चीनलाई च्याम्पियन बनाएर आज सकिँदैछ १७औँ गृष्मकालीन पारा ओलम्पिक
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी १७औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार सम्पन्न हुँदैछ । १२ दिनसम्म चलेको पेरिस पारा ओलम्पिकको आइतबार भव्य समारोहबिच समापन गरिने स्थानीय आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम दिन आइतबार केही खेलका पदकको मात्र टुंगो लाग्न बाँकी छ । हालसम्म चीन पदक तालिकाको पहिलो स्थानमा आसीन छ । एसियाली राष्ट्र चीनले ९४ स्वर्ण, ७५ रजत र ४९ कांस्य गरी कुल दुई सय १८ पदक जितिसकेको छ ।
पदक तालिकाको दोस्रो स्थानमा आसीन बेलायतले ४८ स्वर्ण, ४३ रजत र ३१ कांस्य गरी कुल एक सय २२ पदक जितेको छ । तेस्रो स्थानमा आसीन अमेरिकाले ३६ स्वर्ण, ४१ रजत र २६ कांस्य गरी कुल एक सय तीन पदक चुमेको छ ।
यसैगरी, २६ स्वर्ण, १७ रजत र १२ कांस्यसहित कुल ५५ पदक जित्दै नेदरल्यान्ड्स चौथो तथा २४ स्वर्ण, २५ रजत र ३८ कांस्यसहित कुल ८७ पदक जित्दै ब्राजिल पाँचौँ स्थानमा आसीन छन् । हालसम्म ६५ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन् ।
बुल्गेरिया, साउदी अरेबिया र पेरुले एक–एक स्वर्ण पदक हात पारेका छन् । पदक तालिकामा ७९ राष्ट्रले आफ्नो उपस्थिति दर्ता गराएका छन् । नेपालका लागि पनि पेरिस पारा ओलम्पिक ऐतिहासिक बन्न पुग्यो ।
यो ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कांस्य पदक जितिन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो नै एकमात्र पदक हो । पलेशाले के–४४ समूहअन्तर्गत महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा कांस्य पदक जितेकी हुन् ।
पेरिस पारा ओलम्पिकको समापन समारोहमा सहभागी खेलाडी र पदाधिकारीहरूले मार्च पास्ट गर्नेछन् । समापन कार्यक्रममा २४ जना कलाकारले आफ्नो प्रस्तुति दिने छन् । पारा ओलम्पिकको आगामी संस्करण आयोजनाको जिम्मेवारी पाएको सहरलाई झण्डा हस्तान्तरण गरिने छ । गृष्मकालीन पारा ओलम्पिकको १८औँ संस्करण अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ ।
पारा ओलम्पिकको १७औँ संस्करणमा एक सय ६८ राष्ट्रका खेलाडीहरुले सहभागिता भएका छन् । पारा ओलम्पिकमा शरणार्थी र टथस्थ खेलाडीहरुको एक–एक टोलीले पनि सहभागिता जनाएका छन् । विभिन्न २२ खेलका पाँच सय ४९ स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताको उद्घाटन समारोह पेरिसस्थित ‘प्लेस डी ला कनकर्ड’ स्टेडियममा भएको थियो भने समापन समारोह स्टेट डी फ्रान्स स्टेडियममा हुनेछ । यही स्टेडियममा एथलेटिक्सका स्पर्धा खेलाइएको थियो । समापन समारोह नेपाली समय अनुसार, सोमबार बिहान ००ः४५ बजे सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले प्रत्येक चार वर्षमा गृष्मकालीन पारा ओलम्पिक आयोजना गर्दै आएको छ । गृष्मकालीन ओलम्पिक खेलकुद सकिएलगत्तै सोही सहरमा पारा ओलम्पिक आयोजना गर्ने परम्परा रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतमा रविले सम्झाए आफ्नो नागरिकता प्रकरण : भने– यो मुद्दा पनि खारेज हुनुपर्छ
-
भूकम्प दैवीप्रकोप होइन, प्राकृतिक प्रक्रिया हो : प्रधानमन्त्री
-
रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने
-
सरकारी जागिर पाउनासाथ पत्नीले राखिन् यस्तो शर्त, पतिले दिए प्रहरीमा उजुरी
-
१.८३ अंकले बढ्यो नेप्से
-
बौधीमाईका मेयरविरद्ध नाराबाजी र प्रदर्शन