बालुवाटार बैठक : सत्तारुढ दलले नै सरकारको प्रतिरक्षा नगरेको प्रधानमन्त्री ओलीको गुनासो
काठमाडौँ । सरकारको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलबारे छलफल गर्न बोलाइएको सत्तारुढ दलको बैठक उक्त विषयमा प्रवेश नै नगरी सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ झण्डै तीन घण्टा बसेको बैठकमा सरकार र संसद् प्रभावकारी बनाउने तथा संविधान संशोधनको गृहकार्यमा लाग्ने विषयमा केन्द्रित बन्दा कार्यदलको विषय बैठकमा प्रवेश नै हुन नसकेको नेताहरूले बताएका छन् ।
बैठकमा संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भ्रम छरेको भन्दै उक्त भ्रम चिर्न सत्तारुढ दल एक ढिक्का भएर अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएका छन् ।
‘संविधान संशोधन गर्ने कुरामा केही भ्रमहरू छरिएका छन् । दुई दलीय व्यवस्थामा सरकार लाग्यो भन्ने जस्ता भाष्य निर्माण गर्न खोजिएको छ, यस्ता भ्रम चिर्नेगरी अगाडि बढ्नेबारे छलफल भएको छ’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘संविधान संशोधनबारे गलत हल्ला चलाउने भएपछि हामीले छलफल थालेका हौँ ।’
बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम नलिएपनि प्रमुख प्रतिपक्ष दलका नेताहरूको अभिव्यक्तिका कारणले गलत प्रचार भइरहेको बताए ।
‘नेपाललाई बंगलादेश बनाइदिन्छु भन्ने जस्तो कुरा आउने, संविधान संशोधनबारे गलत हल्ला चलाउने भएपछि हामीले छलफल थालेका हौ’,बर्तौलाको भनाइ छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्तारुढ दल एकढिक्का भएपछि न्यूनतम साझा कार्यक्रमको गृहकार्य अघि बढ्ने बताए । उनले सरकारको पक्षमा दलहरू एकढिक्का भएर उभिने निष्कर्षमा पुगेको समेत बताए ।
‘एमाले र हाम्रो बीचमा सात बुँदे भएको थियो । त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौँ । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, घिमिरेको भनाइ छ । उनले केही दिनमा न्यूनतम साझा कार्यक्रम तयार हुने दाबी समेत गरे ।
आइतबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताको छलफलमा न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन गरिएको बताएपनि त्यसको औपचारिक घोषणा भइसकेको छैन । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन गर्न नेताहरू लगभग सहमत भइसकेका छन् ।
कांग्रेस प्रमुख सचेतक घिमिरेले पनि संविधान संशोधनबारे सकेसम्म धेरैलाई सहभागी गराउनेगरी छलफल भएको र सर्वस्वीकार्य हुनेगरी संविधान संशोधन गर्न सत्तारुढ दल एकमत भएका बताए । ‘संविधान संशोधन सात बुँदे जस्तो सजिलो विषय होइन । त्यसैले बढी भन्दा बढी सहमति जुटाएर संशोधन गर्न धेरै छलफलको पनि जरुरी पर्छ’, घिमिरेले बैठकपछि भने ।
उनले सात बुँदे सहमतिमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै त्यसबाहिर गएर कुनैपनि काम नगर्ने बताए ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेता सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलले नै सरकारको प्रतिरक्षा नगरेको भन्दै गुनासो गरेका थिए ।
‘सरकारबारे बाहिर प्रतिपक्षले भ्रम छरेको छ । तर सरकारमै रहेका दलका साथिहरुले त्यो भ्रम चिर्न चासो देखाउनुभएको छैन’, ओलीको भनाई उधृत गर्दै एक नेताले भने, ‘सरकारको प्रतिरक्षा सबै सत्तारुढ दलहरूले गर्नुपर्यो ।’
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व आफूले गरेपनि यो सरकार अघि बढाउन र सफल बनाउने जिम्मेवारी सबै दलको भएको भन्दै एक ढिक्का हुन जरुरी रहेको बताएका थिए ।
बैठकमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले धारणा राखेका थिए ।
‘यो गठबन्धनलाई एकढिक्का बनाएर लैजानुपर्छ, हामीबिचमा यस्ता संवाद गर्दै र एक–अर्काबिचमा समझदारी कायम गरेर जानुपर्छ’, खड्काले बैठकमा भनेका थिए । त्यस्तै जसपाका नेता अशोक राई, लोसपा नेता महन्थ ठाकुर लगायतले खड्काको भनाइमा सहमति जनाएका थिए ।
प्रमुख सचेतकका हैसियतले कांग्रेसका घिमिरे र एमालेका बर्तौलाले संसदका गतिविधि र विधेयकका विषयमा धारणा राखेका थिए ।