शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको छ: प्रचण्ड

मङ्गलबार, २५ भदौ २०८१, ०९ : २९
मङ्गलबार, २५ भदौ २०८१

सिराहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । 

नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिराहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए । 

२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिराहाको जनप्रतिनिधिको रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिराहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए । 

संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गरे । 

उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए । 

उनले भने, ‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ । सङ्घीयता सहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ ।’

पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उनको भनाइ छ । 

‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ, मैले सरकारको नेतृत्व गरेको बेलामायी एजेन्डामा पनि अझ बढी मधेसका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ । वर्षौँ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ । हजारौँ नागरिकता विहीनहरुले नागरिक पाउने अवस्था बनेको छ । यसलाई तपाईँहरूले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिनुभएको छ भन्ने मैले बुझेको छु,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप