शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कारागार

जेलमा उनी भेट्न आउँदा भक्कानिन्थेँ

आइतबार, २३ भदौ २०८१, २० : ०५
आइतबार, २३ भदौ २०८१

जीवनमा कहिले नसोचेको घटना पनि घट्दो रहेछ । ‘वान एक्स बेट’ प्रचारको आरोपमा म पक्राउ पर्नु त्यस्तै एक घटना हो । यो मेरो जीवनको सबैभन्दा दुःखदायी घटना । मबाट अन्जानमा भएको कामले ठुलो सबक सिकायो ।

‘वान एक्स बेट’ प्रचारको आरोपमा २८ दिन हिरासत नै (जेल) बस्नुपर्‍यो । ती दिन मेरो जीवनकै कालो दिन थिए । ‘वान एक्स बेट’ अनुसन्धान भन्दै म लगायत ११ जना पक्राउ पर्‍यौ । प्रहरीले राखेपछि धेरैले जेल नै भन्दा रहेछन् । जेल, हिरासत, प्रहरीको कस्टडी जे भनेपनि एउटै हो क्यार ।

२८ दिनमा, पहिलो दिन दरबारमार्ग प्रहरीमा राखियो । त्यो एक दिनको अनुभव भुल्दै नसक्ने छ । त्यहाँ उडुसले झन्डै सिध्याएको थियो ।

दोस्रो दिनबाट महानगरीय प्रहरी परिसर टेकुमा राखियो । जतिबेला म पक्राउ परे, त्यो समय कलाकार, नेता, बलात्कारी, साइबर अपराध, ज्यानमुद्दा सबै अपराधमा पक्राउ एकैठाउँमा राखियो । अहिले त माइतीघरमा अपराध र वर्ग हेरेर फरक फरक राख्ने ठाउँ बन्यो रे ।

प्रहरीले जुनदिन म लगायतका साथीभाइ पक्राउ भनेर समाचार आयो, वास्तवमा हामी पक्राउ परेका थिएनौँ । त्यो दिन हामी सिरियल ‘हल्का रमाइलो’को काभ्रेको साँगा चोकमाथिको गाउँमा सुटिङ गर्दै थियौ । प्रहरीबाट बोलावट आयो, सुटिङ छाडेर पुग्यौँ ।

सुटिङ छ, अहिले आउन भ्याउँदैनौ, भोली आउँछौ भन्दा प्रहरीले हुँदैन, कि आउनु, होइन भने भ्यान लिन पठाउँछु भन्यो । हामी डराएर सुटिङ युनिटलाई त्यही छोडेर तत्काल हाजिर भयौ । प्रहरीलाई सोध्यौ, ‘कति समय लाग्छ । सुटिङ युनिट पर्खिरहेको छ, छिटो जानुपर्छ’ । प्रहरीले भन्यो, ‘पर्खनुस्, युनिट भए फर्काए हुन्छ । ढिलो पनि हुनसक्छ ।’ म हुँदैन भन्दै थिए । प्रहरीले एकछिन, एकछिन भन्दै ३, ४ घण्टा बितायो । अनि पक्राउ पुर्जी थम्यायो । मोबाइल पनि नियन्त्रणमा लियो ।

तब हामीलाई हामीलाई थाहा भयो ‘वान एक्स बेट’को  विज्ञापनको कारण प्रहरीले पक्राउ गर्‍यो । त्यो समयसम्म मलगायत टिमलाई ‘वान एक्स बेट’ बजाउन हुन्न भन्ने थाहा नै थिएन । ‘वान एक्स बेट’मा पनि बिइटी र बिएटी भन्ने दुईवटा पो रहेछ । बिइटी भन्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको क्रिकेट खेलको मुख्य प्रायोजक थियो । हामीले बजाएको फरक बिएटी रहेछ । फरक छुट्याउन नसक्दा दुःख पाउनुपर्‍यो ।

हामीलाई जसले विज्ञापन दियो । त्यसले यो इलिगल होइन, भारतमा पनि राम्रो चलेको छ भन्यो । अहिले पनि इन्डियाको लिगमा त्यो विज्ञापन देख्दै आएका थियौ । नेपालको खेलाडीले इन्डियामा खेलेका खेलमा पनि ‘वान एक्स बेट’ले स्पोन्सर गरेको देखिन्थ्यो ।

‘वान एक्स बेट’को विज्ञापन युट्युबमा मात्र हालेका थियौ ।  युट्युब संसारभर जाने भएकोले विज्ञापन दिएको भन्ने लाग्थ्यो । विज्ञापन बजाएको २ महिना भएको थियो । पैसा भने आएको थिए ।

हामी भन्दा अघिल्लो दिन यसका मुख्य दोषी दिनेश खड्का र अनिता धिताल पक्राउ परेका रहेछन् । हामीलाई पनि अदालतमा प्रहरीले हिजोको मुद्दामा मिलान भनेर उहाँहरूकै मुद्दा जोड्यो । दिनेश र अनिताले गरेको ७२  करोडको कारोबार हाम्रो भनेर प्रचार भयो । त्यो झुट थियो ।

त्यो झुटले तनाव सुरु भयो । न हाम्रो मोबाइलमा ‘वान एक्स बेट’ डाउनलोड थियो, न अन्य केही । पैसा पनि पाएको थिएन । ‘हाम्रो सिरियल विज्ञापनले चल्ने हो । विज्ञापन सोचेर हाल्यौ । हामीले त्यो विज्ञापन नेपालमा बजाउन पाइन्छ, कि पाइँदैन भनेर सोचेनौ’ प्रहरी बयानमा भन्यौ, ‘नेपाली कानुन राम्रोसँग बुझेका पनि थिएनाैँ ।’

त्यसपछि मैले बुझे मानिसले सबैभन्दा ध्यान दिनुपर्ने कुरो नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रम रहेछ । नेपाल प्रहरीको पेज पनि छ । त्यो पेज फलोगर्नुपर्दाे रहेछ । त्यो पेजमा विज्ञापन इलिगल भनेर धेरै पहिले राखिएको रहेछ । त्यो मैले थाहा पाइन । मेरो गल्ती त्यहाँ भयो ।

जीवनमा एकपटक जेल राम्रो 

हुन त, यो कुरोको अर्को अनर्थ लाग्ला, ‘जीवनमा एकपटक मानिस जेल जानुपर्ने रहेछ’ । जेल परियो भने जीवन के हो । हामीले गर्न नहुने सबै थाहा हुँदो रहेछ । सफा मनले कसैको सामान पनि केही पुर्‍याइदिन नहुने रहेछ । त्यस मार्फत पनि मानिसले फसाउन सक्दोरहेछ । प्लेन यात्रामा गुन्द्रुक, सुकुटीलगायत कतिपय देशमा लैजानु हुँदैन । 

कसैसँग रिस उठेको छ भने, त्यो मानिसले सजिलै फसाउन सक्ने, ब्ल्याक मेलिङबाट बच्चे, फेसबुक, टिकटक लगायतका कोड कसैलाई पनि दिनु नहुने लगायत धेरै कुरो सिकाउँदो रहेछ । नेपालको कानुन सबैले सिक्नुपर्ने रहेछ । गल्तिभएपछि कानुन जान्दिन भनेर उन्मुक्ति नमिल्दो रहेछ । आफू फसेपछि थाहा पाए ।

म त सामान्य विज्ञापन बजाएर जेल परे । जुन अपराध हो भन्ने पनि थाहा थिए । जेलमा यो अपराधको १५ वर्ष जेल सजाय भोक्नैपर्छ भनेर जान्दा जाँदै पनि अपराध गर्नेसँग पनि भेट भो । त्यो देख्दा मानिस कस्ता– कस्ता हुन्छन् बुझ्न सके ।

बाहिर जेलमा केही खर्च हुँदैन भन्ने छ । त्यो होइन रहेछ, जेलमा त झन् धेरै खर्च हुँदोरहेछ । त्यहाँ सरकारी र प्राइभेट खाना दुवै पाइदोरहेछ । दिनको एक हजारदेखि १५ सयसम्म खर्च हुँदोरहेछ । त्योपनि खाना, खाजा, र चियामा मात्र ।

160436521_472068570615592_6866759793349456663_n

स्वतन्त्रता बुझेँ

जेल परेका मानिसलाई प्रहरीले यस्तो गर्छ, उस्तो गर्छ भन्ने नकारात्मक हल्ला बाहिर धेरै सुनेथेँ । म कलाकार भएर हो, वा केले । प्रहरीले राम्रो व्यवहार गर्‍यो । जेलमा सुत्न लडाई जितेजस्तै रहेछ । धेरै मानिस, एकै ठाउँमा सुत्नुपर्ने । खुट्टा खम्चाएर सुत्नै नपाइने । खुट्टा सिधा गरेर सुत्यो भने सुत्न पाइयो, खुम्चाउने बित्तिकै अर्कोलाई असजिलो हुनाले कराईहाल्थ्यो ।

भात खाएपछि भाडा धुन लाइन, धमिलो पानीले नुहाउन लाइन, त्यो पनि पालो पाउन मुस्किल । बिहान ५ बजे उठ्नैपर्ने । ४५ मिनेटको नियमित एक्सरसाइज गर्नैपर्ने । साँझ ६ बजे राष्ट्रियगान गाउनुपर्ने नियम । जेल भित्रको लाइफ छुट्टै हुन्छ । घामका झुल्को समेत देख्न नपाइने । एउटै कोठामा के गर्ने ? ।

कलाकार भएकोले मलाई प्रहरीले उनीहरूको डिउटी बस्ने नजिक झ्याल भएको ठाउँमा बस्नसम्म दिन्थ्यो । त्यहाँबाट बाहिर हेर्दा स्वतन्त्र हिँडेको मानिस देख्थेँ , त्यो देख्दा म निकै भावुक हुन्थेँ । मलाई लाग्थ्यो, ‘मानिस आनन्दले हिँड्न, डुल्न र खान पाएको छ । किन दुखी भएर आत्महत्या गर्छ ? ।’ त्यो समय स्वतन्त्रता के हो, जीवन के हो, खुसी कसरी हुनुपर्ने रहेछ सबै कुरोको ज्ञान मिल्यो ।

450627409_1198003658022076_3066922384830108143_n

उनी भेट्न आउँदा..

म जेलमा हुँदा बाहिर मेरा विषयमा तीनवर्ष बस्नुपर्ने हल्ला चलेछ । समाचारहरू पनि राम्रो बनेन । नराम्रा समाचारले घरपरिवारलाई धेरै टचरभयो भनेर चिन्ता लाग्थ्यो । अरूका घरपरिवारले भेट्ने व्यक्तिलाई सम्झाउँथेँ, मेरो उल्टै भेट्न आउनेलाई सम्झाउनुपथ्र्र्याे । भन्थेँ, ‘नआत्तिनु, बाहिर हल्ला भएजस्तो केस होइन मेरो । छिट्टै निस्कन्छु ।’

जेलपर्दा मेरो श्रीमतीको ६, ७ महिनाको गर्भ थियो । सबैभन्दा पीडा त्यही महसुस गरे । सोच्थेँ, ‘उनलाई केयर गर्नुपर्ने समय उनी जेलमा भेट्न आउनुपरेको छ ।’ उनी भेट्न आउँदा भक्कानिन्थेँ । सबैभन्दा धेरै पीडाबोध हुन्थ्यो । त्यो अहिले शब्दमा भन्न सक्दिन । भन्थेँ, ‘ तिमी नआऊ, म छिट्टै आउँछु ।’

पक्राउ परेकै दिनमा बढीमा २४, नत्र २१ दिन बस्नुपर्ने भनिएको थियो । किनभने यस्तो केसमा पहिला भारतका २१ जना परेका रहेछन् । उनीहरू २४ दिन बसेर निस्किएछन् । पक्राउ परेको केही दिनपछि दिनेश खड्का र अनिता धितालको ७२ करोडको केससँग हामीलाई छुट्याइयो । जसले गर्दा सजिलो भयो । ५ हजार धरौटीमा  छुट्न पायौ । केस अहिले पनि अदालतमा छ । अब सकिन लाग्यो । बुबाबाजेले जे परेपनि मुद्दामामिला नजानु भन्थे । किन भन्ने आफूले भोगेपछि बुझेँ । 

नेपालका करिब दुईसय युट्युब च्यानले त्यो समय ‘वान एक्स बेट’को विज्ञापन बजाउँथ्यो । दुःख पाउने म लगायत ११ जना मात्र भयौ । हामी पक्राउ परेपछि धेरैले विज्ञापन हटाएछन् ।

हामी कलाकार भएकाले हामीलाई समात्यो भने समाचार आउँछ । समाचार आएपछि हल्ला हुन्छ । सबैले यस्तो गर्न हुँदैन भनेर थाहा पाउँछन् भनेर हामी निसानामा परेको पनि थाहा भयो ।

452843369_1205373493951759_5291310024528583541_n

ट्याक्सीमा घर तिर

जेलबाट रिहा हुने दिन साथीभाइ, परिवार सबै भेला भएका थिए । रिहा हुँदा साँझको ९ बजिसकेको थियो । हाम्रो भाग्य, अदालतका कर्मचारीको साथले २७ औ दिनमा निस्कन पायौ । त्यो दिन अदालतका कर्मचारीले ढिलोसम्म काम नगर्दिएको भए, तीन दिन लगातार सार्वजनिक बिदा थियो । अर्को ४ दिन जेल बस्नुपथ्र्याे ।

रिहा भएको समय गटेमा मिडिया, साथीभाइ, आफन्त थिए । केहीकाे हातमा फूलमाला र खाँदा पनि थियो । मलाई नमज्जा फिल भइरहेको थियो । राम्रो काम गरेर कैतैबाट आएको भए पो, ती फूलमाला, खाँदा लगाउन सुहाउँथ्यो । केहीले लगाइदिनुभयो, केहीको न लगाई छिटो ट्याक्सी बोलाएर घर तिर लागेँ ।

(कलाकार राजु पौडेल ‘राजु मास्टर’ गत वर्षको जेठमा ‘वान एक्स बेट’ प्रचारको आरोपमा २७ दिन हिरासत पसेका थिए । सोही रातोपाटीका कुवेर गिरीसँग गरेको कुराकानीमा आधारित)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप