शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
इन्जिनियरका समस्या

भविष्य खोज्दै नेपाली इन्जिनियर विदेशमा, देश बनाउन विदेशी इन्जिनियर नेपालमा

सोमबार, २४ भदौ २०८१, १९ : ००
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङ्क अनुसार देशमा ८५ हजारको हाराहारीमा इन्जिनियर दर्ता भएका हुन् । इन्जिनियरिङका कुल ५५ विधामध्ये विभिन्न ४४ विधाका ती इन्जिनियरमध्ये हाल नेपालमा कति कार्यरत छन् भन्ने राज्यसँग यकिन तथ्याङ्क छैन ।

इन्जिनियरिङको पढाइ हुने ५५ वटा कलेजमा वार्षिक भर्ना क्षमता १२ हजार जति छ भने वार्षिक ६ हजारभन्दा बढी इन्जिनियर उत्पादन हुन्छन् । काउन्सिलका अध्यक्ष प्राडा पदम बहादुर शाहीका अनुसार काउन्सिलको परीक्षा पास गरेर हरेक वर्ष ६ हजारको हाराहारीमा लाइसेन्स लिने गरेका छन् । धेरैजसो इन्जिनियर नेपालमा अवसर नपाएर विदेशतिर जाने गरेको उनको भनाइ छ । उनका अनुसार कोही अध्ययनको क्रममा जान्छन् भने कोही रोजगारीका लागि विदेश जानेका गरेका छन् ।

नेपालमा भएका कुल इन्जिनियरमध्ये २५ प्रतिशतको हाराहारीमा विभिन्न सरकारी निकायमा छन् । केही कक्षा ९ देखि १२ सम्मको प्राविधिक शिक्षालयमा इन्जिनियरिङ विषयको अध्यापन गराउँदै आएका छन् । तीबाहेक अधिकांश निजी क्षेत्रमा कार्यरत छन् भने केहीले आफ्नै कन्सल्टिङ सेन्टर खोलेर काम गर्दै आएका छन् ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष इन्जिनियर लक्ष्मण केसीले नेपालमा इन्जिनियरहरूको राम्रो भविष्य नरहेको बताए ।

नेपालमा विकास बजेट खर्च एकदम न्यून हुन्छ । विकास बजेटसँग इन्जिनियरहरूको भविष्य जोडिएको हुन्छ । जति धेरै विकास निर्माणले गति पाउँछ, त्यति धेरै इन्जिनियरहरूको काम बढ्छ ।

‘केही नेपाल सरकारका विभिन्न निकायमा जागिर गर्छन् । केही इन्जिनियरिङ कलेजमा पढाउँछन् । केही कन्सल्टिङ क्षेत्रमा छन् । केही काउन्सिल पास गरेर विदेश गइरहेका छन् । पछिल्लो समय विदेश जाने लहर बढेको छ । मास्टर्स गर्न र काम गर्नका लागि विदेश जाने धेरै छन्,’ अध्यक्ष केसीले भने ।

नेपालमा राम्रो अवसर नहुँदा विदेश जान बाध्य भइरहेको उनको भनाइ छ । नेपालमा केही समय अगाडि इन्जिनियरको न्यूनतम पारिश्रमिक तोकिएको थियो । जसमा भर्खर इन्जिनियरिङ पास गरेर पहिलो जागिरका लागि न्यूनतम ३५ हजार १८५ रूपैयाँ मासिक पारिश्रमिक निर्धारित थियो ।

कतिपयले २०/२५ हजार रुपैयाँबाट समेत काम सुरु गरेका छन् । कतिपयले ६/७ लाख रुपैयाँ मासिक पारिश्रमिक पनि पाइरहेका छन् । सरकारको हकमा सरकारले तोकेकै पारिश्रमिक अनुसार इन्जिनियरले तलब पाउँछन् ।

कतिपय अवस्थामा इन्जिनियरिङ पढेर बेरोजगारसमेत बस्नुपर्ने बाध्यता छ । तर, त्यो अवस्था भनेको अर्को स्टेप चाल्नका लागि हो । अर्थात् केही कामै नगरी लोकसेवाको तयारी गर्ने र थप अध्ययनका लागि तयारी गर्ने वा विदेशको तयारी गर्ने अवस्था हो ।

Mechanical-Engineering-Jobs_Feature

  • अहिलेको मुख्य समस्या  

नेपालमा विकास बजेट खर्च एकदम न्यून हुन्छ । विकास बजेटसँग इन्जिनियरहरूको भविष्य जोडिएको हुन्छ । जति धेरै विकास निर्माणले गति पाउँछ, त्यति धेरै इन्जिनियरहरूको काम बढ्छ । यसबाट नयाँ इन्जिनियरले समेत अवसर पाउँछन् ।

‘महत्त्वपूर्ण योजनाहरू सरकारले बनाएको छ । त्यसलाई पूरा गर्न विकास बजेट खर्च हुनुपर्‍यो । त्यो विकास बजेट जति धेरै खर्च गरियो, त्यति धेरै विकास हुन्छ । त्यसका लागि इन्जिनियरहरू चाहियो । सम्भाव्यता अध्ययत गर्न, डिटेल रिपोर्ट बनाउन तथा काम गर्नसमेत इन्जिनियर चाहिन्छ । विकास निर्माणका काम नै अघि नबढे इन्जिनियरले कसरी काम पाउँछन् ?’ उनले प्रश्न गरे ।

राज्यका महत्त्वपूर्ण निकायहरूमा इन्जिनियरको दरबन्दी नै छैन । जस्तै देशको सम्पूर्ण योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगमा इन्जिनियरको दरबन्दी नै छैन । त्यस्तै ठुला प्रोजेक्टमा लगानी भित्र्याउने निकाय लगानी बोर्डमा समेत इन्जिनियरको दरबन्दी छैन ।

‘ठुलठुला कार्यालयमा इन्जिनियरको दरबन्दी नै छैन । प्राविधिक तथा अन्य निजामती कर्मचारीको तुलनामा इन्जिनियरको दरबन्दी नै हुँदैन । अनि कसरी विकास हुन्छ ?’ उनले भने ।

नेपाल इन्जिनियरिङ एशोसिएशनले वर्षौंदेखि यी विषय उठान गर्दै आएको छ । तर, राज्य मुकदर्शक बनेको छ । जसले गर्दा एकातिर ब्रेनड्रेन हुने, क्यापसिटी डेभलप नहुने तथा अर्कोतिर बेरोजगार हुने तथा विदेश पलायन हुन बाध्य भइरहेको अध्यक्ष केसीले बताए ।

नेपालमा समयमै प्रोजेक्टहरू नसकिने समस्या छ । विश्वका विकसित देशहरूमा समयमै प्रोजेक्ट सम्पन्न गर्न के गर्नुपर्छ भन्ने विषयमा विभिन्न खालका अभ्यास हुने गरेका छन् ।

‘नेपाली इन्जिनियरले मासिक ५० हजार पनि तलब पाउँदैनन् । विदेशबाट ल्याउँदा मासिक १०/१५ लाख नै दिनुपर्छ । नेपाली इन्जिनियरहरू पनि विदेशमा जाँदा मासिक लाखौँ रुपैयाँ कमाउँछन्,’ उनले भने ।

एशोसिएशनले वर्षौंदेखि स्टाफ इन्जिनियरिङ कलेजको माग गर्दै आएको छ । तर, सरकारले त्यो प्रक्रिया अगाडि नबढाएको केसीको भनाइ छ । देश विकासको मेरुदण्ड इन्जिनियर नै रहेको भन्दै उनले यो जनशक्ति विदेशिन बाध्य भइरहेकाले देशको विकास सम्भव नहुने बताए ।

स्टाफ कलेजमार्फत इन्जिनियरहरूलाई नयाँनयाँ प्रविधिबारे जानकारी दिने अवधारणा अघि सारिएको छ । हाईड्रोपावर, ग्राउण्ड वाटर लगायतमा नयाँनयाँ प्रविधि तथा उपकरणसहित विश्वमा आएका कुराहरूलाई नेपाली इन्जिनियरहरूले जान्नु जरूरी हुन्छ । तर, अहिलेसम्म त्यो हुन सकेको छैन । केहीले त्यसका लागि विदेशमा गएर सिक्ने गरेका छन् । नत्र त्यही कामका लागि विदेशबाट इन्जिनियर ल्याउनुपर्ने बाध्यता रहेको केसीको भनाइ छ ।

नेपालमा समयमै प्रोजेक्टहरू नसकिने समस्या छ । विश्वका विकसित देशहरूमा समयमै प्रोजेक्ट सम्पन्न गर्न के गर्नुपर्छ भन्ने विषयमा विभिन्न खालका अभ्यास हुने गरेका छन् । ती अभ्यास नेपाली इन्जिनियरहरूमा प्रयोगमा ल्याउन सकियो भने समयमै आयोजना सकिने उनको भनाइ छ ।

1_uZteELzHfg996pgUw9CtsQ

‘इन्जिनियरिङ शक्ति विकास निर्माणको काममा सबैभन्दा अग्रभागमा उभिनुपर्ने हो । तर, त्यही शक्तिको मनोबल कमजोर पार्ने काम भइरहेको छ,’ केसीले भने ।

  • इन्जिनियर बाहिरबाट किन ल्याउने ?

नेपालमा अधिकांश ठुला आयोजनाहरूले प्राविधिकदेखि कामदारसम्म विदेशबाटै ल्याउने गरेका छन् । नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी सङ्ख्यामा विदेशी दक्ष जनशक्ति काम गर्न आउँछन् । उनीहरूमध्ये अधिकांश जलविद्युत निर्माण, टनेल निर्माण, सडक निर्माण लगायतका काममा छन् ।

तर, नेपाली इन्जिनियरहरूले अवसर नपाउने अवस्था छ । ‘यसमा विभिन्न कारण छन् । एउटा कारण– हाम्रा साथीहरू क्वालिफाइड हुँदैनन् । जस्तो कि टनेल बनाउने खालका इन्जिनियर हामीकहाँ छैनन् । त्यसका लागि महँगो शुल्क तिरेर विदेशबाटै ल्याउनुपर्छ,’ अध्यक्ष केसीले भने ।


सरकारले इन्जिनियरिङ क्षेत्रलाई विशेष महत्त्व नदिएकाले देश विकास हुन नसकेको केसीको भनाइ छ ।


नेपाली इन्जिनियरहरूसँग क्षमता नै नहुँदा पनि बाहिरबाट ल्याउने गरेको उनको भनाइ छ । दोस्रोमा नेपालमा सञ्चालन हुने अधिकांश ठुला आयोजना विदेशी दातृ निकायहरूले बनाइदिने गरेका छन् । उनीहरूले नै पैसा दिएपछि उनीहरूले आफ्नै मान्छेलाई काममा लगाउने गरेका छन् ।

‘पैसा पनि उनीहरू नै दिन्छन् । प्रविधि पनि उनीहरूकै प्रयोग गर्नुपर्छ । काम गर्ने मान्छेहरू पनि उनीहरूले उतैबाट पठाउँछन् । त्यसपछि हामीले त सामान्य सहायकस्तरका काम गर्ने मान्छे खटाउनुपर्छ,’ उनले भने ।

सरकारले इन्जिनियरिङ क्षेत्रलाई विशेष महत्त्व नदिएकाले देश विकास हुन नसकेको केसीको भनाइ छ ।

  • इन्जिनियरका दुःख

लाखौँ खर्च गरेर इन्जिनियरिङ पढेको जनशक्तिले सकेसम्म स्वदेशमै केही गरौँ भन्ने सोच राख्ने केसी बताउँछन् । तर विभिन्न निकायमा धाएर बल्लतल्ल जागिर पाए पनि काम गर्दा उनीहरूमाथि पर्ने प्रेसर वर्णन गर्न सकिने अवस्था नै छैन ।

एक जना इन्जिनियरले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘सिभिल इन्जिनियरबाहेक अन्यका लागि नेपालमा खासै राम्रो अवसर छैन । सिभिल इन्जिनियर धेरै छन् । उनीहरूलाई सुरूमा त जागिर पाउनै मुस्किल छ । यदि कसै पाइहाल्यो भने पनि अरुले भनेको मान्नुपर्छ । उनीहरूले भनेको काम गरेन भने टिक्नै गाह्रो छ ।’

अहिले स्थानीय तह लगायतका विभिन्न निकायमा प्राविधिक तथा इन्जिनियरहरूको दरबन्दी खुल्ने गरेको छ । तर, भनसुन नगरी वा आफ्नो मान्छे भएमात्रै जागिर पाउने अवस्था छ । त्यसरी जागिर पाइसकेपछि उनीहरूले भनेअनुसारको नक्सा पास गर्ने, डिजाइन गर्नेजस्ता काम गरिएन भने जागिरको टुङ्गो नहुने ती इन्जिनियरको भनाइ छ ।

‘पालिकाका जनप्रतिनिधिदेखि हाकिमले दबाब दिन्छन् । कहीँ कतै गुणस्तरीय काम भएको छैन भने पनि राम्रै छ भनेर रिपोर्ट दिनुपर्ने बाध्यता छ । त्यसो गरिएन भने आफ्नै जागिर धरापमा पर्छ । त्यही भएर दबाबमा आएर गलत काम गर्न बाध्य हुन्छन्,’ ती इन्जिनियरले भने ।

इमानदार इन्जिनियरहरू त्यसरी काम गर्नुभन्दा विदेश जान राम्रो ठानेर विभिन्न मुलुकमा जाने गरेको उनको भनाइ छ । अरुको दबाबमा आएर काम गर्नुपर्ने र भोलि अख्तियारले भ्रष्टाचारको मुद्दा लगाउने जोखिम मोल्नुपर्ने अवस्थासमेत रहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप