आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
माओवादी केन्द्र कोशी प्रदेश परामर्श बैठक

प्रचण्डलाई खबरदारी, खल्तीमा पार्टी नराख्न सुझाव

२०८४ को निर्वाचनमा प्रतिस्पर्धी पार्टी बनाउने प्रचण्डको योजना
आइतबार, २३ भदौ २०८१, १९ : ४५
आइतबार, २३ भदौ २०८१

विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलकामा आइतबारदेखि सुरु भएको छ । सोमबार सकिने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७४ जनाको उपस्थिति छ ।

दिउँसो १२ बजेदेखि सुरु भएको बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकलाई मार्गनिर्देशन मन्तव्य दिएका थिए ।

त्यस क्रममा उनले शान्ति प्रक्रियालाई भाँड्नका लागि दलाल, प्रतिक्रियावादीहरू लागिरहेको बताउँदै क्रान्तिकारी र माओवादी धाराहरूबिच एकताबद्ध हुनुपर्ने र नयाँ लडाइँको लागि तयार रहनुपर्ने विचार राखेका थिए ।

वर्तमान सरकार भ्रष्टाचारीहरूको योजनामा बनेको व्याख्या गर्दै अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिएपछि माओवादीप्रति सहानुभूति बढेको बताए । उनले सुशासनको अभियानलाई अझै सशक्त बनाएर लानुपर्नेमा जोड दिएका थिए ।

प्रचण्डले आफ्नो पार्टी ०८४ सालको निर्वाचनमा मुख्य प्रतिस्पर्धी हुने दाबीसमेत गरे । उनले अब पार्टी निर्माणको काममा लाग्ने भन्दै सरकारतिर आफ्नो ध्यान नभएको बताएका थिए ।

उक्त बैठकमा अध्यक्ष ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी सहभागी छन् । बैठकमा अहिलेसम्म ३६ जनाले बोलिसकेको एक नेताले जानकारी दिए ।

बैठकमा बोल्ने अधिकांशले नेतृत्वको विकल्प खोज्नका लागि विधिको विकास गर्नुपर्ने र विधानको पालना गर्नुपर्ने, जनवादको अभ्यास गरिनुपर्नेमा जोड दिएका छन् । अल्फाबेटिकल लेटरको आधारमा नेताहरूले क्रमैसँग आफ्ना कुरा राखेका छन् । सबैलाई बोल्न पाँच मिनेटको समय दिइएको छ ।

प्रचण्डले पार्टीलाई खल्तीबाट निकाल्नुपर्ने आशय बैठकमा अधिकांश वक्ताले राखेको एक नेताले जानकारी दिए । ‘संगठनात्मक दृष्टिले पार्टी बिग्रियो, भत्कियो, यसलाई संगठननात्मक विधिमा ल्याउनु पर्‍यो, सिस्टममा ल्याउनु पर्यो । खल्तीमा पार्टी राख्नु भएन भन्ने विषय जोडतोडले उठेको छ’, बैठकमा सहभागी ती नेताले भने, ‘चुनवाङ बैठक यता भएका पार्टीका कामलाई संश्लेषण गर्नुपर्‍यो । के आधारमा जनतामा जाने ? अरूभन्दा फरक कसरी हुने ? जनताले कांग्रेस र एमालेकै डालोमा हालिसके भनेर कुरा राखेका छन् ।’

उनका अनुसार जनार्दन शर्माको फरक मत या अन्य नेताले राखेका आफ्ना विचारको विषयमा भन्दा पनि समग्रतामा कुरा आएको छ । ‘फलानो ढिस्काना भन्ने त्यहाँ आएको छैन । सबै विचारलाई रक्षा गरेर जानुपर्छ भन्ने कुरा आएको छ,’ उनले भने ।

यद्यपि अझै पनि नेताहरूले निर्धक्क भएर कुरा राख्न नसकेको एक सहभागीले बताए । ‘फरक विचार राखेकै कारण नेताहरूले विगतमा फरक व्यवहार गरेका थिए । त्यही अनुसार अहिले पनि त्यस्तै होला कि भनेर खुलेर कुरा नराखेको हो कि भन्ने देखियो,’ ती नेताले भने ।

Maobadi (3)

आजको अवस्थामा माओवादी पार्टीको नेतृत्वमा प्रचण्डकै आवश्यकता भए पनि पार्टी र नेतृत्व रूपान्तरण हुनुपर्ने विचार पनि आएका छन् । ‘विचारको विकास गर्नुपर्छ, भद्रगोल संगठन व्यवस्थित गरिनु पर्छ, जनतामा फर्कनु पर्छ । एक्लै चुनाव लड्नु पर्छ आदि विषय जोडले उठेको छ,’ अर्का नेताले भने ।

यस्तै माओवादी पार्टीमा बहस हुने र फरक मत आउने बित्तिकै निषेध वा विभाजन हुन्छ भन्ने परम्परागत भाष्य बदल्नुपर्नेमा पनि नेताहरूले जोड दिएका छन् । ‘अन्तरसंघर्षको उचित व्यवस्थापन गर्न सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ,’ माओवादी पोलिटब्युरो सदस्य समेत रहेका इन्द्रबहादुर आङ्बोले बैठकमा भनेका थिए ।

उनले जनताका बिच आफ्नो श्रेष्ठता साबित गरेर जनप्रतिनिधि बन्ने, कार्यकर्ताको बिचमा वैचारिक श्रेष्ठता हासिल गर्दै पार्टीको नेतृत्व लिनुपर्नेमा जोड दिएका छन् । यस्तै पार्टीको उत्ताधिकारी कसैले बनाएर वा हस्तान्तरण गरेर नहुने भन्दै उनले प्रत्यक्ष निर्वाचन प्रणालीले आफैँ प्रवेश र अन्त्य निर्धारण गर्ने धारणा राखेका छन् ।

आङ्बोले १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र ७५३ वटै स्थानीय तहमा कुनै दलसँग समीकरण र गठबन्धन नगरी चुनाव लड्नुपर्नेमा जोड दिएका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड भने बैठकमा सुरुदेखि नै नेताहरूको धारणा सुनेर बसेका छन् । बैठकको अन्तिममा अध्यक्षसहितका नेताहरूले उठेका प्रश्न र धारणाहरूको विषयमा बोलेर सोमबार बैठक सम्पन्न हुने माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

कोशी प्रदेशको बैठक सकिएपछि मधेस प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको बैठक आयोजना गर्ने माओवादीको तयारी छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप