विराटनगर, बीपीको विरासत र अहिलेको यथार्थ
राणा शासनविरुद्ध चलेको आन्दोलनको सुरुवाती दशक थियो, वि.सं. १९९० को दशक । यद्यपि यसअघि पनि राणाविरुद्ध फाट्टफुट्ट आवाज नउठेको होइन । यसका उदाहरण हुन्, लखन थापा । राणाशासन विरुद्ध आवाज उठाएकाले उनलाई १९३३ फागुन २ गते फाँसी दिइएको थियो ।
खासगरी नब्बेको दशकदेखि प्रजातन्त्र स्थापना नहुँदासम्म चेतनशील नागरिकहरू राणाशासनको विरोधमा ज्यानको पर्वाह नगरी आवाज उठाए । नब्बेको दशकको उत्तराद्र्धमा निरंकुश जहानियाँ राणाशासनका विरुद्ध आवाज उठाउने चार क्रान्तिकारी योद्धा सहिद भए— शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौँको टेकुमा झुन्ड्याइयो; धर्मभक्त माथेमालाई १९९७ माघ १२ गते सिफलमा झुन्ड्याइयो; दशरच चन्द र गंगालाल श्रेष्ठद्वयलाई १९९७ माघ १४ गते सोभा भगवतीमा लगेर गोली हानेर मारियो ।
निरङ्कुश राणाशासन व्यवस्था ढाल्न अनिवार्य थियो, तर कोही बोल्न सकेका थिएनन् । त्यो आवाज त्यो समयमा विराटनगरबाट मुखरित हुन थाल्यो । त्यो आन्दोलन उठाउने मुख्य भूमिका निर्वाह गरेका थिए, ‘पिताजी कृष्णप्रसाद कोइराला’ले ।
एकपटक हिउँदमा फाटेका लुगा लगाएका ढाक्रेहरुलाई देखेर कृष्णप्रसादलाई बडो ग्लानि भएछ । ती ढाक्रेमध्ये एउटालाई नयाँ लुगा दिएर कृष्णप्रसादले उसका पुराना लुगा चन्द्रशमशेरलाई पठाएछन् । चन्द्रशमशेरलाई लेखेको चिठीमा भनिएको थियो— सरकारले लगाएको पोसाक र आफ्ना प्रजाको पोसाकको फरक हेर्नका लागि यो पार्सल पठाउँदै छु ।
राणाहरूको विरोधमा बोलेकै कारण उनलाई जेलमै मर्न बाध्य बनाइयो । तर, उनले रोपेको आन्दोलनको बिउ मरेन । कृष्णप्रसादका छोरा बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाका साथै विराटनगरकै रामचन्द्र अधिकारीका छोरा मनमोहन अधिकारीहरूले राणाशासन विरोधी अभियानलाई तीव्र बनाए । विराटनगरमा रहेका जुटमिल केन्द्रित हडतालमा साहसी नारीहरू दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरि लगायतले खेलेको भूमिका महत्त्वपूर्ण छ । त्यस क्रममा दर्जनौँ नागरिकले ज्यान गुमाए । राणाशासन धर्मराउँदै गयो । अन्ततः २००७ साल फागुनमा प्रजातन्त्रको स्थापना भयो । २०१५ सालमा भएको आम निर्वाचनपछि बीपी कोइराला पहिलोपटक जननिर्वाचित प्रधानमन्त्री बने ।
त्यसबेला विराटनगरको बारेमा भनिन्थ्यो, ‘जब विराटनगरले सोच्छ, त्यसपछि मात्रै नेपालले सोच्छ ।’ तर, आज त्यो अवस्था छैन । रूपमा विराटनगर त्यसबेलाको भन्दा विकसित देखिए पनि सारमा विराटनगर निम्छरो भएको छ ।
२०१७ सालमा फेरि प्रजातन्त्र अपहरणमा प¥यो । प्रजातन्त्रको पुनर्बहालीका लागि विराटनगरबाटै ठुल्ठुला आन्दोलन र संघर्ष भए । आन्दोलनकै निरन्तरता स्वरूप २०३० सालमा भएको विमान अपहरण एउटा ठुलो विद्रोह थियो । विमान विद्रोह नेपालको प्रजातान्त्रिक आन्दोलनलाई नयाँ उचाइमा लैजान कोसेढुंगा साबित भयो । जसमा दुर्गा सुवेदी, नरेन्द्र ढुंगेल र वसन्त भट्टराईहरूले गरेको साहसिक कार्यको अहिले पनि प्रशंसा हुने गरेको छ । त्यस्तै सानातिना थुप्रै घटना परिघटनाहरूको संयोग बन्यो, २०४६ सालको आन्दोलन । जसले पञ्चायती व्यवस्था फ्याँकेर बहुदलीय व्यवस्था ल्यायो ।
एक हिसाबले भन्ने हो भने प्रजातन्त्रका लागि भएको आन्दोलनको नेतृत्व विराटनगरले गरेको थियो । साहित्यका क्षेत्रमा बीपीले पु¥याएको योगदान होस् वा कृष्णभुषण बलले गरेका योगदान होस्, अजर र अमर छन् । भाषा र इतिहासका क्षेत्रमा प्रा.डा. बालकृष्ण पोखरेलले गरेको योगदान, मातृकाप्रसाद कोइरालाले कोशी सभ्यताबारे लेखेको पुस्तक होस्, विराटनगर कुनै कुरामा कमजोर थिएन । विराटनगरले आर्थिक क्षेत्रमा पु¥याएको योगदान झनै उल्लेखनीय छ । नेपालकै इतिहासमा जुद्ध शमशेरको पालामा स्थापना भएका विराटनगर जुटमिल्सदेखि, जुद्ध मेच फ्याक्ट्री, रघुपति जुट मिल्स, मोरङ कटन मिल्स, जुट प्लान्ट, चिनी कारखाना र केमिकल्स प्लान्ट लगायत ऐतिहासिक उद्योगबाट थालिएको औद्योगिकीकरणको चर्चा जति गरे पनि कम हुन्छ ।
शैक्षिक क्षेत्रमा उनै कृष्णप्रसाद कोइराला परिवारले स्थापना गराएको आदर्श स्कुल होस् वा बालिका स्कुल हुन्, यी सबै सुधारका प्रयासमा पनि विराटनगर अग्रस्थानमा थियो । विराट राजाको दरबारको ऐतिहासिक सम्पदा भएको विराटनगरका आदिवासीहरूको पहिचान झनै चर्चा गर्न लायक छ ।
त्यही विराटनगर महानगरपालिका भएको छ । यहाँ धेरै सडक पिच बनेका छन् । धेरै विद्यालय बनेका छन् । धेरै उद्योग खोलिएको छ । व्यापार पसलका धेरै सटर छन्, तर इतिहासको विरासत कमजोर बन्दै गएको छ । विचार, साहित्य, राजनीति र कलाको दृष्टिकोणले पनि विराटनगर कमजोर हुँदै छ । वैचारिक बहस र नेपाललाई दिनुपर्ने समग्र दृष्टिकोणमा पनि कमजोर देखिन्छ । आर्थिक क्षेत्रमा पनि विराटनगर शिथिल देखिन्छ । देश संघीयतामा गएसँगै विराटनगर कोशी प्रदेशको राजधानी हुन पुगेको छ, तर हिजो विराटनगरले बोकेको प्रजातान्त्रिक भावना र मर्ममाथि प्रहार भइरहेको छ । यो सब किन भइरहेको छ ?
त्यसबेला विराटनगरको बारेमा भनिन्थ्यो, ‘जब विराटनगरले सोच्छ, त्यसपछि मात्रै नेपालले सोच्छ ।’ तर, आज त्यो अवस्था छैन । रूपमा विराटनगर त्यसबेलाको भन्दा विकसित देखिए पनि सारमा विराटनगर निम्छरो भएको छ । यहाँ वैचारिक दरिद्रता र निराशामा छाएको छ । त्यसबेलाको विराटनगर अहिले मरिसक्यो ? अब विराटनगरले विद्रोह बोल्न सक्दैन ? यसले प्रजातन्त्र र लोकतन्त्रमा आधारित अरु नयाँ विचार दिन सक्दैन ? साहित्य र इतिहासमा योगदान गर्न सक्दैन ? विराटनगरले अब यो विषयमा बहस गर्नुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार