हेलिकप्टर दुर्घटनामा एल सल्भाडोरका प्रहरी प्रमुखको निधन
सान साल्भाडोरमा । एल साल्भाडोरको प्रहरी बलका प्रमुखको सैन्य हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान होन्डुरसको सीमाबाट करिब १० किमी पर पासाक्विना नजिक सेनाको यूएच–१ एच हेलिकप्टर दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा परेर प्रहरी प्रमुख मौरिसियो आरि र्याजाको निधन भएको हो । दुर्घटनाको समयमा सो हेलिकप्टरमा आरिजयासमेत ९ जना सवार थिए । लाखौं डलरको ठगी मामिलाका एक संदिग्धलाई राजधानी सान साल्भाडोर लैजाँदै गर्दा विमान दुर्घटना भएको हो ।
उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको थियो । एउटा क्रेडिट युनियनको ३ करोड ५० लाख डलर अपचलन गरेको आरोप लागेको ३२ जनामध्ये पूर्व बैंक निर्देशक म्यानुअल कोटो पनि एक संदिग्ध थिए ।
यो घटनालाई दुर्घटना मात्रै ठान्न नहुने साल्भाडोरको राष्ट्रपति नैयब बुकेलेले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भनेका छन् । उनले यो घटनाको छानबिन गर्न आदेश दिएका छन् ।
बुकेलेले सन् २०१९ मा आरिर्याजालाई प्रहरी प्रमुख बनाएका थिए । एल साल्भाडोरको कुख्यात समूहको धर पकड र कारबाही गर्ने बेकेलेको अभियानमा उनी मुख्य व्यक्ति थिए ।
विमान दुर्घटनाको कारण खोज्न आफूले अन्तर्राष्ट्रिय मद्दत पनि खोजिने बुकेलेले भनेका छन् । दुर्घटनाको समयमा विमानमा आरिर्याजा, कोटो र टिभी च्यानलका केही सदस्यहरू थिए ।
दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको साल्भाडोरको सेनाले भनेको छ । आरिर्याजा कोटोलाई पक्राउ गर्न होन्डुरसको सीमामा गएका थिए ।
कोटो होन्डुरसबाट अमेरिका भाग्न लागेको खबर पाएपछि उनी त्यता गएका थिए । जुलाईमा साल्भाडोरका अधिकारीहरूले कोटो पानामामा पक्राउ परेको बताएका थिए । उनी होन्डुरस कसरी पुगे थाहा हुन सकेन ।