सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एमाले कमजोर बन्यो कि बालेन बलियो ?

सोमबार, २४ भदौ २०८१, ११ : ३५
सोमबार, २४ भदौ २०८१

केही समययता सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिचको रस्साकस्सी निकै आक्रामक बनेको छ । काठमाडौँको मेयरमा निर्वाचित भएपछि ओलीलाई भेट्न बालेन स्वयं बालकोट गए । त्यो भेट सम्मानजनक थियो होला । तबला लिँदा र दिँदाको हार्दिकताले फरक सन्देश विचरण गरेको थियो । तर उक्त सामीप्यता अहिले खण्डहर बनेको छ । 

बा र बालेन एकअर्काप्रति भ्याएसम्म शब्दका फायरिङ खोलिरहेका छन् । एमाले सांसद रेखा शर्माको प्रसंग, गिरी–बन्धुमा पैसा लिएको भन्ने आशयको स्टाटस, सत्ता समीकरणमा टिप्पणी, सडक विभागको ढोकामा फोहोर फालेको प्रसंगमा कटाक्षेप, सुकुमबासी व्यवस्थापन, धरहराको पार्किङ लगायत अनेकौँ विषयमा सार्वजनिक आरोप तथा प्रत्यारोप चलिरहेको छ । केही दिनअघि त सामाजिक सञ्जालमा बालेनका समर्थकले ओलीलाई र ओलीका समर्थकले बालेनलाई अनफलो गर्ने होडबाजी चल्यो । यी परिस्थितिले यो पंक्तिकार लगायत थुप्रै अध्येतालाई अनेकौँ प्रश्न निर्माण गरेको छ । विगतमा अन्य केही अवाञ्छित र अनुचित सन्दर्भले पनि कहिलेकाहीँ यो पंक्तिकारलाई दुविधा हुने प्रश्न जन्माएका थिए ।

  • दुविधाजन्य प्रश्न 

ठमेल क्षेत्र आसपासमा एकपटक बाटोमा हिँड्दै गरेका यात्रुलाई ट्याक्सीले ठक्कर दियो, उल्टै ठक्कर दिने ट्याक्सी कुच्चिएपछि यात्रुसँग क्षतिपूर्ति मागिएको थियो रे । यो चाहिँ सुनेको मात्र हो । तर प्रश्न उब्जिएको थियो, मान्छे बलियो थियो कि ट्याक्सी कमजोर ? 
केही वर्षपहिले दुधकोसी खोलामाथि बनेको एउटा पुल हावाले भत्कायो । योचाहिँ कुनै समाचारमा पढेको पनि हो । प्रश्न उब्जियो, हावा बलियो कि पुल कमजोर ? 
अघिल्लो वर्ष एउटा पार्टीमा जाँदा त्यहाँका सहभागीमध्ये एक गिलास कोक लिएको मानिसले तीन प्याक ह्विस्की पिइसकेको र पिइरहेको मानिसलाई मन्त्रमुग्ध हुने गरी गफ चुटिरहेको देखियो । अनि प्रश्न उब्जियो, कोक कडा र ह्विस्की कमजोर ? 
भारतमा नरेन्द्र मोदी प्रथमपटक सुविधाजनक बहुमतसाथ प्रधानमन्त्री निर्वाचित भएपछि यो पंक्तिकार स्वयंले एक अन्तर्राष्ट्रिय सम्मेलनमा चर्चा गरेको थियो— मोदीले जितेको कि राहुल गान्धीले हारेको ?
अहिले यस्तै एउटा प्रश्न उब्जिएको छ, बालेन बलियो भएका हुन् कि एमाले कमजोर बन्दै गएको हो ? 

बा र बालेन एकअर्काप्रति भ्याएसम्म शब्दका फायरिङ खोलिरहेका छन् । एमाले सांसद रेखा शर्माको प्रसंग, गिरी–बन्धुमा पैसा लिएको भन्ने आशयको स्टाटस, सत्ता समीकरणमा टिप्पणी, सडक विभागको ढोकामा फोहोर फालेको प्रसंगमा कटाक्षेप, सुकुमबासी व्यवस्थापन, धरहराको पार्किङ लगायत अनेकौँ विषयमा सार्वजनिक आरोप तथा प्रत्यारोप चलिरहेको छ ।



एउटा स्वतन्त्र व्यक्ति र महानगरको मेयरसँग एउटा स्थापित पार्टीको अध्यक्ष तथा देशको प्रधानमन्त्रीले किन पौँठेजोरी खेल्नुपर्छ ? किन भयभीत हुनुपर्छ ? किन सवाल–जवाफ गर्नुपर्छ ? सामाजिक सञ्जालमा वाद/प्रतिवादमा उत्रनुभन्दा नागरिक सेवामा तल्लीन रहनुले चाहिँ परिपक्व राजनीतिक अभ्यास देखाउँछ होला ! यद्यपि सामाजिक सञ्जाल अबको राजनीतिमा महत्त्वपूर्ण हतियारचाहिँ हो ।

बाराक ओबामाले प्रथमपटक राष्ट्रपति निर्वाचित भएपछि स्मार्ट फोन निर्माण गर्ने व्यक्तिलाई फोनमार्फत नै धन्यवाद भनेका थिए । किनकि त्यो फोन अथवा त्यसमा चल्ने सामाजिक सञ्जालले उनको विजयी यात्रा सुनिश्चित गर्न ठुलो योगदान गरेको थियो । आजको समयलाई ‘गभर्मेन्ट इन् पकेट’ भनिन्छ । सबैको खल्तीमा यस्तो उपकरण छ, जसले सरकारका बारेमा थाहा पाउने र सरकार बनाउने वा भत्काउने हैसियत राख्छ । ‘लाइक वार : वेपनाइजेसन अफ सोसल मिडिया’ नामक पुस्तकले सामाजिक सञ्जाल अबको राजनीतिक हतियार भएको निष्कर्ष निकालेको छ । पछिल्लो राजनीतिक माहोलको नेतृत्व निर्माण अनि बालेनको उदयमा समेत सञ्जालको हात महत्त्वपूर्ण देखिएको छ । एमाले र बालेनको वाक्युद्घको तुलनात्मक अध्ययनमा केही सन्दर्भ सहयोगी हुन सक्छन् ।

  • सहयोगी सन्दर्भ 

गएको निर्वाचनमा एमाले पार्टीले पाएको जम्मा सिट अघिल्लो निर्वाचनको तुलनामा केही घट्यो । ‘मिसन ग्रास रुट’मा भएको सदस्यता नवीकरणको संख्या पनि निराशाजनक देखियो । २०७४ भन्दा २०७९ को निर्वाचनमा लोकप्रिय मत समेत पाँच लाखभन्दा बढीले घट्यो । प्रतिनिधिसभाको पहिलो उपनिर्वाचनमा एकजना पनि प्रतिस्पर्धी विजयी भएनन् । काठमाडाँै महानगरको चुनावमा एमालेकै उम्मेदवारलाई बालेनले फराकिलो मतान्तरले पराजित गरेका हुन् । एमाले गढ भत्किएको पनि हो । 

सामाजिक सञ्जालमा पनि बालेनका २१ लाख आसपास र ओलीका ६ लाख आसपास फलोअर्स देखिन्छन् । तर के एउटा महानगरको प्रमुखसँग नै यसरी थुर्थुर हुनुपर्ने गरी खण्डहर भएको छ र एमाले ? हिजो व्यवस्थाका विरुद्घ, सामन्तवादका विरुद्घ लडेकोे एमाले व्यक्तिका विरुद्घमा किन छ ? कतै बालेनको सत्तोसराप गर्ने नाममा एमाले प्रतिगमनमैत्री हुँदै गएको त होइन ? बालेनसँगको वाक्युद्घ उसकै लागि अहितकारी बन्दै त छैन ? 

सिङ्गापुर र स्विट्जरल्यान्ड बनाउने भन्ने नेताहरूले नेपाललाई दक्षिण एसियाकै गरिब देश बनाइसकेछन् । एउटा राजनीतिक दलको चिन्ता त यतातिर पो हुनुपर्ने होला, तर एउटा स्थानीय तह र यसको प्रमुख किन उसको प्रधान शत्रुजस्तो देखिँदै छ ? बालेन एक्लै बलियो भएर एमाले बराबर अथवा एउटा राष्ट्रिय पार्टी, देशको सत्ताको नेतृत्वकर्ता शक्ति, सरकार प्रमुख बराबर भएका हुन् ? कि एमालेचाहिँ खस्किएर एउटा व्यक्ति, एउटा स्थानीय तह बराबरमा झरेको हो ? निर्मम समीक्षाको घडी आएको छ । 

