बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चाडपर्व

असोज ७ देखि सहुलियत पसल सञ्चालन, छुट र मूल्य तय हुन बाँकी

मङ्गलबार, २५ भदौ २०८१, ०७ : ३२
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको जानकारी दिए ।

‘सहुलियत पसल सञ्चालन गर्ने विषयमा मातहतका निकायसँग छलफल भइरहेको छ । असोज ७  गतेभन्दा पछाडि जाँदैन,’ सचिव बुर्लाकोटीले भने, कुन वस्तुमा के–कति छुट गर्ने विषयमा पनि छलफल गरिरहेका छौँ ।’

सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुन्छ । 

चाडपर्वलक्षित पसलहरू सञ्चालनका लागि खाद्य तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध संस्थान (डीडीसी) सँग छलफल भइरहेको वाणिज्य सचिव बुर्लाकोटीको बताए । उनका अनुसार यस वर्ष सहुलियत पसलको संख्या गत वर्षको तुलनामा बढी हुनेछन् । 

‘अहिले गत वर्षको भन्दा संख्या बढ्छ । स्थानीय सरकारसँगको समन्वयमा काठमाडौँ उपत्यकाभित्र पसलहरूको संख्या थप्ने तयारी पनि छ,’ सचिव बुर्लाकोटीले भने, ‘स्थान पाएसम्म यो वर्ष सहुलियत पसल थप गर्नेछौँ ।’

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले गत वर्षकै हाराहारीमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी भइरहेको बताइन् । 

खाद्य व्यापार कम्पनीले चामल, दाल, गहुँ, आटा, पीठो, चिनी लगायतका खाद्यान्न बिक्री गर्ने भएको छ । यी खाद्यान्नमा के कति सहुलियत दिने विषयमा छलफलको क्रममा रहेको सूचना अधिकारी सुवेदीले बताइन् । 

सुवेदीका अनुसार ४२ जिल्लाका ४८ भन्दा बढी स्थानमा सुपथ पसल सञ्चालन गरिने भएको छ । यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मूल्य पसल सञ्चालनका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको  छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सहुलियत पसल सञ्चालनका लागि विनियोजित बजेट बढी हो । 

अघिल्लो वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि २ करोड ७२ लाख २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्येबाट  मन्त्रालयले २ करोड ३२ लाख २० हजार रुपैयाँ उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री गर्नका लागि कम्पनीलाई अनुदान दिइएको थियो । 

खाद्य व्यापार कम्पनीले चामल, दाल, गहुँ, आटा, पीठो, चिनी लगायतका खाद्यान्न बिक्री गर्ने भएको छ । यी खाद्यान्नमा के कति सहुलियत दिने विषयमा छलफलको क्रममा रहेको सूचना अधिकारी सुवेदीले बताइन् । 

४२ जिल्लाका ४८ स्थानमा पसल 

गत वर्ष पनि ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । यस्तै काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री भएको थियो । राजधानी बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुङ्गा, सिराहा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल सञ्चालन हुनेछ । गत वर्ष पनि यी जिल्लाका विभिन्न स्थालमा सहुलियत पसले चलेका थिए । 

यस्ता पसलहरूबाट सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो,  र सबै प्रकारका तेलमा प्रतिकिलो-प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो । गत वर्ष खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरेको थियो । 

यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौँ उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गरेको थियो । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरेको थियो । 

sahuliyat_pasal_13_4LPm28I5NN

यस्तै नुनमा प्रतिकिलो २ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको थियो । दुग्ध विकास संस्थानले घियूमा प्रतिकिलो २० र प्रति २०० ग्राम पनिरमा २० रुपैयाँ छुट दिइएको थियो ।

घटस्थापनाको अघिल्लो दिनबाट खसी, च्याङ्ग्रा बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंका लागि १ हजार ५०० खसीबोका र  ३०० च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । घटस्थापनाको अघिल्लो दिनसम्म  खसीबोका तथा च्याङ्ग्रा ल्याइसक्ने र बिक्री थाल्ने गरी तयारी थालेको कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । 

अहिले कति मूल्यमा बिक्री गर्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने सुवेदीले बताइन् ।

कम्पनीले खसीबोका र चयाङ्ग्रा खरीदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो वर्ष गत वर्षको तुलनामा खसीबोका तथा च्याङ्ग्रा खरीदका लागि बजेट घटाइएको छ । अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्रा बिक्री नहुँदा ठूलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्राको परिमाण घटाइएको सुवेदीको भनाइ छ । 

कम्पनीले गत वर्ष २ हजार खसीबोका ल्याएको थियो भने ५४२ च्याङग्रा ल्याएको थियो । जसका लागि ८ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको थियो । 

गत वर्ष ल्याइएका कुल च्याङ्ग्रामध्ये ४९५ वटा बिक्री भएका थिए । ४७ च्याङ्ग्रा बाँकी थिए । तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दसैँपछि बिक्री गरिएको थियो । 

गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो ।  उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । गएको दसैँमा खसी प्रतिकिलो ६७० तोकिएकोमा २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङग्रा प्रतिकिलो १२५०  बाट प्रति किलो १२२५ रुपैयाँ कायम गरेको थियो । गत वर्ष च्याङ्ग्रा मुस्ताङबाट र खासी बोका, हेटौँडा र दाङबाट ल्याइएको थियो । यो वर्ष पनि सोही ठाउँबाट ल्याउने भएको छ । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप