आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्समा सुधारका लागि नीतिगत हस्तक्षेप गर्छु : मन्त्री पाण्डे

सोमबार, २४ भदौ २०८१, २२ : १६
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाहरूबीचको परिचयात्मक कार्यक्रममा उनले निगमको नीतिगत सुधारका लागि अब हस्तक्षपकारी योजना अगाडि बढाउने बताए ।

“नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ । म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन, अब नीतिगत हस्तक्षेपको बाटोमा अगाडि बढ्छु । यथास्थितिलाई भत्काएर सुधारको दिशामा लैजान्छौँ, सुधारिएको नेपाल एयरलाइन्स बनाउन चाहन्छौँ”, उनले भने ।

पर्यटनमन्त्री पाण्डेले निगम सुदृढ भएमा हवाई उडानमा निजी क्षेत्रको मनोमानी घट्ने विश्वास व्यक्त गरे । निगमले न्यूनतम शुल्कमा सेवा दिने वातावरण बन्नेबित्तिकै हवाई यात्रा सुलभ र सहज हुने उनको भनाइ थियो । मन्त्री पाण्डेले ठूलो खर्च गरेर बनाइएका विमानस्थल सञ्चालन गरेर जनतालाई सर्वसुलभ सेवा दिइनुपर्नेमा जोड दिए ।  

“आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाइ विमान सेवा बढाएर दुर्गममा बढीभन्दा बढी सेवा दिन जरूरी छ । बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालन गर्नेतर्फ पनि ध्यानदिनुपर्ने आवश्यकता छ”, उनले भने ।

कार्यक्रममा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले ठूलो लगानीमा बनेका  पर्यटकीय पूर्वाधारको उपयोगका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सहकार्यलाई फराकिलो बनाएर लैजानुपर्ने धारणा राखे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव शोनाम ग्यालजेन शेर्पा र प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्र भट्ट, वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीलगायतले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री नीति बनाउन आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले बोर्डलाई नयाँ ढङ्गले अगाडि बढाएर प्रवर्द्धनात्मक कामलाई तीब्रता दिइने बताए । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बोर्डले सक्षम र जुझारु नेतृत्व पाएकाले आगामी कार्यक्रम परिणाममुखी बन्ने विश्वास व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप