बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु साहको प्रश्न– सरकार दुध नदिने गाई हो,  कर तिरेर किन पालिरहने ?

मङ्गलबार, २५ भदौ २०८१, १८ : १९
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जनताले सरकारलाई किन कर तिर्ने भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै साहले जनतालाई केही नदिने सरकारलाई कर तिर्न आवश्यक नभएको बताएका हुन । 

सांसद साहले भने,‘जनताले सरकारलाई कर किन दिने ? मरिमरी आफूले दिएको कर बापत सरकारबाट जनताले के पाए ? म सरकारलाई सोध्न चाहन्छु । जनताले त विकास र आफ्नो सेवासुविधाको लागि कर तिर्ने हो, तर जनताले अहिले देशमा लुट र ब्रम्हलुट देखिरहेका छन् । विनाश पाइरहेका छन् ।’

उनले अगाडि भने,‘दुध नदिने गाई अहिलेसम्म कसैले पालेको हामीले देखेका छैनौँ । नेपाली जनताले दुध नदिने गाई किन पाल्ने ? हामी हेरिरहेका छौँ कि सरकारका मातहतमा रहेका उद्योगहरू घाटामा छन् । सरकारी उद्योगहरू घाटामा छन् कि त बन्द भएका छन् ? जसले उद्योग चलाइरहेको छ, त्यसले सम्मान पाउनुपर्ने हो कि उल्टै दण्ड भोग्नुपर्ने ?’

सांसद साहले सरकारको उद्योग बन्द हुने र घाटा हुने तर निजी उद्योगहरूले कर तिर्नुपरेको बताए । उनले भने,‘कुन नैतिकताले सरकारले ती निजी उद्योगसँग कर लिन मिल्छ ? सरकारका मातहतमा रहेका संस्थान र केन्द्रहरू घाटामा हुने ? तर निजी उद्योगहरूले कर तिर्नुपर्ने ? सरकारले के नैतिकताको आधारमा अरूसँग कर लिन मिल्छ ? नेपाल एयरलाइन्स घाटामा हुने, त्यो पनि सामान्य नभएर अर्बौं घाटामा भएको छ । अनि निजी एयरलाईन्सहरुले कर तिर्नुपर्ने ? सरकारले कुन नैतिकताको आधारमा कर लिन्छ ? म सोध्न चाहन्छु ।’

उनले सरकारी अस्पतालहरूको हालत नाजुक अवस्थामा रहेको तर निजी अस्पतालहरूले राम्रो गरेको र नाफा आर्जन गरेको बताए । जनताले ५० भन्दा बढी किसिमका कर तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले नेपालमा महँगी पनि दिनानुदिन बढिरहेको र आफ्ना उत्पादन महँगो रहेको बताए । 

यही कारण नेपाली उत्पादनले विदेशमा स्थान नपाएको उनको दाबी छ । उनले देशको अर्थतन्त्र धराशायी बनाउने कर प्रणाली आफूहरूलाई नचाहिएको टिप्पणी गरे । उनले देशमा विद्यमान आयात र निर्यातको असन्तुलन  भनेको नै नेपालमा भएको कर व्यवस्था भएको दाबी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप