बजेटमा भागबन्डा नमिल्दा पर्साका पाँच वटा पालिकामा अझै हुन सकेन नगर परिषद्

वीरगन्ज । बजेटमा भागबन्डा नमिल्दा पर्साका पाँच वटा पालिकामा अझै नगर परिषद् हुन सकेको छैन । मेयर र वडाध्यक्षसहित पालिका सदस्यहरूबिच बजेट रकममा भागबन्डा नमिल्दा नगर परिषद् प्रभावित बनेको हो ।
संवैधानिक प्रावधान अनुसार ३० असारभित्र नै पालिकाहरूले आ–आफ्नो नगर परिषद् गरिसक्नु पर्ने हो । तर जिल्लाको बहुदरमाइ नगरपालिका, विन्दवासिनी, धोबनी, कालिकामाइ र पकहामैनपुर गाउँपालिकामा अझ नगर परिषद् हुन नसकेको हो ।
पाँच वटै पालिकामा प्रमुख/अध्यक्ष र वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरूमा बजेट बाँडफाँडमा मतभेद भएपछि नगर परिषद् प्रभावित भएको जनाइएको छ ।
बहुदरमाइ नगरपालिकाको नगर परिषद् अझ अन्योलतामै रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । मेयर र वडाध्यक्षहरुबिच चर्को विवाद उत्पन्न भएपछि नगर सभा अनिश्चित बन्दै गएको छ ।
नगर प्रमुखले नै बजेट तथा योजनामा मनोमानी गर्न थालेपछि नगर परिषद् हुन अनिश्चित बनेको बताइन्छ । मेयर सिंघासन साह तेलीको मनपरीले नगर परिषद् हुन नसकेको वडाध्यक्षहरुको गुनासो छ ।
बहुदरमाइ नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दिनेश यादवले मेयरले पालिकामा मनपरी बजेट राख्न खोजेपछि विवाद चर्किएको बताए ।
त्यही विवादको कारण नगर परिषद्मा असर पुगेको उनी बताउँछन् । उनले भने, ‘मेयरले आफ्नो आसेपासेका अनुसार बजेट राख्न खोजिरहेका छन्, वडाध्यक्षहरुसँग कुनै तालमेल नगरीकन । वडाध्यक्षहरुको योजनालाई पनि बेवास्ता गर्न खोजेपछि विवाद चर्किएको हो । मेयर साहेबको मनपरी अन्त्य नभएसम्म हामी सहमति गर्दनौं ।’ उनका अनुसार वडाध्यक्ष पनि जनतप्रतिनिधि नै हुन, जनताबाट चुनिएर आएका हुन् ।
उनले भने, ‘हामीले पनि मेयरसाहेब जस्तै जनताको विकासका लागि काम गर्नुपर्छ, काम गरिएन भने जनताले हामीलाई छाड्दैनन् । तर मेयर साहेबले त्यसको परवाह छैन, आफ्नै मनपरी छ । मूलतः यही कारण हो विवादको ।’
यसैगरी विन्दवासिनी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुबिच तालमेल नमिल्दा नगर परिषद् हुन सकेको छैन ।
वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मीले गत वर्षको हिसाबकिताब माग गर्दा जानकारी नदिएपछि विवाद चर्किएको सुनाए ।
धोबनी गाउँपालिकामा पनि मेयर र वडाध्यक्षहरुबिच बजेट बाँडफाँडमा मतभेद भएपछि नगर परिषद् प्रभावित बनेको पालिका सदस्यहरूको गुनासो छ । गाउँपालिकाका अध्यक्ष चौहानले पनि वडाध्यक्षहरुसंगको मतभेदका कारण नगर परिषद् रोकिएको बताए । तर त्यसका लागि छलफल भने भइरहेकोले चाँडै परिषद् हुने उनको भनाइ छ ।
यता पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले पनि आफ्नो नगर परिषद् हुन नसकेको स्वीकारे । भागबन्डामा सहमति नमिल्दा नगर परिषद् भाँडिएको उनको स्वीकारोक्ति छ ।
त्यसैगरी कालिकामाइ गाउँपालिकामा पनि नगर परिषद् हुन सकेको छैन । कर्मचारीको विवाद देखाएर गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार र वडाध्यक्षबिच चर्को विवाद चुलिएपछि नगर परिषद् हुन नसकेको बताइए पनि वास्तविकमा भने आपसी तालमेल नमिल्दा नगर परिषद् रोकिएको पालिकाका सदस्यहरू बताउँछन् ।
गाउँपालिका प्रमुख कुमारले भने अहिले पालिकामा विभिन्न विषयमा विवाद भएकोले गर्दा नगर सभा नभएको बताए । तरपनि सबै विवाद सुल्झाएर चाँडै परिषद् गर्न लागिएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोर्कापण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल