सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेसमा विचार र आचरणको बहस आवश्यक छ : नैनसिंह महर

सोमबार, २४ भदौ २०८१, १६ : ५९
सोमबार, २४ भदौ २०८१

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताएका छन् । १११ औँ बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘बीपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताएका हुन् । 

‘६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी साङ्गठनिक अभियानमा चलाउने निर्णय गरेको छ । यो अभियानमा पार्टी सङ्गठनमा ताजकी ल्याउनका साथै विचार र आचारको बहसलाई वडा तहसम्मै लैजान आवश्यक छ,’ महरले भने । 

भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको भन्दै पार्टीको विचारमा पनि प्रस्टता ल्याउने अभियानलाई उपयोग गर्नुपर्ने महरले बताए । ‘नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका प्रमुख दलहरू सैद्धान्तिक रूपमा फरक भए पनि व्यवहारमा एउटै देखिए भन्ने आम मानिसको बुझाइ छ ।

कांग्रेस र अन्य दलभन्दा फरक छ भनेर हामीले व्यवहारबाटै देखाउनुपर्छ । असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा विचार र व्यवहारमा हामी फरक हौँ भनेर जानुपर्छ,’ उनले भने ।

बीपी कोइरालाले कांग्रेसलाई अन्य पार्टीभन्दा विचार र व्यवहारले नै फरक देखाएको भन्दै आज पनि कांग्रेसमा त्यस्तै । तर, पछिल्लो समय पार्टीमा विचारको बहस हराएको छ । पार्टीको प्रमुख लक्ष्य सत्ताभन्दा पनि जनता हो ।

जनतामुखी विचार र दृष्टिकोण राखेर हामी अगाडि बढिरहेका छौ कि छैनौँ भन्ने मूल प्रश्न हो । हाम्रो व्यवहार जनतालाई मन परेको छ कि छैन ?,’ 

नेकपा एमालेसँग सत्ता सहकार्य गरे पनि प्रतिस्पर्धा पनि उसैसँग हुने भन्दै कांग्रेसको सङ्गठनमा जागरणको खाँचो महरले औँल्याए । ‘पुराना दल सबै खराब हुने भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ । त्यसलाई चिर्नुपर्ने आजको हाम्रो चुनौती हो । यो देशको विगत, वर्तमान र भविष्य नै नेपाली कांग्रेस हो भन्ने कुरा नेपाली जनतालाई बुझाउनुपर्छ । सत्तामा भएका साथीहरूले कामबाट यसको जवाफ दिनुपर्छ,’ उनले भने ।

नयाँ राजनीतिक दल स्थापनाको २ वर्षमै नाङ्गिएको भन्दै मुलुकमा कांग्रेसको विकल्प नभएको महरको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप