पर्यटन क्षेत्रलाई थप चलायमान बनाउनेछु : नवनियुक्त कार्यकारी प्रमुख जोशी
काठमाडौँ । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले आइतबार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पदभार ग्रहण छन् । पदभार ग्रहणपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सीईओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरूप काम गर्नुपर्ने बताए।
‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो । अर्कोतर्फ पर्यटन बोर्ड (पीपीपी) को मोडल हो । निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ । त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यकता हो,’ उनले भने ।
आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले सामूहिक कार्यबाट ती सबै काम गर्न सकिने बताए । उनले आफू कुनै पूर्वाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
सो अवसरमा बोल्दै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए ।
यस्तै कर्मचारी युनियनको तर्फबाट स्वागत गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीको वृत्ति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका ती माग सम्बोधन हुने अपेक्षा गरिएको बताए।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औँ बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम उनलाई ४ वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नवनियुक्त सीईओ जोशीले यसअघि पनि बोर्डको सीईओका रूपमा काम गरिसकेका थिए ।