शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एनएसजेफ पल्सर स्पोर्टस अवार्ड : वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा को-को परे ?

सोमबार, २४ भदौ २०८१, १५ : ३३
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० का लागि वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार मनोनयन सार्वजनिक गरेको हो ।

अवार्डको २१औं संस्करणका लागि वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पाँचजना खेलाडीको नाम सार्वजनिक गरिएको छ । वर्ष पुरुष खेलाडीको मनोनयमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, क्रिकेटकै रोहित पौडेल, कराँतेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ परेका छन् ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा खेलाडीलाई मनोनयनमा समावेश गरिएको हो । मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका अनन्तले भारतको बैंगलोरमा सम्पन्न साफ च्याम्पियनसिप–२०२३ मा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सोही प्रतियोगिताको कुवेतविरुद्धको पहिलो खेलमा नेपालका लागि ५०औँ क्याप जितेका थिए ।

फुटबलर अनन्त सहिद स्मार ‘ए’ डिभिजन लिग–२०८० को उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनकै कप्तानीमा चर्च ब्वाइज क्लबले लिगको उपाधि पनि जितेको थियो । नेपाल सुपर लिग–२०८० मा पनि उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनकै कप्तानीमा ललितपुरले उपाधि पनि जितेको थियो ।

यसैगरी, वर्षको उत्कृष्ट खेलाडी मनोनयमा परेका अर्का खेलाडी रोहित पौडेले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुन् । उनले समिक्षा अवधिमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालाबाट २५ खेल खेल्दै सर्वाधिक ६ सय ८० रन बनाएका थिए ।

यस क्रममा उनले पाँच अर्धसतक पनि प्रहार गरेका थिए । उनले १३३ भन्दा माथिको स्ट्राइकर रेटमा रन बनाएका थिए । उनले बलिङतर्फ चार विकेट पनि लिएका थिए । उनी २०८० सालमा एकदिवसीय संरचनामा पनि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

उनले एकदिवसीयतर्फ २३ खेलमा २५ को औसतले कुल पाँच सय २५ रन बनाएका थिए । यस क्रममा उनले तीन अर्धसतक बनाएका थिए भने १० वटा विकेट पनि लिएका थिए । नेपाललाई एसीसी प्रिमियर कपको विजेता बनाउन पनि उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

रोहितकै कप्तानीमा नेपालले पहिलो पटक भारत, पाकिस्तानजस्ता बलिया टेस्ट राष्ट्र सम्मिलित एसिया कप पनि खेलेको थियो । उनकै कप्तानीमा नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा पनि छनोट भएको थियो र विश्वकप पनि खेलेको थियो ।

यसैगरी, पुरुष वर्ष खेलाडी मनोनयनमा परेका दीपेन्द्रसिंह ऐरी पनि प्रभावशाली क्रिकेटर हुन् । उनले २०८० सालमा १५ एकदिवसीय खेल्दै कुल दुई सय २४ रन बनाएका थिए । उनले एकदिवसीयमा आठ विकेट पनि लिएका थिए ।

उनले यस अवधिमा टी–२० अन्तर्राष्ट्रियमा १६ खेल खेल्दै १८८.५८ को स्ट्राइक रेटमा कुल चार सय १३ रन बनाएका थिए । टी–२० अन्तर्राष्ट्रियमा उनले १० विकेट पनि लिएका थिए । उनले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध केवल नौ बलमा अर्धसतक बनाएर इतिहास रचेका थिए । उनको यो कीर्तिमान कहिल्यै तोडिने छैन । उनले एसीसी मेन्च प्रिमियर कपमा एकै ओभरमा ६ वटा छक्का पनि प्रहार गरेका थिए ।

यसैगरी, मनोनयनमा परेका कराँते खेलाडी मोहम्मद शेखु आलमले इन्डोनेसियाको जाकार्तामा सम्पन्न १०औँ सितोरियो कराँते विश्व च्याम्पियनसिपमा ब्यक्तिगत स्पर्धामा रजत पदक जितेका थिए । उनी १९औँ एसियाली खेलकुदमा कांस्य पदक भिडन्तमा पराजित भएका थिए ।

सातौँ एसियन कराँते च्याम्पियनसिपमा उनले ब्यक्तिगत र टिम स्पर्धामा रजत पदक जितेका थिए । ५५औँ राष्ट्रिय कराँते च्याम्पियनसिपमा पनि उनले स्वर्ण पदक हात पारेका थिए । तेस्रो कृष्णप्रसाद भट्टाराई राष्ट्रिय कराँतेमा पनि उनले स्वर्ण हात पारेका थिए ।

यसैगरी, मनोनयनमा परेका सुवाष तामाङ नेपालका नम्बर एक गल्फ खेलाडी हुन् । उनले भारतको कोलकातामा सम्पन्न आईजीयू १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका थिए । यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

यसका अतिरिक्त उनी नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा उपविजेता बनेका थिए । नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा उनले सद्भाव आचार्यसँग मिलेर स्वर्ण पदक जितेका थिए । सूर्य नेपाल प्रिमियर च्याम्पियनसिपमा पनि उनी विजेता बनेका थिए । उनले सूर्य नेपाल गल्फ टुरअन्तर्गत एनपीजीए टुर च्याम्पियनसिपको उपाधि पनि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप