बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकी महिला सिनेटरमाथि पूर्वकर्मचारीले लगाए यौन शोषणको आरोप

मङ्गलबार, २५ भदौ २०८१, १४ : ४१
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटर मेरी अल्भाराडो गिलले पुरुष कर्मचारीमाथि यौन शोषण गरेको आरोप लागेको छ । सिनेटर गिल रिपब्लिकन पार्टी सदस्य हुन् ।

गिलले आफ्नै ‘चिफ अफ स्टाफ’माथि यौन शोषण गरेको आरोपमा मुद्दा दायर भएको छ । अमेरिकी मिडिया ‘न्यूयोर्क टाइम्स’का अनुसार पीडित चाड कन्डिटले सिनेटर गिलविरुद्ध मुद्दा दायर गरेका हुन् ।

आफू ‘चिफ अफ स्टाफ’का रूपमा कार्यरत रहँदा सिनेटर गिलले जबर्जस्ती यौन सम्बन्ध बनाएको, यौन दुर्व्यवहार तथा उत्पीडन गरेको पीडित कन्डिटको आरोप छ । जागिर जोगाउनकै लागि कयौँ वर्षसम्म आफूले गिलसँग यौन सम्बन्ध बनाउनु परेको उनले आरोपपत्रमा उल्लेख गरेका छन् । यस क्रममा आफूले निकै दबाब महसुस गर्नु परेको उनले जनाएका छन् ।

कन्डिटका अनुसार सिनेटर गिललाई अप्राकृतिक यौन क्रियाकलापमा रुचि थियो । उनले सत्ताको लाभका रूपमा आफ्ना त्यस्ता रुचि पूरा गर्ने गरेको कन्डिटको जिकिर छ ।

कन्डिटले सिनेटर गिलसँग विभिन्न विषयमा क्षतिपूर्तिको मागसमेत उजुरीमा गरेका छन् । कमाइ गर्ने क्षमतामा भएको नोक्सान, रोजगारी गुमेको, कर्मचारी लाभ र भावनात्मक नोक्सान लगायतको क्षतिपूर्ति उनले माग गरेका छन् ।

कानुनी कारबाही सुरु

सिनेटर गिलका विरुद्ध कानुनी कारबाही प्रक्रिया सुरु भएको छ । एक स्थानीय अदालतमा दायर मुद्दामा सन् २०२३ को अधिकांश समय सिनेटर गिलले आफ्ना चिफ अफ स्टाफ कन्डिटविरुद्ध अनियमित, नियन्त्रित, अप्राकृतिक यौन सम्बन्ध बनाउन आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आरोप छ ।

गत वर्ष अगस्टमा आफूले सिनेटर गिलको यौन सम्बन्धबारेको प्रस्ताव अस्वीकार गरेका कारण अनुशासनात्मक पत्र पठाइएको आरोप पनि कन्डिटले लगाएका छन् । उक्त पत्रको जवाफ दिन आफूलाई बाध्य पारिएको उनको भनाइ छ ।

सन् २०२२ मा निर्वाचित भएपछि सिनेटर गिलले कन्डिटलाई चिफ अफ स्टाफ नियुक्त गरेकी थिइन् । पदभार ग्रहण गरेको केही समयपछि नै सिनेटर गिलले आफूसँग निजी र अन्तरङ्ग कुराकानी गर्न थालेको कन्डिटको आरोप छ । डेटिङ, वैवाहिक धोका, सम्बन्धबिच्छेद जस्ता विषयमा सिनेटरले आफूसँग कुरा गरेको उनले उजुरीमा उल्लेख गरेका छन् ।

सन् २०२३ डिसेम्बरमा सिनेटर गिलले कन्डिटलाई चिफ अफ स्टाफको जिम्मेवारीबाट हटाएकी थिइन् । शान्टा क्लजको पोसाक लगाउन आफूले अस्वीकार गरेकै कारण आफूलाई जागिरबाट हटाइएको दाबी पनि उनले उजुरीमा गरेका छन् ।

आफूलाई सिनेटर गिलले ‘यौन दास’जस्तो व्यवहार गरेको कन्डिटको आरोप छ ।

तर सिनेटर गिलका वकिलले भने कन्डिटको आरोप निराधार भएको जिकिर गरेका छन् । उनीहरूले कन्डिटको आरोपलाई फर्जी र वित्तीय रूपमा प्रेरित रहेको जिकिर गरेका छन् ।

‘एउटा असन्तुष्ट पूर्वकर्मचारीले पैसा पाउनकै लागि विनाप्रमाण आश्चर्यजनक कथा बनाएका हुन्,’ सिनेटर गिलका वकिल ओग्नियन गाभरिलोभले भनेका छन् । उनले यी आरोपबाट सिनेटर गिललाई निर्दोष ठहर गरिने विश्वाससमेत व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप