बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कारागार

सुन्धारा कारागारमा दुई सय कैदीबन्दी आयआर्जनमा

अनिवार्य श्रमको व्यवस्था गर्नुपर्ने माग
आइतबार, २३ भदौ २०८१, १७ : ४६
आइतबार, २३ भदौ २०८१

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कतिपय कैदीबन्दीले कारागारभित्रै आयआजर्नका काम गर्दै आफूलाई आवश्यक खर्च जुटाउने मात्र होइन, घर–खर्च समेत पठाउने गर्छन् । कतिपय कैदीबन्दीले आफूले गरेको आम्दानीबाटै वकिललाई तिर्ने शुल्कको समेत जोहो गर्छन् ।

तीन हजार ८२० कैदीबन्दी रहेको यस कारागारका करिब दुई सय जना कुनै न कुनै उद्यममा जोडिएका छन् । 

कारागार प्रमुख उपसचिव कृष्ण कटुवालका अनुसार, यहाँका कैदीबन्दीले मुढा बनाउने, गलैँचा बुन्ने, मालापोते बनाउने जस्ता काम गर्दै आएका छन् । उनीहरूको काममा आवश्यक कच्चा पदार्थ आफन्तले बाहिरबाट ल्याइदिन्छन् । यस्तो कार्यमा लामो समय सजाय भोगिरहेका कैदीहरू संलग्न हुन्छन् । सीप सिक्न चाहने कैदीलाई त्यहीँ भित्रका सीप सिकिसकेका कैदीहरूले सहयोग गर्छन् ।

‘उत्पादित सामग्रीको किनबेचको व्यवस्था जेलमा आउनेहरूबाटै मिलाइन्छ,’ कटुवालले रातोपाटीलाई भने, ‘कैदी भेट्न आउने आफन्त तथा आगन्तुकहरूले सामान लैजाने गरेका छन् ।’ 

केन्द्रीय कारागारभित्र केन्द्र बन्दीगृह, भद्र बन्दीगृह, महिला बन्दीगृह र बाल सुधारगृह गरी चार ब्लक छन् । त्यसमा कतिपय कैदीहरूलाई नै आन्तरिक प्रशासनको जिम्मेवारी दिइएको हुन्छ । 

भद्र बन्दीगृहका चौकीदार (गोपनीयताका कारण नाम गोप्य राखिएको) का अनुसार, कैदीबन्दीहरू कारागारभित्रै उद्योग मन्त्रालयले सञ्चालन गरेको कपडा उद्योगमा काम गर्न बिहान १० बजे जान्छन् र बेलुका फर्कन्छन् ।

आयआर्जन सम्मिलित हुने कैदीबन्दीले वर्षमा ७२ दिन कैद मिनाहाको सुविधा पाउँछन् । यही कारण कैदीबन्दीहरू कुनै उद्यममा आकर्षित हुने गरेका छन् । 

आयआर्जन सम्मिलित हुने कैदीबन्दीले वर्षमा ७२ दिन कैद मिनाहाको सुविधा पाउँछन् । यही कारण काममा आकर्षित हुने गरेको एक चौकीदारले बताए ।

कारागारभित्रै विद्यालय समेत छ । कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा पढाउने शिक्षकहरूलाई पनि वार्षिक ७२ दिन कैद मिनाहा हुन्छ । उनीहरूले केही पारिश्रमिक पाउँछन् । पढ्न चाहने कैदीहरूलाई निःशुल्क पढाइन्छ ।

पढेलेखेका कैदीबन्दीहरू शिक्षक बन्छन् । कोही मेडिकल पढेर जेल परेकाहरू छन् भने चिकित्सा सेवामा संलग्न हुन्छन् । मेसमा खाना पकाउन पनि कैदीलाई कामदारकै रूपमा लगाइन्छ ।

केन्द्र बन्दीगृहका एक चौकीदार कारागारभित्रको विद्यालयमा पढ्नेहरूको समेत कैद मिनाहा हुर्नुपर्ने बताउँछन् । ‘त्यसो भयो भने जेलमा भएका सबै पढ्छन् । बाहिर निस्किँदा शिक्षित भएर आउँछन्,’ उनले भने । 

यस्तै जेलमा कैदीबाटै नाइके तोकिन्छ, नाइकेको चाहिँ वार्षिक ६० दिन कैद मिनाहा हुन्छ । भाइनाइकेको ४८ दिन कैद मिनाहा हुन्छ । 

  • मासिक कमाइ कति ?

कैदीबन्दीले कति कमाउँछन भन्ने यकिन हुँदैन । उनीहरूको व्यापारमा भर पर्छ । केहीपहिले मुढा तथा पोते बनाउने कैदीले मासिक सरदर आठदेखि १० हजार कमाउँथे, तर अचेल आर्थिक मन्दीका कारण आम्दानी घटेको छ ।

बन्दीगृहका एक चौकीदारका अनुसार कतिपय कैदीबन्दीले आफ्नो कमाइ चियादेखि औषधोपचारमा खर्च गर्छन् । 

पढेलेखेका कैदीबन्दीहरू शिक्षक बन्छन् । कोही मेडिकल पढेर जेल परेकाहरू छन् भने चिकित्सा सेवामा संलग्न हुन्छन् । मेसमा खाना पकाउन पनि कैदीलाई कामदारकै रूपमा लगाइन्छ ।

हालैदेखि बन्दीगृहमा गलैँचा बुन्ने कार्य पनि सुरु भएको छ, यस्तै बिक्री हुन छाडेपछि पोते उन्ने काम रोकिएको छ ।

लामो कैद सजाय तोकिएका कैदीहरू आफूलाई व्यस्त राख्न यस्ता कामतिर लाग्ने गरेका छन् । 

कतिपय कैदीबन्दीहरूले आफूहरूलाई अनिवार्य श्रमको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यसका लागि राज्यले नीति बनाउनु जरुरी रहेको चौकीदारहरू बताउँछन् । 

‘जेलमा अनिवार्य श्रमको व्यवस्था गर्नुप¥यो । आय हुँदा घर–परिवारको आर्थिक अवस्थामा समेट टेवा पु¥याउन सकिन्छ,’ बन्दी गृहका अर्का चौकीदारले भने, ‘काम पनि छैन, त्यत्तिकै बसिराख्यो भने दिमागमा अनेक कुरा खेलाउँछन् । त्यसैले श्रमको व्यवस्था गरिदिनुपर्छ ।’ 

हाल सुन्धारास्थित कारागारमा नौ जना आजीवन कारावासको सजाय पाएका कैदीहरू छन् । उनीहरूलाई अन्य कैदीसरह राखिएको छ । यसले भविष्यमा समस्या निम्त्याउन सक्ने चिन्ता कैदीहरूमा देखिएको छ ।

विभिन्न रोग लागेका र वयोवृद्ध कैदीहरू समेत एकै ठाउँमा छन् । यो अर्को समस्याको विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप