संयुक्त राष्ट्रसङ्घको महासभा भोलीदेखि

न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य ’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलीदेखि सुरु हुँदैछ ।
राष्ट्रसङ्घको महासभा भोलीदेखि सुरु हुनेभए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४मा हुने कार्यतालिकामा उल्लेख छ ।नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ ।
विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् ।
यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ ।
नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए÷गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण
-
तीनकुने घटना : मानव अधिकार आयोगको मौनता