बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकामा राष्ट्रपतिको चुनाव: पहिलो बहसमा को होला हाबी, ह्यारिस कि ट्रम्प ?

आइतबार, २३ भदौ २०८१, १६ : १०
आइतबार, २३ भदौ २०८१

वाशिङ्टन डिसी । अमेरिकामा राष्ट्रपति पदको चुनावका लागि उठेका उम्मेदवारबीच मंगलबार सेप्टेम्बर १० मा दोस्रो पटक खुला बहस हुँदैछ ।  यस बहसमा पहिलो पटक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस आमनेसामने हुँदैनन् । अमेरिकामा राष्ट्रपतीय बहसलाई टिभीमा ठुलो सङ्ख्यामा मानिसहरूले हेर्छन् । यी बहसले अमेरिकाको भोटिङमा ठुलो प्रभाव पार्ने विश्वास गरिन्छ । कमला ह्यारिस बहसमा माहिर मानिन्छ । तर ट्रम्पले २०१६ र २०२० मा राष्ट्रपतीय बहसमा आफू बलियो प्रतिद्वन्द्वी भएको देखाइसकेका छन् ।

राष्ट्रपति पदको बहस र यसका नियमहरू

सेप्टेम्बर १० मा फिलाडेल्फियामा दुई नेताबिच स्थानीय समय अनुसार राति ९ बजे बहस हुनेछ । यो २०२४ को निर्वाचनको दोस्रो राष्ट्रपतीय बहस हो । यस अघि जुनको बहसमा ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेन एक अर्काको सम्मुखमा थिए । यस बहसमा राम्रो प्रदर्शन गर्न नसकेका बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

मंगलबारको बहस एबीसी च्यानलमा प्रसारण हुनेछ । यसलाई एबीसी न्यूज लाइभ, डिज्नी प्लस र हुलुमा पनि प्रसारण गरिनेछ । यस बहसमा समय सीमा कडाइका साथ पालना गरिएको छ । यसमा प्रत्येक उम्मेदवारले मध्यस्थकर्ताको प्रश्नको जवाफ दिन अधिकतम दुई मिनेट र खण्डन गर्न पनि दुई मिनेट समय पाउनेछन् । बहसको क्रममा अर्को व्यक्तिले बोलिरहेको बेला उम्मेदवारको माइक्रोफोन बन्द गरिनेछ र बहस कक्षमा दर्शकको उपस्थिति रहने छैन । माइक्रोफोन जतिबेला पनि सक्रिय होस् भन्ने ह्यारिसको चाहना थियो । तर पछि उनी यसो नगर्ने नियममा पनि सहमत भइन् । चार वर्ष पहिले अवरोध र झगडाले ट्रम्प र बाइडेनबीचको पहिलो बहस बिग्रिएपछि यो नियम ल्याइएको थियो । बहसको मध्यस्थता एबीसी न्युजमा समाचार कार्यक्रम प्रस्तोता डेभिड मुइर र लिन्से डेभिसले गर्नेछन् ।

के हो ह्यारिसको बलियो पक्ष ?

ह्यारिसले सन् २००३ देखि चुनावी बहसहरूमा भाग लिइरहेकी छिन् । त्यतिबेला उनले सन फ्रान्सिस्कोको जिल्ला अधिवक्ताको प्रतिस्पर्धा जितेकी थिइन् । क्यालिफोर्नियाको महान्यायाधिवक्ता र क्यालिफोर्नियाका लागि अमेरिकी सिनेटरको सफल अभियानका क्रममा पनि उनले बहस मा भाग लिएकी थिइन् । सन् २०१९ मा बाइडेनसँग उनले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदको उम्मेदवारको लागि बहस गरेकी थिइन् । सन् २०२० मा उपराष्ट्रपतिको बहसमा उनले माइक पेन्सको सामना गरेकी थिइन् ।

स्टेजलाई आफ्नो नियन्त्रण राख्न सक्ने खुबी उनले देखाइसकेकी छन् । २०२० को बहसमा उनले अवरोध गरेकोमा पेन्सलाई हप्काएकी पनि थिइन् । ह्यारिससँग अमेरिकी सिनेट र त्यसअघि क्यालिफोर्नियाको अदालतमा अभियोजकको रूपमा बहस गरेको राम्रो अनुभव छ । यी अनुभव ट्रम्पले बहसमा उठाएका मुद्दाहरूलाई खण्डन गर्न लाभदायक हुन सक्छन् । तर, कमला ह्यारिस सन् २०२० मा डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवार बन्न सकिनन् । आयोवामा भएको पहिलो प्रतियोगिताअघि नै उनी सो प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् । नीतिबारे निरन्तर स्थीरता नभएको भनेर उनको आलोचना भएको थियो ।

सेप्टेम्बर १० मा हुन लागेको बहसमा पनि मध्यस्थकर्ताहरूले ह्यारिसलाई उनको नीतिबारे निकै कठिन प्रश्नहरू सोध्न सक्छन् । आफ्नो सार्वजनिक भाषणमा उनी धेरै बोल्ने जस्तो देखिन्छिन् । ‘यो एउटा महत्त्वपूर्ण विषय हो जसको लागि हामीले म्याट्रिक्स लागू गर्नुपर्छ, जसमा आफूलाई समयसीमा अनुसार राख्नु पर्छ ।’ सीएनएनसँगको भर्खरैको अन्तरवार्तामा उनले भनेकी थिइन् । राष्ट्रपतिको बहसमा बोल्ने समयसीमालाई निकै गम्भीरताका साथ लिइन्छ र सीमित समयमा चुनावी अभियानको सन्देश मतदातालाई स्पष्ट रूपमा बुझाउनुपर्छ ।

ट्रम्प कहाँ होलान् बलियो ?

सेप्टेम्बर १० मा हुन लागेको ट्रम्प विरुद्धको बहस ह्यारिसका लागि राष्ट्रपतिको दौडमा सामेल भएपछि सबैभन्दा ठुलो चुनौती हुनेछ । ट्रम्पले सन् २०१६ र २०२० मा दुई वटा राष्ट्रपतीय बहसमा भाग लिइसकेका छन् । उनी निकै जुझारु प्रतिद्वन्द्वी साबित भएका छन् । हिलारी क्लिन्टन विरुद्ध सन् २०१६ को बहसको समयमा उनी मञ्च वरिपरि हिँडेका थिए । क्लिन्टन बोलिरहँदा उनी सीधा पछाडि उभिए । यसबाट हिलारीले असहज महसुस गरिन् ।

सन् २०२० मा पहिलो राष्ट्रपति बहसमा उनले लगातार बाइडेनको कुरा काटिरहे । यो देखेर चिढिएका बाइडेनले चुप लाग्न सक्दैनौँ भनेर चिच्याएका थिए । यस्ता हर्कतहरूले ट्रम्प आफ्ना विरोधीलाई दबाबमा राखेर सबैको ध्यान आफूतिर खिच्छन् । तर ट्रम्प प्रायः बहसहरूमा विषयबाट विचलित हुन्छन् । उनका कतिपय कुरा झुटो भएको दाबी तथ्य जाँचकर्ताहरूले गर्ने गरेका छन् ।

चुनावमा को अगाडि छ ?

गत जुलाईमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचनमा होमिनुअघि मतदाता सर्वेक्षणमा ट्रम्पलाई बाइडेनले पछि पारेका थिए । राजनीतिक विषयको विश्लेषण गर्ने संस्था ‘रियल क्लियर पोलिटिक्स’ले राष्ट्रिय सर्वेक्षणको औसत संकलन गरेको छ । उनका अनुसार उम्मेदवारी दिएदेखि कमला ह्यारिसले तीन अङ्क पाएकी छन् । सेप्टेम्बर ३ सम्म राष्ट्रिय स्तरमा ट्रम्पभन्दा उनी १ दशमलव ९ अङ्क अगाडि थिइन् ।

सन् २०१६ मा चुनावी अभियानका क्रममा हिलारी क्लिन्टनले पाँच अंकको अग्रता लिएकी थिइन् । तर निर्वाचनमा उनले ट्रम्पसँग चुनाव हारिन् । अमेरिकी राज्यमा चुनावलाई राष्ट्रिय चुनावभन्दा बढी महत्त्व दिइन्छ । विभिन्न राज्यको चुनावी नतिजाले इलेक्टोरल कलेजमा उम्मेदवारले कति मत पाउँछ भन्ने निर्धारण गर्छ र इलेक्टोरल कलेजले संयुक्त राज्यको राष्ट्रपति को हुने भन्ने निर्णय गर्छ ।

एरिजोना, जर्जिया, मिसिगन, नर्थ क्यारोलिना र पेन्सिलभेनियालगायत केही ‘स्विङ स्टेट’ उम्मेदवारको जितका लागि निकै महत्वपूर्ण छन् । ती सबैमा प्रतिस्पर्धा निकै कठिन छ । सेप्टेम्बरको सुरुमा, रियल क्लियर पोलिटिक्सले ह्यारिसले मिसिगन र जर्जियामा भएको चुनावमा ट्रम्पलाई उछिनेको र पेन्सिलभेनियामा उनीसँग बराबरीमा रहेको तर एरिजोना र उत्तरी क्यारोलिनामा पछाडि परेको भनेको थियो ।

दुई उम्मेदवारबिच प्रतिस्पर्धा टक्करको भएकोमा राजनीतिक विश्लेषकहरू सहमत छन् । राष्ट्रपतिको चुनाव जित्न उम्मेदवारलाई २७० इलेक्टोरल कलेज भोट चाहिन्छ । हाल भएका सर्वेक्षणहरूले देखाउँछ डेमोक्रेटिक पार्टीले २२६  इलेक्टोरल कलेज भोट पाउने देखाएको छ भने रिपब्लिकन पार्टीले २१९ भोट पाउने देखिएको छ । बाँकी ९३ मत जुनसुकै पार्टीमा पनि जान सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप