एनएसजेफ पल्सर स्पोर्टस अवार्ड : वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा को–को परे ?
काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० का लागि वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलनमार्फत मनोनयन सार्वजनिक गरेको हो ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा मनोनयन सार्वजनिक गरिएको मञ्चले जनाएको छ । मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्षका पाँच उत्कृष्ट युवा खेलाडी छनोट गरेको हो ।
वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयमा पर्नेमा क्रिकेटका अर्जुन कुमाल, भारोत्तोलनका हेमन्त पाल, फुटबलकी प्रीति राई, टेबलटेनिसका सुजन गडाल र टेनिसकी सुनिरा थापा रहेका छन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २१ औँ संस्करण भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ ।
उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका १६ वर्षीय हेमन्त पालले भारतको नोयडामा सम्पन्न एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । उनले नेपाललाई एसियाली स्तरको अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ३८ वर्षपछि पदक दिलाएका हुन् ।
यसअघि सन् १९८५ मा काठमाडौँमा सम्पन्न जुनियर च्याम्पियनसिपमा कञ्चनपुरका श्याम हमालले नेपाललाई कांस्य पदक दिलाएका थिए । हेमन्तले भारतमा भएको प्रतियोगितामा ७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ केजी, क्लिन एन्ड जर्कतर्फ एक सय १० केजी र कुलमा दुई सय १० केजी भार उचालेका थिए ।
यसैगरी, उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत उच्च स्कोर बनाएका थिए । उनले एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध एक सय ४३ रन बनाएका थिए । यसक्रममा उनले एक सय ११ बलको सामना गरी दुई छक्का र १७ चौका हिर्काएका थिए ।
उनले एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध पनि ९१ रन बनाएका थिए । यसक्रममा उनले एक सय आठ बलको सामना गरी १३ चौका हिर्काएका थिए । उनले २०८० सालमा खेलेका १३ वटा यू–१९ अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सतक र तीन अर्धसतकसहित कुल पाँचसय पाँच रन बनाएका थिए ।
यसैगरी, उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका सुजन गडालले भारतको अरुणाञ्चलमा सम्पन्न एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यू–१९ ब्वाइज टिम स्पर्धामा स्वर्ण र मिक्स डबल्स स्पर्धामा कांस्य पदक जितेका थिए ।
त्यो प्रतियोगितामा नेपाली टोलीमा गडालसँगै विश्व बानिया, विशाल गोले र सिद्धार्थ तामाङ पनि रहेका थिए । युथतर्फ कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टेबलटेनिसले जितेको यो पहिलो स्वर्ण पदक पनि हो । गडालले राष्ट्रिय जुनियर टेबलटेनिस र कृष्णध्वज मेमोरियल टेबलटेनिसमा पनि स्वर्ण हात पारेका थिए ।
यसैगरी, उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेकी प्रीति राईले वाफ च्याम्पियनसिपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । वाफ च्याम्पियनसिपको लेवनानविरुद्धको खेलमा उनले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनका कारण नेपाल त्यो प्रतियोगिताको फाइनलमा पुगेको थियो ।
यसैगरी, उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेकी १५ वर्षीया सुनिरा १९औँ एसियाली खेलकुदमा सहभागी नेपाली टोलीका दुई सय ५३ जना खेलाडीमध्ये सबैभन्दा कम उमेरकी खेलाडी हुन् । उनले बङ्गलादेशको ढाकामा सम्पन्न विश्व टेनिस टुरअन्तर्गत जुनियरतर्फको सर्किट वनमा रजत पदक जितेकी थिइन् ।
सुनिराले बङ्गलादेशको राजशाहीमा सम्पन्न २९औँ राजशाही अन्तर्राष्ट्रिय यू–१८ जुनियर टेनिसमा श्रीलंकाकी दिनेथ्या धर्मरत्नेसँग मिलेर रजत पदक जितेकी थिइन् । उनले बहराइनमा भएको सिनियर बिली जिन किङ कपमा पनि सहभागिता जनाएकी थिइन् । नेपालको सिनियर टिमले नै पहिलो पटक सहभागिता जनाएको त्यो प्रतियोगितामा सुनिरा दुई खेल जित्न सफल भएकी थिइन् ।
उनले प्रधानसेनापति खुला टेनिस प्रतियोगितामा नम्बर एक अभिलाषा विष्टलाई हराउँदै उपाधि चुमेकी थिइन् । उनले राइजिङ स्टार टेनिस–२०२३ मा यू–१६ गल्र्स स्पर्धामा पहिलो स्थान र महिला एकल स्पर्धामा दोस्रो स्थान हासिल गरेकी थिइन् ।
यसका अतिरिक्त उनले नवौँ सिटिजन बैंक ओपन टेनिस–२०२३ को मिक्स डबल्स स्पर्धामा रजत पदक, प्रथम मण्डिखाटार जुयिनर टेनिस–२०२३ को यू–१६ स्पर्धामा स्वर्ण र माछापुच्छ«े बैंक ओपन टेनिस–२०२३ मा स्वर्ण पदक जितेकी थिइन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा परिसकेका छन् ।
यो विधाको विजेताको घोषणा ई–सेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधार गरिनेछ ।
ई–सेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहने मञ्जले जनाएको छ । अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन हुनेछ ।
यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष युवा र वर्ष प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक पुरस्कार प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
यसवर्ष पनि पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुपको पल्सर मोटरसाइकल रहेको छ । मञ्च र गोल्छा गु्रपबिच अवार्डका लागि सहकार्य भएको यो १६ औँ वर्ष हो ।
सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरि हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
-
होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