तीज पर्वबारे एक समीक्षा
परम्परादेखि मनाउँदै आएको नेपाली हिन्दु महिलाहरूको तिज पर्व यसपालि पनि हर्षोल्लासका साथ सम्पन्न भयो ।
बाबुको मुख हेर्ने कुसेऔँशीमा आफ्ना छोरीचेली र दिदीबहिनीलाई बाबुआमा दाइभाइबाट तिजको निमन्त्रणा दिएपछि तिजको औपचारिकता सुरु हुने परम्परा छ । त्यसपछि द्वितीयाको दिन दरखाने, तृतीयामा व्रत बसी तिज मनाउने, भोलिपल्ट गणेश चतुर्थी र चौथौ दिन ऋषिपञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजाआजा गरी चार दिनको तिजको कार्यक्रम समापन हुन्छ ।
तिज यस्तो पर्व हो, यस पर्वको अवसरमा बाबुआमा, दिदीबहिनी, दाजुभाइ, साथीसंगी र छरछिमेकसँग भेटघाट हुन्छ । खासगरी महिलाहरूले व्रत बस्ने, व्रत बाहेकका बेला मिठोमिठो खाने, राम्रो लगाउने, शृङ्गारसहित गरगहनामा सजिने र नाचगान गर्ने गर्छन् । रूढिवादी सोच र परम्पराबाट पीडित महिलाहरूको तिजको अवसरमा स्वतन्त्रताको प्रदर्शन समेत गर्छन् । भगवान् शिवप्रति अपार विश्वास र आस्था हुनेहरू व्रत बस्छन् । विवाहित महिलाहरूले श्रीमानको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्छन् भने अविवाहित महिलाहरूले भगवान शिवजी जस्तो योग्य वर पाउँ भनी प्रार्थना समेत गर्छन् । तिजका गीतको लय, बोल र भाकाले एकातिर मनोरञ्जन प्रदान गर्छ भने अर्कोतिर कतिपय गीतमा महिलाका पीरव्यथा पनि मिसिएका हुन्छन् । माइतीघरको सम्झनाको साथै साथीहरूसितको विछोडको पीडाको यादले सबैलाई भावुक बनाइदिन्छ ।
यस्तो सकारात्मकताले भरिएको तिज पर्व अहिले आएर सबै धर्म जातजाति, यौनिक तथा लैङ्गिक अल्पसंख्यकको साझा पर्व बनेको छ र समाजले पनि तिजका गतिविधिलाई सकारात्मक रूपमा स्विकारी आएको छ । तर केही वर्षयता तिज राष्ट्रिय पर्व बने पनि यसलाई मनाउने तरिकामा केही प्रश्न र विवाद उठ्ने गरेको छ ।
तिज पर्व मनाउने सम्पूर्ण महिलालाई एउटै डालीमा राख्दा अन्याय हुनेछ । नेपाली समाजमा मोटामोटी रूपमा तीन फरक समूहको तिज मनाउने तरिका यहाँ प्रस्तुत गरेको छु ।
तिजको बढ्दो तडकभडक देखेर कुनै व्यक्ति र समूहले आक्रोश पोख्दै गरेको देखिन्छ— सरकारी कार्यालयदेखि वडासम्म मनाउने तिज बन्द गरियोस्, पार्टी प्यालेसमा तिज मनाउन रोक लगाइयोस्, हप्तौँदेखि तिज मनाउने परम्परा बन्द गरियोस् भन्दै ।
परम्परावादी समूह : यो समूहले विधिशास्त्र र परम्परागत हिसाबले पर्व सुरु गर्ने र समापन गर्ने गरेका छन् । उनीहरूलाई कुनै परिवर्तनले फरक पारेको देखिँदैन । आधुनिक समूह : यो समूहले यस पर्वको सांस्कृतिक महत्त्वलाई मनन गर्दै अलिकति मनोरञ्जनलाई महत्त्व दिन्छन् ।
अत्याधुनिक समूह : यो समूहले तिज पर्वलाई नीतिगत रूपमा आत्मसात गर्दागर्दै पनि मौलिकताभन्दा भिन्दै तरिकाले तिज पर्व मनाउने गरेको देखिन्छ । यसै समूहबारे तिज उत्सवमा धैरै प्रश्न उठिराखेका छन् । तिजको मौलिकता हरायो, विकृति आयो, देखावटी बढी भयो, धन सम्पत्तिको प्रदर्शन ज्यादा भयो आदि आदि । तिज मनाउने कार्यक्रम नितान्त व्यक्तिगत स्वतन्त्रताभित्र पर्छ । उदाहरणका लागि दसैँ पर्व कसैले दुर्गा भवानीको व्रत बसेर, कोही मठ–मन्दिर दर्शन गरेर, कोही खानपिन जुवातासमा रमाएर र कोही देश–विदेश भ्रमणमा गएर मनाउने गर्छन्, त्यसमा कुनै चर्चा वा विरोध हुँदैन । तिजलाई पनि त्यसरी नै सोच्न सकिन्छ ।
अर्कोतर्फ तिजको बढ्दो तडकभडक देखेर कुनै व्यक्ति र समूहले आक्रोश पोख्दै गरेको देखिन्छ— सरकारी कार्यालयदेखि वडासम्म मनाउने तिज बन्द गरियोस्, पार्टी प्यालेसमा तिज मनाउन रोक लगाइयोस्, हप्तौँदेखि तिज मनाउने परम्परा बन्द गरियोस् भन्दै ।
त्यसैगरी अर्को समूह तिजप्रति व्यंग्यात्मक टीका–टिप्पणी गर्दै गरेका देखिन्छन् । जुन सामाजिक सञ्चालमा देख्न र सुन्न पाइन्छ । उदाहरणका लागि हेल्लो सरकारलाई एकजना पीडित श्रीमान्ले आफ्ना कुरा राखेका थिए, ‘सरकार धेरै दिन भयो मुखमा माड परेको छैन, बालबच्चाको बिचल्ली भइसक्यो, श्रीमतीको अत्तोपत्तो छैन, कहाँ नाच्दै छिन्, खाँदै छिन्, खोजतलास गरिदिनुपर्यो ।’
बदलिँदो परिस्थितिमा धर्मशास्त्रले तोकेको चार दिन तिज पर्व मनाउन हाम्रा दिदीबहिनीलाई अपुग भएकाले केही निश्चित दिन थप्नुपर्ने देखियो । उक्त थपिएको अवधिमा महिला हक–अधिकार, महिलाको योगदान, महिला हिंसा, स्वास्थ्यसम्बन्धी जनचेतना आदिमा गोष्ठी, बहस, छलफल र सभाको आयोजना गर्न सकिन्छ ।
अर्का व्यक्ति भन्दै थिए, ‘श्रीमतीहरू माइत गएको हुनाले आज अधिराज्यभर पुरुष स्वतन्त्रता मनाउँदै ।
माइती घर–आँगनमा मनाउने तिज पार्टी प्यालेस र रेस्टुरेन्टमा परिणत भयो, बाबुआमा दाइभाइबिच आँगनमा नाच्नुपर्ने छोरीहरू पार्टी प्यालेसमा नाच्न थाले भन्ने टिप्पणी पनि सुन्नमा आएका छन् ।
अर्कोतिर नारीहरूका पनि यस्ता प्रतिक्रिया पढ्न पाइन्छन्, भगवान्ले हामीलाई सुन्दर बनाइदियो त किन रिस गर्छौ ? वर्षभरि रेस्टुरेन्टमा धोकेर नथाक्नेहरू हामीले दुई–चार दिन पार्टी प्यालेसमा नाच्दा तिमीहरूको टाउको दुखाइ किन ? हामीले मात्रै खाना बनाउनुपर्ने, भाँडा माझ्नुपर्ने, बच्चा हेर्नुपर्ने, सासुससुराको स्याहार गर्नुपर्ने ? तिमी लठैतहरूले पनि त गरे हुन्छ कहिलेकाहीँ !’
गणतन्त्र आएपछि महिलाहरूको हकअधिकार सुरक्षित गरिनुका साथै त्यसको कार्यान्वयन पनि अगाडि बढिराखेको छ । समाजको महिलाप्रति सोचमा केही परिवर्तन भएको छ । महिलाहरूमा जनचेतना बढेको छ । महिलाहरूको पक्षमा सामाजिक सञ्जाल सशक्त भएको छ । महिला हिंसा र यौन हिंसामा पीडित महिला खुलेर बोल्न थालेका छन् । त्यसैले तिज पर्व पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणको रूपमा अघि बढिरहेको देखिन्छ, जुन खुसीको कुरा हो ।
हुन त लोकतान्त्रिक युगमा हरेक क्षेत्रमा आएको परिवर्तनले तिज मनाउने चालचलन र क्रियाकलापमा परिवर्तन हुनु स्वाभाविक हो, तर तिज पर्वलाई मर्यादित र व्यवस्थित गर्न त्यतिकै जरुरी देखिन्छ ।
देशको बिग्रँदो परिस्थितिले गर्दा धनी–गरिबबिच ठुलो खाड्ल बन्दै गइरहेको छ । विदेशमा रोजगारीका लागि गएका दिदीबहिनीको अवस्था सन्तोषजनक छैन । देशभित्र रोजगारी पाउन समस्या छ, जसले गर्दा समाजमा आक्रोश र विद्रोह बढ्दै गइरहेको छ । यस्तो अवस्थामा हाम्रा शिक्षित पढे–लेखेका बुद्धिजीवी महिलाहरू, विभिन्न उच्च ओहोदामा पुगेका र विभिन्न पेसामा आबद्ध सेलिब्रेटी महिलाले सामाजिक सञ्जालमा हप्तौँ अघिदेखि नै तिजको तडकभडक मोजमस्ती र सम्पन्नताको प्रदर्शनका पोस्टहरूले समाजमा उठेको आक्रोश र विद्रोहलाई मलजल थप्ने कार्य भइरहेको त छैन ? सोच्नुपर्ने बेला भएको छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगले तपाईंहरूको जीवनशैली व्यक्तिगत हुँदैन, तपाईंहरूका हरेक क्रियाकलाप समाजले नियालेर हेरिराखेका हुुन्छन् । अन्य महिलाहरूले तपाईंहरूको जीवनशैलीको अनुशरण गर्छन्, गर्न चाहन्छन् र यदि सकेनन् भने विद्रोह गर्छन् । त्यसैले यो समाजलाई अगाडि बढाउने जिम्मा तपाईंहरू जस्ता बुद्धिजीवी र सेलिब्रेटी महिलाहरूका काँधमा छ । परिवर्तन आफैँबाट सुरु गरौँ, समाज आफैँ परिवर्तन हुन्छ ।
हुन त लोकतान्त्रिक युगमा हरेक क्षेत्रमा आएको परिवर्तनले तिज मनाउने चालचलन र क्रियाकलापमा परिवर्तन हुनु स्वाभाविक हो, तर तिज पर्वलाई मर्यादित र व्यवस्थित गर्न त्यतिकै जरुरी देखिन्छ । यसका लागि एउटा मात्र सुझाव पेस गरेको छु । नेपालमा मनाउने चाडपर्वको निश्चित सुरुवात र समापन हुन्छ । जस्तै : दसैँ, तिहार, छठपर्व, होली, स्वस्थानी व्रतकथा र रमादान आदि । तिजको पनि सुरुवात द्वितीयाबाट भएर समापन चौथो दिन ऋषिपञ्चमीमा हुन्छ । तर केही वर्षयता तिज पर्व हप्तौँ पहिलेदेखि मनाउने र यसको सुरुवात कहिले भनेर निश्चित समय नभएको हुँदा र कसैले कुनै पनि समयमा सामाजिक सञ्जालमा तिज मनाएको तस्बिर पोस्ट गरेपछि तिज पर्व सुरुवात भएको आभास हुने देखिएको छ ।
बदलिँदो परिस्थितिमा धर्मशास्त्रले तोकेको चार दिन तिज पर्व मनाउन हाम्रा दिदीबहिनीलाई अपुगजस्तो देखिएको छ । त्यसैले कति दिन पहिलेबाट सुरु गर्ने हो, एक हप्ता वा दुई हप्ता कहिले ? निश्चित समय तोकेर सुरु गर्नु आजको आवश्यकता देखियो । उक्त थपिएको अवधिमा महिला हक–अधिकार, महिलाको योगदान, महिला हिंसा, स्वास्थ्यसम्बन्धी जनचेतना आदिमा गोष्ठी, बहस, छलफल र सभाको आयोजना गर्न सकिन्छ । त्यसपछि तिजको नाचगान, खानपिनमा रमाइलो गर्न सकिन्छ । देशभरि तिज पर्वलाई फलदायी बनाउन महिला आयोगले योगदान दिन सक्छ । तिज सुरुवातको आधिकारिक मिति तोक्न सक्छ र वर्षभरिका लागि महिला हितसम्बन्धी नारा दिन सक्छ । यी माथिका सुझावहरू कार्यान्वयनले तिजमाथि उठेको प्रश्न र विवादको केही मात्रामा समाधान हुन सक्छ ।