एमालेले साँच्चै गल्ती गरेको छैन, केही कमजोरी गरेको छैन, बालेनले भनेका कतिपय आरोपमा एमाले सम्मिलित छैन भने देशका मुख्य विषयमा चाहिँ उसको ध्यान जाओस् । देशको विकास भएको छ कि छैन ? देश बस्न लायक छ कि छैन ? विदेश जानेहरूको लर्को किन बढेको छ ? निकट भविष्यमा देशको अवस्था सहजता अथवा असहजता उन्मुख के हुन्छ ? भ्रष्टाचार गरेको छैन भनेर कोही कुनै ओहोदामा बसेको मानिसले भन्दा उसप्रति किन विश्वास जाग्दैन ? देशमै बसेर केही गर्नुपर्छ भन्ने विश्वास र संकल्प बोकेको मानिसलाई कुनै काम दिएर सरकारी अफिसमा पठाइदिएपछि बेलुका फर्कंदा ऊ यो देशमा बसेर काम छैन भन्ने सोच निर्माण गरेर किन आउँछ ? सेवाप्रवाह र सेवाग्राहीमाथिको सरोकारवाला निकाय अनि नियामक व्यक्तिको आचरण तथा सोच नोकरशाही पद्घतिको किन छ ? उत्पादन, आत्मनिर्भरता अनि निर्यातमा हामी अति धेरै जीर्ण भइसक्यौँ, कसरी यसलाई सबल बनाउने ? एमाले जतिको पार्टी र ओलीजतिको प्रधानमन्त्रीको ध्यान यी कमजोरी ठेगान लगाउन हुनुपर्छ कि बालेनसँग टकराब र कुस्ताकुस्ती गर्न ?

बालेन एक व्यक्तिले गर्दा सिंगो पार्टी हल्लिनुपर्र्ने ठाउँमा आइपुगेपछि अब एमालेले कहिले देशका यी जल्दाबल्दा समस्याका बारेमा दिमाग खियाउने ? प्रतिस्पर्धीलाई कमजोर नसम्झनु भन्ने त राजनीतिक प्रशिक्षणका बेला आम नेता तथा कार्यकर्तालाई भनिएको होला । तर युद्घ कौशल र तयारी प्रतिस्पर्धीको तह अनि हैसियतको मात्र हुनुपर्छ होला ! एक मेयरका विरुद्घ एक प्रधानमन्त्री, केवल एक व्यक्ति विरुद्घ पूरै एउटा पार्टीको अवस्थाले चाहिँ शंकाको अजङ्ग पहाड बनाएको छ । एमालेले आत्मविश्वास गुमाएको हो कि भन्ने प्रश्न जन्माएको छ । व्यक्तिसँग त्रसित हुनुपर्ने गरी धराशायी भइसकेको हो त भन्ने दुविधा उत्पन्न भएको छ । अब नागरिकले अरुलाई नै पत्याउन थाले भन्ने ज्ञात भएकाले चिन्तित भएको हो कि ? 

हुन त विदेश भ्रमणमा जानुपर्ने कार्यक्रम भएका विश्वविद्यालयका एकजना उपकुलपतिलाई तत्काल भ्रमण नगर्नु भन्न नसकेर स्वयं कुलपतिले आफ्नो कार्यालयमा बोलाएर बन्धक बनाई समय गुजारिदिएको नजिर भएको पार्टी पनि हो एमाले । 

यो पंक्तिकार बालेन वा ओली दुवै वा कुनै पक्षको पक्षपोषणमा कदापि छैन, उनीहरूबीच असहमति र बेमेलता बढोस् भन्ने चाहँदैन । आपसी अहंकार र अभिमानले देशमा अर्को द्वन्द्व सिर्जना गर्न सक्छ भन्नेमा सजग छ । यद्यपि एमालेले आफैँलाई यति कमजोर महसुस गरेकामा अथाह दुखित छ । लोकतान्त्रिक व्यवस्थामा दलहरू कमजोर हुनु समग्र प्रणालीमाथिको खतराको घन्टी हो । एमाले एक सशक्त दल बनोस् । बालेनको विरोधलाई उपलब्धि मान्ने होइन, करोडौँ जनताको पक्षमा काम गर्ने लोकतान्त्रिक शक्ति बनोस् । कमजोर नदेखियोस् र नबनोस् । बालेन र बा दुवै सञ्जालमा सशस्त्र बन्ने होइन, क्षेत्राधिकार भित्रका नागरिकका सेवामा समर्पित र समाहित बनून् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप