शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

नेपथ्य अमेरिका शृङ्खला २०२४ सम्पन्न, ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ

मङ्गलबार, २५ भदौ २०८१, ०७ : १८
मङ्गलबार, २५ भदौ २०८१

ह्यारिसबर्ग । कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ । जोगले जुराएछ भने फेरि पनि भेटौँला । मिलेर बस्नुस् है ।’

अमृतको यो ह्यारिसबर्ग सहरसँग मात्र बिदाइ थिएन, यसपाला झन्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार पनि थियो ।

प्रतिउत्तरमा पेन्सिलभानियाको राजधानी ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा भरिएका दर्शकले लामो ताली बजाए ।

ह्यारिसबर्गमा आयोजना भएका नेपाली कार्यक्रममा आजसम्मै आफूले यति ठुलो जमघट कहिल्यै नदेखेको बताउने स्थानीय आयोजक नीरज आलेमगर नेपथ्यको यो कन्सर्ट हरेक दृष्टिले यस भेगका नेपालीको लागि ऐतिहासिक बन्न पुगेको दाबी गर्छन् ।

‘केटाकेटीदेखि लिएर हजुरबा उमेरसम्मका मानिस आफ्नै धुनमा रमाएका देखिन्थे,’ नीरजले थपे, ‘यति धेरै सङ्ख्यामा दर्शक आकर्षित गर्न सफल नेपथ्यको कन्सर्टभरि सिंगो हल उचालिएको दृश्य अद्भुत र अविस्मरणीय रह्यो ।’

थोरै मानिसको बसोबास भएका नेपालीमाझ ध्यानमा नपर्ने यो सहरमा पनि नेपथ्यको कन्सर्ट भव्य हुनुले यो राज्यमा नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको इङ्गित गरेको थियो ।

पहिलो पटक यो सहरमा उपस्थित भएको नेपथ्यले झन्डै सय वर्षको इतिहास बोकेको ‘दी फोरम हल’मा आफूलाई उभ्याएको थियो । यो हल नियमित रूपमा प्रस्तुत भइरहने ‘ह्यारिसबर्ग सिम्फोनी अर्केस्ट्रा’को आयोजनास्थलका रूपमा पनि चिनिन्छ ।

09 Nepathya frontman Amrit Gurung in action during their performance in Harrisburg, Pennsylvania. Photo-Dipit Raz-Nepalaya

पुनर्बास गराइएका भुटानी शरणार्थी उल्लेख्य सङ्ख्यामा रहेको यो राज्यमा नेपाली भाषी समुदायको एकताबद्ध जीवन्त उपस्थिति देख्नपाउँदा खुसी लागेको अमृतले उल्लेख गरे ।

शनिबारको कन्सर्टमा यस सहरभन्दा परैदेखि आएका दर्शक पनि उत्तिकै भेटिन्थे । कार्यक्रमभरि पटक पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्‍याए ।

पैदलै गाउँबस्ती पुगेर गीत सङ्कलन गर्दाको अनुभव पनि उनले सुनाए । पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो ।

02 Nepathya performs to a packed house in Harrisburg, Pennsylvania.

‘गत १० वर्षमा हामीले कैयौँ नेपाली कार्यक्रम आयोजना र संयोजन गर्‍यौँ तर नेपथ्यको यो टुर, निःसन्देह हालसम्मकै अब्बल अनुभव रह्यो,’ नेपथ्यको अमेरिका यात्राको केन्द्रीय संयोजन गर्ने मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘सबै सहरमा कायम रहेको उत्कृष्ट प्रस्तुति र हलको क्षमता अनुसारको दर्शकको उल्लेख्य उपस्थितिले हामी यहाँका आयोजकको साख र मनोबल बढाएको छ । साथै नेपाली कार्यक्रमको आयोजनाको मापदण्डलाई नै नयाँ उचाइमा पुर्‍याएको छ ।’   

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

01 Nepathya band members bid farewell to the audience after their final concert of the US Tour in Harrisburg, Pennsylvania. Photo-Dipit Raz-nepalaya

यस वर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप