यसतर्फ अभिभावकले ध्यान दिन आवश्यक छ । 

प्रचुर मात्रामा शारीरिक विकास हुने समयमा बालबच्चा सक्रिय हुनु स्वाभाविक वा प्राकृतिक हुन्छ तर सानैदेखि बालबच्चालाई हामीले मोबाइल, ल्यापटप वा टीभीमा भुलाउन थाल्यौँ । लामो समय यस्तै प्रवृत्ति बढ्दै जाँदा हाम्रा बालबच्चाको सक्रिय जीवनशैलीमा ह्रास आउन सक्छ । परिणामस्वरूप बच्चा कतै गएर रमाउन नसक्ने, खुलेर गफगाफ नगर्ने, मनोवादमा सीमित हुने, विनाकारण पनि झर्किने र नैराश्यजस्तो देखिन थाल्छन् । 

बढ्दो सहरी बस्ती, अत्यधिक जङ्क फुडको प्रयोग, प्राकृतिक सौन्दर्यताको अभाव, भिडभाडजस्ता विषयले प्रायः जीवनका सकारात्मकताको अभाव सिर्जना गर्दै जाने गर्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग, आर्थिक मन्दीको प्रभाव, देखासिकीले गर्दा खर्चिलो दैनिकी र अस्वस्थ प्रतिस्पर्धाले बढ्दै गइरहेको आपराधिक घटना क्रमले बाल मष्तिस्कमा नराम्रो र गहिरो चोट पारेको देखिन्छ ।

पछिल्लो समय खासगरी सहरबजारका बालबच्चा प्रकृतिको सामीप्यताबाट टाढा भएका छन् वा उनीहरुलाई त्यसबाट टाढा राखिएको छ । शारीरिक परिश्रमको कमी, मानसिक परिश्रमलाई विशेष महत्त्व दिने प्रवृत्तिले हिजोआजका बच्चामा उमेर अनुसारको चञ्चलता घट्दै गएको पाइन्छ ।

सामाजिक मूल्य–मान्यता र नैतिक शिक्षाको अभावले गर्दा स–साना बालबच्चाले पनि बोर लाग्यो, टेन्सन भो भन्दै देखासिकी गर्दै धुम्रपान, मद्यपान तथा लागु पदार्थको सेवन गर्न थालेको विषय नौलो हुन छाडेको छ । आजका कतिपय बालबच्चामा उत्साह, उमंग, जोस, जाँगर घट्दै गएको पाइन्छ । कताकता मानवीय संवेदना पनि क्षीण हुँदै गएको देखिन्छ । 

हिजो हाम्रो बाल्यकाल प्राकृतिक रूपमा खोलानाला, जंगल, पहाड, पर्वत, खेतबारी हुँदै प्रकृतिसँग नजिक रहेका शुद्ध अन्नपात ग्रहण गरेर, सामूहिक सेवाभाव गरेको देखेर बितेको थियो । हामीले जे–जस्तो जीवनशैली अपनाएका थियौँ, आजका बालबच्चाले पनि सबै त्यस्तै गर्नुपर्छ भन्ने होइन, यद्यपि मानसिक र शारीरिक स्वस्थताका लागि केही कुराको अभ्यासलाई जोड्न सकिन्छ, ती हुन्— ध्यान, योगासन वा प्राणायाम ।  

  • ध्यान, योगासन र प्राणायामको प्रभाव

बच्चाको प्राकृतिक स्वभाव आफैँमा पूर्ण देखिन्छ— चाहे त्यो रमाउँदा होस् वा रिसाउँदा । हरक्षण बालबालिका शत प्रतिशतमा आफ्नो कार्यमा संलग्न हुने गर्छन् । बच्चाको बढ्दो उमेरसँगै बच्चामा रहेको कोषहरूको आकार र संख्याको वृद्धि अधिक हुने र ती कोषको मृत्यु अत्यन्तै न्यून हुने गर्छन् । वृद्ध उमेरमा कोषको जन्म र मृत्युको प्रक्रिया बालबच्चाको भन्दा ठिक उल्टो देखिन्छ । 

tulasa gaire

खासगरी प्राणायाम, योगासन र व्यायामका माध्यमबाट शरीरमा बढ्दै गरेका कोषहरूले प्राण वायु (अक्सिजन) प्राप्त गर्छन् र दिमागसम्म प्रशस्त अक्सिजनयुक्त रगतको सञ्चार हुन्छ, जसले दिमागलाई ताजा र सक्रिय राख्न सघाउँछ । 

प्राणायामसँगै बिस्तारै बालबच्चालाई ध्यानको अभ्यास गराइयो भने उनीहरुले आफ्नो मस्तिष्कलाई सकारात्मक कार्यमा लगाउन सक्छन् र पढाइ तथा सिकाइमा प्रगति गर्छन् । ध्यानको अभ्यासले बालबालिकाको मन धेरैतिर भड्कनदेखि रोक्न मद्दत पु¥याउँछ । कतिपय बालबालिकाले पढाइलाई दबाबको रुपमा लिएका हुन्छन्, उनीहरुलाई कुनै सिकाइ वा पढाइमा एकाग्र बनाउन पनि ध्यान एउटा उचित माध्यम हो । यस्तै योगासनका माध्यमबाट बालबालिकाको शरीर लचक बन्छ । 

योगासन, प्राणायाम तथा ध्यानले शरीरमा राम्रा रसायन (जस्तै, सेरोटोनिन, जसले खुसी दिन्छ; डोपामाइन, जसले आनन्द दिन्छ र एन्डोर्फिन, जसले दिमागलाई शान्त बनाउँछ आदि) उत्पन्न गर्छन् । खुसी, आनन्द र शान्त नभई बालबालिकाले कुनै सिकाइमा ध्यान दिन वा सिर्जनशील बन्न सक्दैनन् । 

हाम्रा पुर्खाले प्राणायाम, ध्यान वा योगको अभ्यास त्यतिकै गरेका होइनन्, लामो अनुसन्धान र अभ्यासले उनीहरुले यसको महत्त्व बुझेका थिए । 

हामीलाई थाहा भएकै कुरा हो, जुन बारीमा राम्रो बिरुवा रोप्न सकिँदैन, त्यो बारीमा अवश्य पनि अनावश्यक झारपातले माटोको उर्वर क्षमता नष्ट गराउँछ । विद्यार्थीले आफ्नो इच्छा अनुसार फरक–फरक विषयको अध्ययन वा सिकाइमा रुचि राख्छन् तर त्यसमा प्रगति गर्न आफ्नो दैनिकीमा प्राणायाम, ध्यान र योगासन जोडियो भने धेरै फरक पर्छ । 

(लेखक नेपाल सरकारको कानुन अधिकृत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुलसा गैह्रे
तुलसा गैह्रे
लेखकबाट थप