शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा को–को परे ?

सोमबार, २४ भदौ २०८१, १६ : ४८
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० का लागि वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलनमार्फत मनोनयन सार्वजनिक गरेको हो ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा मनोनयन सार्वजनिक गरिएको मञ्चले जनाएको छ । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्षको पाँच उत्कृष्ट प्रशिक्षक छनोट गरेको हो ।

अवार्डको २१औं संस्करणका लागि मञ्चले वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पाँचजनाको नाम सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा पर्नेमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, कराँते प्रशिक्षक कुशल श्रेष्ठ, क्रिकेट प्रशिक्षक मोन्टी देसाई, कबड्डी प्रशिक्षक पार्वती राई र भारोत्तोलन प्रशिक्षक सञ्जय मर्हजन रहेका छन् ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका कुशलले १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक दिलाएका थिए ।

कुशलले सातौँ एसियन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई २९ स्वर्ण, २५ रजत र सातवटा कांस्य पदक दिलाएका थिए । यसका अतिरिक्त उनले अमेरिकामा भएको यूएस ओपन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताएका थिए ।

यसैगरी, उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका मोन्टी देसाईले नेपाली क्रिकेट टोलीलाई पहिलो पटक एसीसी प्रिमियर कपको विजेता बनाएका थिए । उनकै प्रशिक्षकत्वमा नेपाल त्यो प्रतियोगिताको विजेता बन्दै पहिलो पटक एसिया कपमा छनोट भएको थियो ।

मोन्टीकै प्रशिक्षकत्वमा नेपालले भारत, पाकिस्तानजस्ता बलिया टेस्ट राष्ट्रसँग पहिलो पटक एसिया कप खेलेको थियो । उनले नेपाललाई १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा छनोट गराएका थिए भने नेपालले उनकै प्रशिक्षकत्वमा टी–२० विश्वकप पनि खेलेको थियो ।

यसका अतिरिक्त मोन्टीकै प्रशिक्षकत्वमा नेपाली टोली १९औँ एसियाली खेलकुदको क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । उनले नेपाललाई एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको आठौँ स्थानमा उभ्याएका थिए ।

यसैगरी, उत्कृष्ट प्रशिक्षकको सूचिमा परेकी पार्वती राईले १९औँ एसियाली खेलकुदमा नेपाललाई महिला कबड्डीमा ऐतिहासिक कांस्य पदक चुमाएकी थिइन् । प्रशिक्षकको भूमिकामा नेपालको महिला कबड्डीलाई माथि उठाउन उनले महत्वपूर्ण योगदान गरेकी छन् ।

यसैगरी, उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका कविराजले हाङचाउ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएका थिए । उक्त एसियाडमा पलेशा गोबर्धनले कांस्य पदक जित्दा कविराज प्रशिक्षक थिए ।

चीनमा भएको पेरिस पारा ओलम्पिकको एसिया क्षेत्रको छनोट प्रतियोगितामा पलेशाले स्वर्ण पदक जित्दा पनि उनी प्रशिक्षकको भूमिकामा थिए । पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा भरतसिंह महताले इन्डोनेसियाका खेलाडीलाई हराउँदा पनि कविराज नै प्रशिक्षक थिए । अन्तर्राष्ट्रिय पारा खेलकुदमा नेपालको प्रतिष्ठा बढाउन उनको भूमिका महत्वपूर्ण रहेको छ ।

यसैगरी, उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका सञ्जय महर्जन २०८० सालमा नेपालले अन्तर्राष्ट्रिय भारोत्तोलन खेलमा इतिहास रच्दाका प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा हेमन्त पालले भारतको नोयडामा सम्पन्न एसियन जुनियर च्याम्पियनसिपमा तीनवटा कांस्य पदक जितेका थिए ।

यसका अतिरिक्त उनी २६र्आँ पुरुष तथा महिला राष्ट्रिय सिनियर तथा जुनियर च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब दुबै टोलीका प्रशिक्षक थिए । त्यो प्रतियोगितामा आर्मीले चार स्वर्ण, ६ रजत र पाँच कांस्य तथा एपीएफले तीन स्व्र्ण, सात रजत र दुई कांस्य पदक जितेको थियो ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २१औँ संस्करण भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को कंग्रेस पनि आयोजना गर्दैछ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा परिसकेका छन् ।

यो विधाको विजेताको घोषणा ई–सेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधार गरिनेछ ।

ई–सेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहने मञ्जले जनाएको छ । अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन हुनेछ ।

यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष युवा र वर्ष प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक पुरस्कार प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

यस वर्ष पनि पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रपको पल्सर मोटरसाइकल रहेको छ । मञ्च र गोल्छा गु्रपबिच अवार्डका लागि सहकार्य भएको यो १६औं वर्ष हो । सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप