क्रिकेट वर्ल्ड कप लिग–२ क्रिकेट ः सुखद नतिजाप्रति आशावादी प्रशिक्षक मोन्टी देसाई
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले निकट भविष्यमा क्यानडा र अमेरिका हुने आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खलामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।
प्रमुख प्रशिक्षक मोन्टीले भारतको बैंगलुरुमा गरेको प्रशिक्षणले पनि खेलाडीको प्रदर्शनमा निकै फाइदा पुर्याएको बताए । लिग–२ शृङ्खलाको तयारीका क्रममा नेपाली टोलीले गरेको श्रीलंका भ्रमण पनि उपयोगी सिद्ध भएको धारणा उनले व्यक्त गरेका छन् ।
लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गर्न मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘खेलाडीको मनोबल उच्च छ । प्रतियोगिताको तयारी पनि राम्रो छ । भारतको बैंगलुरुमा गरिएको तयारीले पनि गतिलो फाइदा पुर्याएको छ ।’
प्रशिक्षक मोन्टीले भारत भ्रमणका क्रममा त्यहाँका विभिन्न प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिएको बताए । ‘भारत भ्रमणका क्रममा हाम्रा खेलाडीले धेरै कुरा सिक्ने अवसर पाए । त्यहाँका विभिन्न प्रशिक्षकले हाम्रा खेलाडीलाई गहन तरिकाले प्रशिक्षण दिए । यो अनुभव हाम्रा खेलाडीले लिग–२ शृङ्खलामा प्रयोग गर्नेछन्,’ उनले भने ।
प्रशिक्षक मोन्टीले नेपाली टोलीको तयारीमा श्रीलंका भ्रमणले पनि फाइदा पुगेको उल्लेख गरे । ‘श्रीलंका भ्रमणका क्रममा तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम थियो तर, वर्षाले बाधा पुर्यायो । हामीले एउटा अभ्यास खेल भने खेल्न पायौँ । त्यो खेल हाम्रा लागि महत्त्वपूर्ण रह्यो । समग्रमा लिग–२ शृङ्खलाका लागि हाम्रो तयारी राम्रो छ,’ उनले भने ।
श्रीलंकामा खेलिएको एकमात्र अभ्यास खेलमा नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग पराजित भएको थियो । श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीमा सहभागी खेलाडीहरूको स्तरका बारेमा सोधिएको एक प्रश्नको जवाफमा प्रशिक्षक मोन्टीले त्यो टोलीमा राज्यस्तरका खेलाडीको बाहुल्य रहेको बताए ।
‘नेपाल र श्रीलंकाको क्रिकेटको स्तरमा निकै अन्तर छ । उनीहरू हामीभन्दा निकै अगाडि छन् । हामीले अभ्यास खेल खेलेको श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीमा पनि राम्रा खेलाडीहरू सहभागी थिए । त्यो टोलीमा अधिकांश त्यहाँको राज्यस्तरका प्रभावशाली खेलाडी रहेका थिए । त्यसैले पनि यो भ्रमण हाम्रा लागि उपलब्धिमूलक रह्यो,’ उनले भने ।