सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
समाचार

सशस्त्र युद्धको बेला बेपत्ता महिलाको अन्त्येष्टि, काजकिरियामा बसे ८३ वर्षीय वृद्ध

कुशको शव बनाएर गरियो दाहसंस्कार
मङ्गलबार, २५ भदौ २०८१, १६ : ००
मङ्गलबार, २५ भदौ २०८१

विराटनगर । माओवादीको अगुवाइमा भएको सशस्त्र युद्धको समयमा बेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडाको हालै अन्त्येष्टि गरिएको छ । भदौ १७ गते कुशको शव बनाएर उनको दाहसंस्कार गरिएको हो ।

लक्ष्मीका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् । जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते मोरङ जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालीन सेनाले पक्राउ गरेर बेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो ।

सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर लक्ष्मीको दाहसंस्कार गरिएको उनका भाइ प्रेम खतिवडाले जानकारी दिए ।

‘अदालतले बेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदियो । त्यही अनुसार हामीले काजकिरिया गरेका हौँ । हामीले भदौ १७ गते अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरेका हौँ,’ उनले भने ।

sss (1)

लक्ष्मी खतिवडा २०५८ साल मंसिरमा माओवादी ‘जनयुद्ध’मा पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा उनलाई २०५९ भदौ १७ गते सुनसरी खनारको नहर पूर्वको सर्वसाधारणको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो । ‘दिदी पक्राउ परेको १५ दिनपछि हामीले खबर पायौँ । त्यसपछि खोजीका लागि हामी त्यहाँ पुग्दा पक्राउ परेको पुष्टि भयो । त्यसपछि इटहरी ब्यारेक गएर बुझ्यौँ । कहाँ लगे भन्ने कुनै पत्ता लागेन,’ लक्ष्मीका भाइ प्रेमले भने ।

दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका घरका मानिसलाई पनि सेनाले निर्घात कुटपिट गरेको पाएको प्रेमले बताए । केही नलागेपछि पीडित परिवारले माओवादीलाई नै बेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएको थियो । ‘सरकारमा पनि पार्टी गयो । दिदीको अवस्थाबारे पार्टीले नै खोजी गर्नुपर्छ भन्ने थियो । तर, पत्ता नलागेपछि बुबाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिनुभएको हो,’ प्रेमले भने, ‘अदालतले घोषणा गरेपछि दाहसंस्कार गरिएको हो ।’

सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको छ । उक्त ऐन जारी भएपछि लक्ष्मीको अवस्थाबारे केही जानकारी आउँथ्यो कि भन्ने प्रश्नमा प्रेमले भने, ‘अदालती प्रक्रिया धेरै अगाडि सुरु भएका कारण अदालतकै मृत्युको न्यायिक घोषणापत्रको आधारमा काजकिरिया गरेका हौँ ।’

२०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी लक्ष्मी परिवारसँगै २०४८ सालमा सुनसरीको बौकामा बसाइँ सरी आएकी थिइन् । त्यहाँबाट २०५१ सालमा साविक हसन्दह गाविस–१, चिलाझारमा बसोबास गरिरहेको अवस्थामा लक्ष्मी २०५८ साल मंसिरमा जनयुद्धमा हिँडेकी हुन् । उनका ८३ वर्षका वृद्ध बुबा र ७८ वर्षीय आमा रत्नकुमारीका साथै पाँच दाजुभाइ र दुई दिदीबहिनी छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप