नेपाली कम्युनिस्ट नेताहरू सिद्धान्त छाडेर धर्म–राजनीतिमा किन लोभिए ?
काठमाडौँ । वर्गमुक्ति आन्दोलनमा लागेका नेपाली कम्युनिस्ट नेताहरूमा पछिल्लो समय विचारको विरोधाभास देखिएको छ । नेताहरूको पछिल्लो गतिविधि हेर्दा वर्ग सङ्घर्ष छाडेर धर्म–राजनीतिमा केन्द्रित भएको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्क्सवादी नभइ कुनै एक अमुक धर्मका अनुयायीजस्तै देखिएका छन् । मानिस एक सामाजिक प्राणी भएपछि सामाजिक मूल्य, मान्यता, विश्वास, धर्म वा संस्कृतिसँग आस्था राख्नु स्वाभाविक नै मानिन्छ । तर आफूलाई मार्क्स, लेनिन र माओका सच्चा अनुयायी दाबी गर्ने नेताहरूको विरोधाभास व्यवहारबाट कम्युनिस्ट समर्थकहरू नै आश्चर्यमा परेका छन् ।
कम्युनिस्टहरू नास्तिक हुन्छन्, धर्ममा विश्वास गर्दैनन् भन्ने आम कम्युनिस्ट समर्थकको बुझाइ छ । मार्क्सले व्याख्या गरेका ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादका आधारमा समाजवाद हुँदै साम्यवादमा नपुग्दासम्म समाजमा वर्ग सङ्घर्ष चलिरहने कम्युनिस्ट समर्थकहरू विश्वास गर्छन् । मार्क्सले धर्मलाई अफिमको रूपमा व्याख्या गरेका छन् । उनले बुर्जुवा संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने वा बकवासको समय व्यतीत गर्ने थलो रूपमा व्यख्या गरेका छन् ।
यही मार्क्सवादी सिद्धान्तबाट प्रभावित भएर २०२८ सालमा तत्कालीन माले अर्थात् अहिलेको एमालेले झापा विद्रोह गरेको थियो । त्यसको अगुवाइ वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेका थिए । उनी चार पटक प्रधानमन्त्री भए ।
२०५२ सालमा पुराना संरचना ध्वस्त पारी नयाँ जनवादी सत्ता स्थापना गर्न तत्कालीन राज्यसत्ताविरूद्ध नेकपा माओवादीले सशस्त्र विद्रोह ग¥यो । त्यसको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक प्रधानमन्त्री भए । यी दुवै नेता वर्गशत्रु सफाया अभियानका लागि राज्यसत्ताविरूद्ध सशस्त्र विद्रोहमा होमिएका थिए ।
२०३० सालमा पञ्चायती शासकले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरेको थियो । झापा विद्रोहका अगुवा ओलीसहित, सीपी मैनाली, आरके मैनालीलाई पक्राउ गरेपछि विद्रोह तुहिएको थियो ।
१० वर्षसम्म सञ्चालन भएको माओवादी सशस्त्र विद्रोह २०६२ सालमा भएको १२ बुँदे सहमतिपछि टुङ्गियो । यी दुवै आन्दोलन मार्क्सले प्रतिवादन गरेको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, मार्क्स र लेनिनले प्रतिपादन गरेको कम्युनिस्ट घोषणापत्रबाट प्रभावित थियो ।
विश्व कम्युनिस्ट नेताहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्क्सवादी दर्शनका रूपमा व्यख्या गर्ने गरेका छन् । ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोणका रूपमा व्यख्या गर्ने गरेका छन् । तर जीवनको उत्तरार्द्धमा ओली र प्रचण्डको राजनीतिक चरित्र हेर्दा मार्क्सवादी सिद्धान्तविपरीत भएको विश्लेषकहरूले व्याख्या गरेका छन् ।
वर्ग सङ्घर्षबाट जनवादी सत्ता स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जाने सपना देखाइएका कम्युनिस्ट नेताहरूको विचारमा विचलन आएको उनीहरू बताउँछन् । नेपाली कम्युनिस्ट नेताहरूको विरोधाभास चरित्रले मार्क्सलाई नै वेवकुफ बनाएको प्रोफेसर कृष्ण खनालले तर्क गरे । सिद्धान्त छोडेर धर्म–राजनीतिमा आकर्षित हुनुको कुनै सैद्धान्तिक व्याख्या हुन नसक्ने उनको विश्लेषण छ ।
‘यसको कुनै सैद्धान्तिक व्याख्या हुन सक्दैन । खासगरी कार्ल मार्क्सलाई नै बेवकुफ बनाउने काम हो यो । मार्क्सको नाममा मार्क्सलाई नै बेवकुफ बनाउने काम भइरहेको छ । यसमा थप विवेचना गर्नु आवश्यक पनि छैन’, रातोपाटीसँग उनले भने ।
शनिबार खोकनामा नेवार समुदायको ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रममा प्रचण्ड दौरा–सुरुवाल र भादगाउँले टोपीमा ठाँटिर पुगेका थिए । आयोजकले लगाइदिएको तिलक–टीकासहित रुद्राक्षको माला धारण गरेका उनले आदिम समुदायबाट सुरू भएको परम्परा साम्यवादसम्म पुग्ने विश्वास व्यक्त गरेका थिए ।
‘सायद आदिम साम्यवादबाट यो परम्पार सुरू भएको होला । मञ्चमा बसिरहँदा यो परम्परा आउने साम्यवादसम्म पुग्नेछ होला भन्दै थिएँ म । मेरो विश्वास छ, समयानुकूल यसलाई थप विकसित र परिमार्जित गर्दै लैजानुहुनेछ’, उनले भनेका थिए ।
यतिमात्र होइन, भारत भ्रमणका क्रममा २०८० जेठ १९ गते मध्यप्रदेशको उज्जैनस्थित महांकालेश्वर मन्दिरमा उनले विशेष पूजा गरेका थिए । सोही क्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरे । प्रचण्डको नयाँ अवतार देखेर धेरैले अनौठो मानेका थिए ।
पूजाअर्चनाले आलोचित भएपछि प्रचण्डले डेढ करोड हिन्दूहरूको आस्थालाई सम्मान गरेको दाबी गरेका थिए । त्यतिमात्र नभइ धर्मप्रति दृढ विश्वास दिलाउन भारतबाट फर्किए लगत्तै उनले २०८० जेठ २७ गते पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका थिए । उनीसँगै तत्कालीन मन्त्रीहरू प्रकाशशरण महत, शक्ति बस्नेत, एनपी साउद, रमेश रिजाल र सुदन किराँतीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।
सधैँ ‘टाइ–सुट’ मा सजिएर हिँड्ने प्रचण्डले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकालमा ‘दौरा–सुरूवाल’ लगाएर निरन्तरताको क्रमभङ्ग गरेका थिए ।
प्रचण्डभन्दा थप अगाडि बढेर सबैभन्दा ठुलो वामपन्थी दलका नेता रहेका प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा राम–सीताको मूर्ति बनाउन लगाएर प्रधानमन्त्री निवास बालुवाटारमा विशेष पूजा गरी सो मूर्ति चितवनको माडीस्थित अयोध्यापुरीधाम पठाएका थिए ।
२०७८ वैशाख ७ गते बिहानै मङ्गल धुनका साथ पूजापाठ गरी धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत ठुलो सङ्ख्यामा सन्त–महन्तहरूको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री ओलीले २०७७ माघ १२ गते पशुपतिनाथ मन्दिरमा विशेष सङ्कल्प पूजा गरी सवा लाख दीप प्रज्वलन गरेका थिए ।
ओली–प्रचण्डको सिको गर्दै कम्युनिस्ट अन्य नेताहरू समेत धर्म–राजनीतितर्फ आकर्षित हुन थालेका छन् । धार्मिक कार्यक्रममा जाने, योगपीठमा जाने, सन्त–महन्तहरूसँग सम्बन्ध बढाउने, धार्मिक विधिअनुसार शिल्यान्यास गर्ने, उद्घाटन गर्ने, साइत जुराउने लगायतका काम कम्युनिस्ट नेताहरूलाई सामान्य लाग्न थालेको छ ।
नेपालको कम्युनिस्ट नेताहरू पछिल्लो समय धर्म–राजनीतिमा आकर्षित हुनुमा भूराजनीतिक कारण पनि हुन सक्ने केही विश्लेषक बताउँछन् । छिमेकी मुलुक भारतमा भाजपा नेतृत्वको सरकार छ । भाजपा हिन्दुवादी दल मानिन्छ । त्यसैले भारत सरकारसँग नजिकिन पनि नेपालका नेताहरूले धर्मलाई एउटा माध्यम बनाएको हुनसक्ने विश्लेषकको तर्क छ ।
हिन्दु धर्मको कट्टर पक्षपोषक भाजपाका नेता नरेन्द्र मोदी धर्मको आडमा तीन पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । नेपालमा पनि बहुसङ्ख्यक जनता हिन्दु धर्ममा आस्था राख्ने भएकाले आगामी चुनावी अङ्कगणितलाई मध्यनजर गरी कम्युनिस्ट नेताहरू धर्म–राजनीतिमा लागेको हुन सक्ने विश्लेषण गरिएको छ ।
कारण जेसुकै भए पनि कम्युनिस्ट नेताहरूमा विचलन आउनुमा फिलोसोफिकल कन्सिटेन्सी (दार्शनिक निरन्तरता) नहुनु प्रमुख कारण रहेको माआवादी केन्द्रका सचिव राम कार्कीको बुझाइ छ । उनी अध्ययन र व्यवहारले निरन्तर एउटै मान्यतामा बस्न दर्शन चाहिने तर्क गर्छन् । सबै कम्युनिस्ट चुनावी पार्टी भएकाले आफ्नो कमजोर धरातललाई बचाइराख्न धर्मको सहारा लिने गरेको कार्कीको बुझाइ छ ।
‘कम्युनिस्ट नेताहरूमा विचलन आउनुमा एउटा फिलोसोफिकल कन्सिटेन्सी भएन । अध्ययन र व्यवहारले मात्रै निरन्तर रूपमा एउटै मान्यतामा बस्न फिलोसोफी चाहिन्छ । नेपाली नेताहरूमा दार्शनिक निरन्तरता भएन । सबै कम्युनिस्ट पार्टी चुनावी भए । यसमा आफ्नै कमजोर धरातल, कमजोर दार्शनिक पकड, चुनावदेखि चुनावसम्म बाहेक अन्य कुनै कार्यक्रम पनि छैन । जनतालाई जगाउने कुनै कार्यक्रम छैन’, उनले भने ।
अहिले पनि रजस्वला हुँदा गोठमा बस्नुपर्ने चलन कायमै रहेको, सांस्कृतिक र अन्य संरचनागत कार्यक्रम पनि नहुँदा सिद्धान्तमा जनतालाई जगाउन नसकिएको उनको भनाइ छ । कम्युनिस्ट नेताहरू धर्म–राजनीतिमा लाग्नुको कारणबारे थप व्याख्या गर्दै उनले भने, ‘यहाँका असङ्गठित मजदुरहरू, किसानहरूको पक्षमा आन्दोलन भएका भए ऊर्जा दिन्थ्यो । मान्छेलाई आकर्षित गर्नेभन्दा तिजमा सहभागी हुने, चाडबाडमा चन्दा दिने, देखा पर्ने, देवीदेवताका मन्दिरहरूमा पूजा गर्ने काम हुन थाल्यो । जनयुद्धको उद्देश्य यो थिएन । यसलाई विचार र सिद्धान्तमा आएको विचलन भन्न मिल्छ ।’
कार्कीले समाजमा दुई खालका नेता हुने स्पष्ट पारे– एक राजनेता, अर्को चलनचल्तीको नेता । यी दुई नेताबिच देखिने भिन्नताको सम्बन्धमा उनले रोचक तरिकाले व्याख्या गरे ।
‘चलनचल्तीका नेता जनताका पछि लाग्छन् । भिडले जे गर्छ, त्यही गर्छन् । राजनेता जनताका अघि लाग्छन् । जनता अन्धविश्वासी छन् भने उनीहरूलाई विज्ञान र प्रविधिको चेतना दिएर, सम्झाएर डो¥याउँछन् । भिडलाई आफूतर्फ खिच्छन् । चलनचल्तीका नेताहरू चुनाव जित्नमात्र प्रयोग हुन्छन् । गडबड यहीँबाट सुरू भएको छ’, कार्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो