शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेस र एमालेका विद्यार्थी संगठनको लडाइँले कृषि विश्वविद्यालय बन्धक

सोमबार, २४ भदौ २०८१, १७ : ४९
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनबीचको लडाइँका कारण चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्धक बनेको छ ।

नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटपिट भएपछि भदौ १५ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी भएको छ । शैक्षिक संस्थाहरूमा कहिल्यै तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएको नेविसंघले विश्वविद्यालयमा आफ्ना कार्यकर्तामाथि अनेरास्ववियुका कार्यकर्ताले कुटपिट गरेको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।

तालाबन्दी गरेको लामो समय भइसक्दा समेत खुल्न सकेको छैन । नेविसंघका कार्यकर्ताहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् ।

तालाबन्दीका कारण नियमित पठनपाठन ठप्प हुनुका साथै स्नातक तहको प्रवेश परीक्षा समेत हुन नसकेको विश्वविद्यालयले जनाएको छ ।

छात्रबासको विषयलाई लिएर नेविसंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताबिच भदौ १३ गते झडप भएको थियो । झडपको क्रममा नेविसंघका केही कार्यकर्ता घाइते भएका छन् ।

झडपको क्रममा नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस, रामपुर इकाई समितिका निवर्तमान अध्यक्ष सुभम सिंह ठकुरी, निवर्तमान उपाध्यक्षद्वय अभिषेक ओली र शुसील क्षेत्री, वर्तमान सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, विद्यार्थी नेता नरेश बस्नेत, जेनिश लामा लगायत विद्यार्थी घाइते भएका थिए ।

नेविसंघले उनीहरूमाथि कुटपिट गरेको आरोप अनेरास्ववियुमा आबद्ध सक्षम काफ्ले, महेश खड्का, विनोद भण्डारी, चिरन खनाल, विवेक कुमार यादव, प्रसन्न पोखेल, विवेक खत्री, नविन जैसी, एकराज पराजुली, पवन पुरी, अभयराज चालिसे, प्रेम थापा क्षेत्री लगायतलाई लगाएका छन् ।

घटनापछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । उनीहरूका विरुद्ध ज्यान मार्ने उद्योग तथा अंगभंग बनाएको अभियोगमा जाहेरी दर्ता भएको छ ।

भदौ १३ गते दिउँसो करिब ३ बजेको समयमा कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पसको छात्रवास भित्र झडप भएको थियो ।

विद्यार्थी समस्याका बारेमा क्याम्पस हाताभित्र छलफल गरिरहेका बेला आक्रमण गरिएको नेविसंघको आरोप छ ।

छात्रबासमा कसको आधिपत्य जमाउने भन्ने विषयमा वर्षौदेखि कृषि विश्वविद्यालयमा झडप हुँदै आएको छ । विगतमा समेत यस्ता खालका घटना हुँदै आएका थिए । यो पटक समेत छात्रबासमा कसको आधिपत्य जमाउने भन्ने विषयमा नेविसंघ र अनेरास्ववियुबिच झडप भएको हो ।

झपडपछि नेविसंघले दोषीमाथि कारबाही गर्नुपर्ने घाइतेहरूको उपचारसहित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै तालाबन्दी गरेको हो ।

नेविसंघ प्रवक्ता सुरज सेजुवालले घाइते विद्यार्थीको उपचार खर्च दिनुपर्ने, घटनामा संलग्न विद्यार्थीहरूलाई विश्वविद्यालयले अनुशासनको कारबाही गर्दै निष्कासन गर्नुपर्ने माग राखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप