बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
परामर्श बैठक

माओवादी नेतृत्वमाथि किराती र मोदीको प्रश्न– हामीलाई किन मन्त्रीबाट हटाइयो ?

सोमबार, २४ भदौ २०८१, २१ : ००
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय संयुक्त परामर्श बैठकमा पूर्वमन्त्रीद्वय सुदन किराती र अमनलाल मोदीले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । उदयपुरको बेलका नगरपालिकामा आइतबार र सोमबारसम्म चलेको बैठकमा किराती र मोदीले नेतृत्वमाथि अनेक प्रश्नसमेत उठाएका थिए ।

आइतबार सुरु भएको बैठकमा किरातीले ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’सम्बन्धी लिखित सुझाव पेस गरेका थिए । पार्टीमा युवाहरूको निम्ति स्थान र आकर्षण नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको तेस्रो कार्यकालमा मन्त्री पदबाट आफूहरूलाई बिचमै हटाइएकोमा किराती र मोदीले आक्रोश पोखेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘हाम्रो पार्टीमा युवाहरूको निम्ति स्थान र आकर्षण छैन । मन्त्रिपरिषदमा सबैभन्दा कलिलो मलाई र अमललाल मोदीजीलाई निकालियो । उमेरले सबैभन्दा सानो मोदीलाई ६ महिनामा निकालियो । त्यसपछि मलाई १३ महिनामा निकालियो । के कारणले निकालियो भन्ने कुरा नेतृत्वले अहिलेसम्म जवाफ दिएको छैन । यसको विधि, विधान, मापदण्ड के हो ? जवाफ चाहियो’, किरातीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

पटकपटक मन्त्री हुनेहरूले के परिणाम दिए भन्ने प्रश्नसमेत किरातीले सोधेको ती नेताले जानकारी दिए । ‘कुन परिणामका आधारमा उनीहरूलाई राखियो ? यसको जवाफ दिनुपर्दैन ? म तीन पटक जितेर आएको हुँ । मोदीजी तीन पटक जितेर आउनुभएको हो । माओवादीमा सहरिया जनमत सङ्कटमा परेको बेला जितेर आएको थारुको छोरालाई ६ महिनामै विनाकारण निकालिदिने ? सुदन किरातीलाई १३ महिनामा निकाल्ने ? अरूले के राम्रो काम गरेर राखियो ? हामीले के नराम्रो काम गरेर निकालियो ?’ किरातीको प्रश्न थियो ।

साथै पार्टीको अवस्थाबारे किरातीले ४ वटा सुझाव दिँदै उपमहासचिव जनार्दन शर्माको फरक प्रस्तावको समर्थन गरेका थिए । पार्टी निर्माण र नेतृत्वको विकल्पमा शर्माले पेस गरेको प्रस्ताव सान्दर्भिक भएको भन्दै उनले समर्थन गरेको ती सदस्यले रातोपाटीलाई बताए ।

mao

पार्टी र नेतृत्वबारे किरातीले बैठकमा राखेको बुँदागत विचार

१. समाज आज निराश छ तर त्यो निराशाको अग्रपंक्ति र पृष्ठभूमिमा माओवादी छ । सबैतिर निराशा छर्ने काम नेतृत्वबाट भएको छ । 

२. सरकार छोडेपछि सानो आशा पलाएको छ । तर यो आशा चुनौतीपूर्ण, दुर्लभ आशा हो । छलफल, बहस सही समयमा भएको छ । यसको सही निकास निकाल्नुपर्छ । नत्र परिणाम आउँदैन ।

अध्यक्ष प्रचण्डकै अनुसार पनि यथास्थितिमा पार्टी चल्दैन । एकताबद्ध रुपान्तरणको विकल्प छैन । प्रभाकर (जनार्दन शर्मा)ले उठाएको कुराले वर्तमान चित्र र चरित्रको उजागर भएको छ । यसलाई अलि विकास गर्नुपर्छ, यतिले मात्र पुग्दैन ।

३. कम्युनिस्ट सिद्धान्तमा एकता, संघर्ष र रुपान्तरण भन्छ । तर बहस सुरु भएपछि भाग्ने र ठेल्ने प्रवृत्ति दुवै खतरनाक छ । यी दुवै प्रवृत्तिलाई परास्त गर्न डटेर लड्नुपर्छ ।

४. नेपाली राजनीतिमा उत्तराधिकारीको सवालमा विज्ञान समातिएन, संस्कृति समातियो । हामी बाउ बन्ने संस्कृतिबाट आयौँ । बाउले कहिल्यै छोराछोरी ठुला नदेख्ने । बाउ भएपछि छोराछोरीले केही गर्नु नपर्ने । त्यसकारण हामी वैज्ञानिक पार्टी भन्छौँ तर पुराना संस्कृति हामीमा हाबी छ ।

चार सुझाव 

१. प्रचण्डको नेतृत्वमा छिटो र योग्य उत्तराधिकारी जन्म गराउनुपर्छ । अहिले एकले अर्कालाई मान्दै मान्दैनन् ।

२.जनयुद्धको वरिपरि सबैलाई गोलबन्द गराउँदै लैजाने ।

३. अब हुने एकतामा माओवादी विरासतले एकता गर्नुपर्छ । समाजवादी मोर्चाको एकता भयो भने अन्यले मान्दैनन् ।

४. शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने । र, सम्भावित प्रतिगमनको प्रतिरोध गर्दै संविधानलाई कार्यान्वयन गर्नुपर्ने ।

किरातीले पार्टी रुपान्तरण व्यवहारद्वारा हुनुपर्ने बताएका थिए । वैचारिक स्पष्टता आठौँ महाधिवेशनले तयार गरे पनि त्यसको कार्यक्रम र कार्ययोजना लागु गर्न नसकेकाले व्यवहार ज्यादै बिग्रिएर फोहोरी भएको उनको भनाइ थियो । यसबाट मुक्त भएरमात्रै पार्टी नेतृत्व गर्न सक्ने, अन्यथा त्यो मौका पनि गुम्नेतर्फ उनले नेतृत्वलाई सजग गराएका थिए । उनले पार्टी एकताबद्ध रुपान्तरणको विकल्प नभएको बताएका थिए ।

बैठकमा मोदीले जितेर आउने सांसदलाई विनाकारण हटाउँदा जनमतको अपहेलना भयो कि भएन भनेर नेतृत्वमाथि प्रश्न उठाएका थिए । उनले ‘कमजोरलाई नै निकालिँदो रहेछ, बलियो त जतिपटक पनि मन्त्री बन्दा रहेछन्’ भन्दै आक्रोश पोखेका थिए । 

प्रचण्ड नेतृत्व पछिल्लो सरकारमा किराती पर्यटनमन्त्री र मोदी सामान्य प्रशासनमन्त्री थिए । मोदीलाई गत वर्ष निष्काशन गरेर जनमत पार्टीलाई उक्त मन्त्रालय दिइएको थियो । किराती गत फागुन २१ गते एमालेसँग गठबन्धन हुँदा पदमुक्त भएका थिए । यी दुवै जना पहिलोपटक मन्त्री भएका थिए ।

प्रचण्ड सरकारबाट यी दुई जना पदमुक्त हुँदा पटकपटक उपप्रधानमन्त्री र मन्त्री भएका नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, रेखा शर्माले निरन्तरता पाएका थिए । वर्षमान पुन फागुन २१ पछि अर्थमन्त्रीमा दोहोरिएका थिए । किरातीको ठाउँमा हितबहादुर तामाङलाई मन्त्री बनाइएको थियो । तामाङलाई पनि हटाएर प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा ल्याउने तयारी हुँदै गर्दा सरकार ढलेको थियो । आफूहरूले बलिदान दिँदा पनि सरकार नजोगिएकोप्रति किराती र मोदीले नेतृत्वमाथि व्यङ्ग्य गरेको बैठकमा सहभागी अर्का एक नेताले बताए ।

बैठकमा केन्द्रीय सदस्य चम्पा कार्कीले पार्टी रुपान्तरणका लागि नेतृत्वले आफ्नै टाउकोमा आगो झोस्न तयार हुने कि नहुने भनेर प्रश्न गरेकी थिइन् । पदाधिकारीका जम्बो टोली पार्टी रुपान्तरणका लागि नेताहरूको सुझाव लिन आएको हो कि आफ्नो पक्षमा समर्थक कति छन् भनेर सर्वेक्षण गर्न आएको भनेर उनले प्रश्न उठाएको स्रोत बताउँछ ।

अर्की केन्द्रीय सदस्य धर्मशिला चापागाईँले नेतृत्व दलाल नोकरशाहीको नजिक हुँदा पार्टी बिग्रिएको धारणा राखेकी थिइन् । तर पछिल्लो समय दलाल नोकरशाहीविरुद्ध लड्दा जनमत आकर्षित भएको उनको भनाइ थियो । उनले पार्टी रुपान्तरणका लागि तीनतीन महिनामा केन्द्रीय समितिमा रिपोर्टिङ गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् ।

७० जनाले धारणा राखेकोमा करिब आधाले लिखित सुझाव दिएको नेताहरूले बताएका छन् । बैठकमा उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणका आएका सुझावलाई केन्द्रीय समिति बैठकमा पेस हुने दस्तावेजमा समावेश गराउने प्रतिबद्धता जनाएको अर्का एक केन्द्रीय सदस्यले बताए ।

नेतृत्वबाटै पार्टी बिग्रिएकाले रूपान्तरणका लागि आफू टाउकोमा आगो झोस्न तयार भएको र अरुलाई पनि तयार हुन प्रचण्डले निर्देशन दिएको सहभागी स्रोतले बतायो ।

‘अध्यक्षले सबैको सुझाव समेटिने हिसाबले दस्तावेज लेख्छु भन्नुभएको छ । नेतृत्वबाटै पार्टी बिग्रिएको छ । नेताहरू जनता र कार्यकर्ताबाट टाढिँदा पार्टी बिग्रियो । पार्टी रूपान्तरणका लागि मबाट सुरु गर्छु । रूपान्तरणका लागि टाउकोमा आगो लगाउन म तयार छु । तपाईं पनि तयार हुनोस् भनेर बैठकमा भन्नुभएको छ,’ ती सदस्यले भने ।

mao koshi

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव तथा इन्चार्ज हरिबोल गजुरेलले तत्काल प्रचण्डको विकल्प नभएको बताएका थिए । पार्टी रूपान्तरणका लागि नेतृत्व सच्चिएर जानुको विकल्प नभएको उनीहरूको धारणा थियो । अर्का उपमहासचिव जनार्दन शर्माले आफूले नेतृत्वको विकल्पमा फरक प्रस्ताव नल्याएको दाबी गर्दै प्रचण्डलाई नै सहयोग पुग्ने गरी पार्टी निर्माणको प्रस्ताव ल्याएको प्रस्ट पारेका थिए । तर उनले यथास्थितिमा अब पार्टी चल्न नसक्ने बताएका थिए ।

साउनको अन्तिम साता सकिएको माओवादीको स्थायी समिति बैठकले विचारको बहस र पार्टी निर्माण सम्बन्धमा केन्द्रीय समिति बैठक बस्नुअघि सबै प्रदेशका सुझाव लिने निर्णय बमोजिम कोशी प्रदेशस्तरीय संयुक्त परामर्श बैठक सकिएको हो । प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका थिए ।

माओवादीले अहिलेसम्म कोशी प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेस प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको बैठक बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप