आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
यातना र यौन दुर्व्यवहार झेल्न बाध्य

काठमाडौँभित्रै बालश्रमको भयावह अवस्था : ऋणको ब्याजबापत बालबालिकालाई घरेलु काममा परिचालन

मङ्गलबार, २५ भदौ २०८१, ११ : १८
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । गत बिहीबार काठमाडौँ महानगरपालिका १४ कुलेश्वर आवासीय क्षेत्रमा घर भएका ५४ वर्षीय पुरुष पक्राउ परे । आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको बाल श्रमविरुद्धको अभियान अन्तर्गत महानगर, बाल हेल्पलाइन, बालबालिका खोजतलास केन्द्र १०४, र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा ती पुरुषलाई घरबाटै पक्राउ गरिएको थियो ।

घरमै काम गर्दै आएकी १७ वर्षीय किशोरीलाई विगत तीन वर्षदेखि यौन हिंसा तथा बलात्कार गर्दै आएको आरोप उनीमाथि लागेको थियो । ती किशोरी विगत ६ वर्षदेखि आरोपित पुरुषको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन् ।

काठमाडौँ महानगरको इन्टर्न विद्यार्थीहरूले ती किशोरी पढ्ने विद्यालयमा बालबालिकाको अवस्थाबारे अध्ययन गरेको थियो । सोही क्रममा एकाघरका अभिभावक नभएका बालबालिकालाई विभिन्न प्रश्न सोधिएको थियो । अनलाइमार्फत दिइएको प्रश्नमा ती किशोरीले आफूमाथि सामान्य कुटपिट गर्ने, बढी काम गर्न लगाउने, गाली गर्ने जस्ता विषय उल्लेख गरेकी थिइन् ।

तर, गत बुधबार एकाएक उद्धार टोलीका एक सदस्यलाई उनले आफूमाथि विगत ३ वर्षदेखि जबरजस्ती करणी भइरहेको जानकारी गराएकी थिइन् । सोही आधारमा ती पुरुषलाई पक्राउ गरिएको थियो ।

गत वैशाखमा इन्टर्न विद्यार्थीको टोली धुम्रबराह माध्यमिक विद्यालयमा पुग्दा कक्षा ७ मा पढ्ने १४ वर्षकी बालिकाले यस्तै प्रश्नावली फारम भर्ने क्रममा आफू बस्दै आएको घरका धनी दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ बस्ने रेखा कुमारी शर्माले हातले, पाइपले र लट्ठीले पिटेर यातना दिने गरेको बताइन् । शर्मा लुम्बिनी प्रदेश सभा सदस्यसमेत हुन् ।

त्यस्तै धम्की दिने, घरमा पोछा लगाउने, खाना पकाउने, बिरुवामा पानी हाल्ने काममा आफूलाई खटाउने गरेकोसमेत ती बालिकाले बताइन् । ६ वर्षदेखि उक्त घरमा आफू बस्दै आएको उल्लेख गर्दै ती बालिकाले यो अवधिमा आफूलाई घर परिवारसँग भेटसमेत गर्न नदिएको, आफू आएदेखि परिवारका सदस्यसँग कुरा नभएको, आफूलाई घर परिवारको याद आउँदा चिट्ठी लेख्ने गरेको जानकारी दिइन् ।

त्यसपछि २०८१ जेठ १४ गते नेपाल प्रहरी, बालबालिका खोजतलास सेवा (१०४), काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधि, काठमाडौँ महानगरको बाल उद्धार कार्यदलको टोली बालिका बसेको घर बालुवाटारमा पुग्दा घरधनी तथा नेकपा एमाले लुम्बिनी प्रदेश सांसद शर्मा घरमा थिइनन् । उद्धार टोलीले घरमा भाडामा बस्नेहरूको रोहबरमा बालिकाको उद्धार ग¥यो ।

नेपाल प्रहरीका एक जना सेवानिवृत्त प्रहरी निरीक्षकको घरमा एक बालिका घरेलु श्रमिकको रूपमा काम गर्थिन् । घरमा कोही नभएका बेला ती प्रहरी निरीक्षकका छोरा (नाबालक) ले जबरजस्ती करणी गर्दै आएका थिए ।

लामो समयसम्म सहेर बसेकी ती बालिकाले अन्तिममा काठमाडौँ महानगरको उद्धार टोली समक्ष घटनाबारे जानकारी गराइन् । त्यसपछि उद्धार टोलीले उनलाई उद्धार ग¥यो । तर पीडित बालिकाले मुद्दा मामिलामा नपर्ने भन्दै पीडकविरुद्ध मुद्दा हाल्न मानिनन् । त्यसपछि महानगरले उनलाई सेफ हाउसमा राख्यो ।

गत वैशाख यता काठमाडौँ महानगरले थालेको ‘बालबालिकाको रक्षा, भविष्यको सुरक्षा’ अभियान अन्तर्गत ५१ जना बालबालिको उद्धार गरेको छ । काठमाडौँ महानगरको प्रमुखको सचिवालय सदस्य धिरज जोशीका अनुसार अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालकको उद्धार गरिएको छ, जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले बताए ।

त्यसरी उद्धार गरेका बालबालिकालाई महानगरले नै शिक्षादीक्षाको व्यवस्था समेत गर्न सक्ने व्यवस्था छ । उद्धार गरिएका सबै बालबालिकाको तर्फबाट श्रम कार्यालयमा समेत मुद्दा दर्ता भएको छ । उनीहरूलाई उचित क्षतिपूर्तिको माग गर्दै श्रम कार्यालयमा उजुरी दिइएको जोशीले बताए ।

त्यस्तै उद्धार गरिएका बालबालिकाहरूलाई परिवारमा पुनर्मिलन समेत गराइएको छ । त्यसरी पुनर्मिलन गराइएका बालबालिकाहरूको पढाइका लागि भन्दै काठमाडौँ महानगरले १५ देखि ५० हजार रूपैयाँसम्म आर्थिक सहयोग गर्न सक्ने व्यवस्था छ ।

उद्धारका कठिनाइ

काठमाडौँ महानगरले बालबालिकाको उद्धार अभियानलाई तीव्रता दिएको छ । जोशीले विगतदेखि बालअधिकारका विभिन्न अभियान सञ्चालन गर्दैै आएका थिए । अहिले काठमाडौँ महानगर प्रमुखको सचिवालयमा काम गरिरहेको अवस्थामा समेत उनले सो अभियानलाई निरन्तरता दिइरहेका हुन् । त्यसका लागि उनीहरूसँग अन्य बालअधिकारकर्मीले पनि सहकार्य गरिरहेका छन् ।

‘अभियानलाई निरन्तरता दिने क्रममा विविध खालमा समस्या आउने गरेका छन्,’ जोशीले भने, ‘यसमा मेयर बालेन शाह आफैँ सक्रिय देखिनुभएको छ । बालबालिकाको उद्धार गर्दा आइपर्ने समस्या समाधानका लागि उहाँ निकै सक्रिय भएर लागिरहनु भएको छ ।’

प्रदेश सभा सदस्य रेखा शर्माको घरबाट उद्धार गरिएकी बालिकाको सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि अति भएर मेयर बालेन शाहले सामाजिक सञ्जालमा पोष्ट गरेको जोशीको भनाइ छ ।

महानगरको अभियानका क्रममा मिटरब्याज पीडितका छोराछोरीलाई समेत साहुले घरमा श्रमिकको रूपमा राखेको पाइएको जोशीले बताए । त्यो पनि ब्याजमात्रै कटाउने गरी काममा लगाएको पाइएको उनको भनाइ छ ।

त्यस्तै आफ्नै घरमा काम गर्न राखेका बालिकाहरूमाथि यौन हिंसा गर्ने, यातना दिनेजस्ता घटना समेत रहेको उनले बताए । महानगरको उद्धार कार्यमा सुरक्षा निकायबाट पर्याप्त सहयोग नपाइएको उनको भनाइ छ । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको घरबाट उद्धार गरिएको बालिकाको सम्बन्धमा पनि निकै मेहनतपछि प्रहरीले जाहेरी दर्ता गर्न मानेको जोशीले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँले अहिलेसम्म मुद्दाको अनुसन्धान प्रक्रिया अगाडि नबढाएको उनले बताए ।

काठमाडौँ महानगरपालिकाले प्रहरीलाई लिखित पत्र पठाउँदै सो घटनाका बारेमा अनुसन्धान के भइरहेको भनेर सोधेको जोशीले बताए । जवाफमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप