शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

युगान्डाकी धाविकालाई जलाएर मार्ने प्रेमीको पनि मृत्यु

मङ्गलबार, २५ भदौ २०८१, १८ : ३३
मङ्गलबार, २५ भदौ २०८१

काम्पाला । युगान्डाकी ओलम्पिक धाविका रेबेका चेप्टेगीलाई जलाएर मार्ने प्रेमीको निधन भएको छ । केन्याको अस्पतालका एक अधिकारीले संदिग्ध डिक्सन न्देइमाको निधन भएको बताएको छ । न्देइमाले पेट्रोल खन्याएर चेप्टेगीलाई आगो लगाएका थिए । एक हप्ता अघि चर्चबाट घर फर्किँदै गर्दा सो घटना भएको थियो ।

उत्तर–पूर्वी केन्यामा रहेको एउटा सानो जमिनको विषयमा दुईबिच विवाद चलिरहेको स्थानीय प्रशासकहरूले बताएका थिए । सोमबार अस्पतालको सघन उपचार कक्षमा न्देइमा मृत्यु भएको बताइएको छ । चेप्टेगीलाई आगो लगाउने क्रममा उनको शरीरको ४० प्रतिशतभन्दा धेरै हिस्सा जलेको थियो । श्वासनली जलेर गम्भीर क्षति भएपछि उनलाई श्वास फेर्न समस्या भइरहेको बताइएको थियो ।

सोमबार स्थानीय समयअनुसार साँझ ६ः३० बजेतिर बचाउने अनेकौँ प्रयासबिच न्देइमाको मृत्यु भएको अस्पतालले भनेको छ । चेप्टेगीको भने गएको बिहीबार मृत्यु भएको थियो । 

पूर्व प्रेमीले आगो लगाएको ४ दिनपछि उनको मृत्यु भएको थियो । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै हिस्सा जलेका थिए । घटनाको दिनमा चेप्टेगी मद्दत माग्दै चिच्याएपछि छिमेकीहरूले उनको शरीरमा लागेको आगो निभाउने प्रयास गरेका थिए ।

चेप्तेगेइको घरमा लुकेर बसेका न्देइमाले उनको शरीरमा ५ लिटर पेट्रोल खन्याएर आगो लगाएका थिए । उनले चेप्तेगेइको शरीरमा छर्किएको केही पेट्रोल उनको शरीरमा पनि परेको थियो । चेप्तेगेइलाई आगो लगाउने क्रममा आगोले उनको शरीरलाई पनि टिप्यो । मृत्यु अघि मोई अस्पतालमा दुबैलाई भर्ना गरिएको थियो ।

गएको तीन वर्षमा मारिएकी ३३ वर्षिय चेप्टेगी केन्याको तेस्रो खेलाडी हुन् । सबै मृत्युमा प्रहरीले खेलाडीको प्रेमीलाई मुख्य संदिग्ध भनेको छ । सन् २०२१ मा विश्व कीर्तिमानी धाविका एग्नेज टिरोपको चक्कु हानेर हत्या गरिएको थियो भने त्यसको ६ महिनापछि अर्की धाविका डामारिस मुटुवाको घाँटी थिचेर हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप