शिक्षा मन्त्रालयले अघि सार्यो बुटक्याम्पदेखि मेगा किचेनसम्मको योजना
काठमाडौँ । सरकारले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षदेखि नै लागु हुनेगरी शैक्षिक गुणस्तर सुधारका योजना अघि सारेको हो ।
मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुटक्याम्पदेखि मेगा किचेनसम्मको कार्यक्रम ल्याएको हो । जसमा शिक्षकहरूलाई तालिम दिने, एउटै भान्सामा विद्यार्थी दिवा खाजा कार्यक्रम, सहपाठी सिकाइ, करिअर काउन्सिलिङ लगायतका कार्यक्रम छन् ।
केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त कोइरालाले चालु आर्थिक वर्षदेखि नै लागु हुनेगरी काम भइरहेको बताए । ‘बुटक्याम्प’ कार्यक्रम अन्तर्गत बाल विकास शिक्षकहरूलाई तालिम दिने योजना छ । चालु आर्थिक वर्षमा एक हजार ५०० जना बाल विकास शिक्षकहरूलाई ओशो तपोवनको शैलीमा तालिम दिने तयारी छ ।
शिक्षकहरूलाई सेवाकालीन तालिममात्र नभइ अबदेखि मनोरञ्जनदेखि मेडिटेसनसम्म दिन लागिएको हो । यसका लागि कार्यविधि बनाउने काम भइरहेको जानकारी दिँदै कोइरालाले भदौसम्ममा सकिने बताए । कोइरालाले भने, ‘शिक्षकहरूलाई तालिम तथा प्रशिक्षण दिइरहेकै छौँ । तालिम र बुटक्याम्प फरक हुन् । ओशो तपोवन शैलीमा तालिम दिन खोजेका छौँ । यसमा गीत सङ्गीतदेखि लिएर मेडिटेसनसम्म हुनेछ । यसले शिक्षकहरूको क्षमतालाई थप अभिवृद्धि गर्नेछ ।’
यसका लागि तीन करोड १५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । बजेट कार्यान्वयन गर्न बनाइएको योजनामा बाल विकास शिक्षकको क्षमता तथा आवश्यक ज्ञान, सिप र सिकाइ अभिवृद्धि गराउन ‘बुटक्याम्प’ गरिने उल्लेख छ । शिक्षकको क्षमता विकास नभएसम्म बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नभएको भन्दै बालविकास शिक्षकलाई त्यसरी नै तालिम दिन लागिएको कोइरालाले बताए ।
त्यस्तै मेगा किचेनको कार्यक्रम नमुनाको रूपमा यो वर्ष सातै प्रदेशका १/१ स्थान गरी सात ठाउँमा लागु गर्न लागिएको हो । ‘तराई र यातायातको पहुँच भएका क्षेत्रहरूमा एकै ठाउँमा खाजा पकाएर सबै विद्यालयका बालबालिकासम्म पु¥याउन सकिन्छ कि भनेर यो कार्यक्रम गर्न लागिएको हो । यो कार्यक्रम पालिकाहरूको समेत साझेदारीमा गर्न सकिन्छ,’ प्रवक्ता कोइरालाले भने ।
न्यूनतम गुणस्तरको दिवा खाजा पुर्याउने लक्ष्यसहित अघि सारिएको उक्त मेगा किचेन कार्यक्रमले हरेक विद्यालयमा पकाएर खाजा खुवाउनुपर्ने झन्झटलाई समेत कम गर्ने अपेक्षा लिइएको छ ।
‘बढी विद्यार्थी हुने विद्यालयको अधिकांश समय खाजा पकाउनै जान्छ भन्ने गुनासो आउँछ । त्यस्तै विद्यार्थीले गुणस्तरको खाजा नपाएको कुरा पनि आउँछ । यी विषयलाई सम्बोधन गरेर टिफिन टाइमभन्दा अगाडि नै विद्यार्थीलाई खाजा पु¥याउने उद्देश्य हो,’ कोइरालाले भने ।
त्यस्तै करिअर काउन्सिलिङको योजनासमेत अघि सारिएको छ । कुन विषय पढ्दा राम्रो हुन्छ भन्नेबारे विद्यार्थीहरू अनभिज्ञ हुँदा पछि पछुताउनुपर्ने बाध्यता छ । त्यसका लागि सुरूमै विद्यार्थीलाई त्यस विषयमा जानकारी दिन केन्द्रले करिअर काउन्सिलिङको कार्यक्रम अघि सारेको हो ।
कक्षा १० बाट ११ मा जाँदा कुन विषय पढ्दा ठिक हुन्छ ? आफूले कुन विषय पढ्न सक्छु ? भन्नेबारे जानकारी नहुँदा विद्यार्थीहरू गलत विषय रोज्न पुग्छन् । त्यस्तै कक्षा १२ पढिसकेपछि उच्च शिक्षामा के पढ्ने ? के गर्ने भन्ने विषयमा समेत जानकार नहुँदा गलत विषय रोज्न पुग्छन् । यसका लागि केन्द्रले करिअर काउन्सिलिङको कार्यक्रम मार्फत विद्यार्थीहरूलाई उनीहरूको ज्ञान, क्षमता र रूचिको आधारमा विषय छनोट गर्न सकिन्छ भनेर करिअर काउन्सिलिङको कार्यक्रम अघि सारिएको प्रवक्ता कोइरालाले बताए ।
त्यस्तै सरकारले अघि सारेको अर्को कार्यक्रम हो– सहपाठी सिकाइ योजना । यसमा माथिल्लो तहका विद्यार्थीहरूले तल्लो तहका विद्यार्थीहरूलाई सिकाउने योजना हो । मावि तहका जान्ने विद्यार्थीलाई आधारभूत तहका विद्यार्थीलाई सिकाउने गरी उक्त योजना अघि बढाउन लागिएको कोइरालाले बताए ।
त्यस्तै सामुदायिक विद्यालय रूपान्तरण कार्यक्रमसमेत अघि सारिएको छ । अहिलेसम्म राम्रोलाई राम्रो र बलियोलाई बलियो बनाउने कार्यक्रम छन् । अब भने गर्न सक्ने, क्षमता भएका र सपोर्ट भएपछि प्रगति गर्न सक्नेलाई सहयोग गर्न उक्त कार्यक्रम अघि सारिएको प्रवक्ता कोइरालाले बताए ।
सातै प्रदेशबाट ८/८ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम गर्न लागिएको हो । पोटेन्सियल क्षमता भएका तर, स्रोत साधनको अभावमा प्रगति गर्न नसकेका विद्यालयहरूको क्षमता अभिवृद्धिका लागि उक्त कार्यक्रम अघि सारिएको प्रवक्ता कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुजु फर्छ्यौट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
-
बागमती प्रदेश लिग : फाइनलमा काठमाडौँ र दोलखा भिड्ने
-
ट्रम्पको होटल अगाडि भएको विस्फोट न्यू ओर्लियन्सको आक्रमणसँग जोडिएको थियो ?
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
जसपा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा नयाँ पदाधिकारी चयन