शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एनएसजेफ पल्सर स्पोर्टस अवार्ड : वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा को–को परे ?

सोमबार, २४ भदौ २०८१, १६ : ०२
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० का लागि वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलनमार्फत मनोनयन सार्वजनिक गरेको हो ।

अवार्डको २१औं संस्करणका लागि मञ्चले वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पाँचजना खेलाडीको नाम सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयमा पर्नेमा कराँतेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी रहेका छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेकी सन्तोषीले बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मजिब ढाका इन्टरनेशनल म्याराथनमा दक्षिण एसियाली विधातर्फ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक जितेकी हुन् ।

उनले नेपालगञ्ज हाफ म्याराथनमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् । उनले लुम्बिनी अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पनि स्वर्ण जितेकी थिइन् । यसका अतिरिक्त उनले तेस्रो राइट टु प्रोटिन हाफ म्याराथन, पोखरा प्रधानसेनापति हाफ म्याराथन र दार्जिलिङ हिल हाफ म्याराथनमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।

सन्तोषी अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर र १० हजार मिटर दौडकी च्याम्पियन पनि हुन् । यी प्रभावशाली धाविकाले धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।

यसैगरी, उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेकी कराँतेकी एरिकाले चीनको हाङचाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् । उनले महिला ६८ केजी तौलसमूहमा रजत जितेकी थिइन् ।

एरिका एसियाडको ब्यक्तिगत स्पर्धामा रजत पदक जित्ने दोस्रो नेपाली खेलाडी हुन् । उनी एसियाली खेलकुदमा रजत पदक जित्ने पहिलो नेपाली कराँते खेलाडी पनि हुन् । उनले अमेरिकामा सम्पन्न यूएस ओपन कराँतेमा पनि एक स्वर्ण र एक रजत पदक हात पारेकी थिइन् ।

यसका अतिरिक्त एरिकाले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक चुमेकी थिइन् । उनी १९औँ एसियन गेम्स ओपन राष्ट्रिय कराँते च्याम्पियनसिप र १९औँ एसियन गेम्सको छनोट प्रतियोगितामा पनि पहिलो भएकी थिइन् ।

यसैगरी, मनोनयमा पर्ने फुटबलकी सावित्रा भण्डारीले वाफ च्याम्पियनसिपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपमा उनी सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् । उनले प्रतियोगितामा कुल नौ गोल गरेकी थिइन् ।

उनले त्यो प्रतियोगिताको एउटै खेलमा पाँच गोल गरेकी थिइन् । सोही प्रतियोगिताको इराकविरुद्धको खेलमा उनले नेपालका लागि ५० गोलको ऐतिहासिक कीर्तिमान पनि बनाएकी थिइन् । उनी युरोपको महिलातर्फको माथिल्लो डिभिजनको लिग खेल्ने पहिलो नेपाली महिला फुटबल खेलाडी पनि हुन् ।

यसैगरी, उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पर्ने रुविनाले २०८० सालमा अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाएकी थिइन् । उनी अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सतक बनाउने पहिलो नेपाली खेलाडी पनि हुन् । एसीसी महिला प्रिमियर कपको माल्दिभ्सविरुद्धको खेलमा उनले केवल ५९ बलमा एक सय १८ रन बनाएकी थिइन् ।

उनी प्रधानमन्त्री कप महिला क्रिकेटमा प्लेयर अफ दि टुर्नामेन्ट पनि घोषित भएकी थिइन् । उनले त्यो प्रतियोगितामा तीन अर्धसतक बनाएकी थिइन् भने १० विकेट पनि लिएकी थिइन् । उनी मलेसियन महिला सुपर लिगको सर्वोत्कृष्ट ब्याटर पनि बनेकी थिइन् । उनले २०८० सालमा २४ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै तीन सय ८८ रन बनाएकी थिइन् ।

यसैगरी, उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेकी कबड्डीकी मेनुका राजवंशी १९औँ एसियाली खेलकुदमा नेपाललाई महिला कबड्डीमा ऐतिहासिक कांस्य पदक जिताउने टोलीकी महत्वपूर्ण सदस्य हुन् । उनले टोलीको कप्तानको भूमिका पनि निर्वाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप