नयाँ कप्तानको नेतृत्वमा देखिन सक्छन् आईपीएलका यी पाँच क्लब
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन सुरु हुन अझ केही समय बाँकी छ । तर, आईपीएल सुरु हुनुअघि नै सहभागी टोली, खेलाडी र कप्तानको विषयलाई लिएर विभिन्न चर्चा–परिचर्चा सुरु भइसकेको छ ।
आईपीएल सुरु हुनुअघि खेलाडी खरिद–बिक्रीका लागि मेगा अक्सन हुनेछ । मेगा अक्सनअघि सहभागी टोलीहरुले खेलाडी रिटेन (आगामी सिजनका लागि आफूसँगै राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाड्ने) को सूची सार्वजनिक गर्नेछन् । यसै क्रममा आईपीएलको आगामी संस्करणमा केही क्लबले आफ्नो कप्तान परिवर्तन गर्ने बलियो सम्भावना रहेको समाचारहरु बाहिरिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, खासगरी पाँचवटा क्लबले कप्तान परिवर्तन गर्ने सम्भावना छ ।
समाचारमा जनाइए अनुसार, आगामी सिजनको आईपीएलमा गुजरात टाइटन्सले कप्तान परिवर्तन गर्ने सम्भावना छ । अघिल्लो सिजन शुभमन गिल गुजराज टाइटन्सका कप्तान थिए । हार्दिक पाण्ड्याको स्थानमा गुजरातले शुभमनलाई कप्तान बनाएको थियो ।
तर, शुभमनको कप्तानीमा गुजरातले खासै गतिलो प्रदर्शन गर्न सकेन । अघिल्लो सिजनको आईपीएलमा गुजरात टाइटन्स प्ले–अफ चरणमा पनि पुग्न असफल भयो । गुजराज अंक तालिकाको सातौँ स्थानमा रहेको थियो । त्यसैले यो सिजन गुजरातले कप्तान परिवर्तन गर्ने सम्भावना रहेको बताइएको छ ।
यसैगरी, आगामी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सले पनि कप्तान परिवर्तन गर्ने सम्भावना छ । अघिल्लो सिजन श्रेयस ऐयर कोलकाताका कप्तान थिए । उनकै कप्तानीमा कोलकाताले उपाधि पनि जितेको थियो । यसका बावजुद कोलकाताले श्रेयसलाई कप्तानबाट हटाउने तयारी गरिरहेको दाबी समाचारमा गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, कोलकाताले आगामी सिजनका लागि कप्तान बनाउन सूर्यकुमार यादवसँग छलफल पनि अगाडि बढाइसकेको छ ।
यसैगरी, पञ्जाब किङ्स पनि आगामी सिजनको आईपीएलमा नयाँ कप्तानसहित मैदानमा ओर्लने छ । यसअघि शिखर धवन पञ्जाब किङ्सका कप्तान थिए । तर, धवनले केही समयअघि अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिताबाट सन्न्यास लिइसकेका छन् । त्यसैले पञ्जाब नयाँ कप्तानको खोजीमा छ ।
यसैगरी, आगामी सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्सले पनि कप्तान परिवर्तन गर्ने सम्भावना बलियो छ । अघिल्लो सिजन केएल राहुल लखनउका कप्तान थिए । सन् २०२२ मा आईपीएलमा ‘डेब्यू’ गरेदेखि नै राहुल टोलीका कप्तान रहँदै आएका छन् । अघिल्लो सिजनको आईपीएलका क्रममा केएल राहुल र क्लबका मालिक संजिव गोयन्काबिच केही बिवाद पनि देखिएको थियो ।
सोही विषयलाई लिएर लखनउले आगामी सिजनको आईपीएलमा उनलाई कप्तानबाट हटाउने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
यसैगरी, रोयल च्यालेन्जर्स बैंगलुरुले पनि आगामी सिजनको आईपीएलमा कप्तान परिवर्तन गर्ने सम्भावना छ । अघिल्लो सिजनको आईपीएलमा फाफ डु प्लेसिस बैंगुलरुका कप्तान थिए । तर, आगामी सिजनको आईपीएलको मेगा अक्सनअघि नै बैंगलुरुले फाफ डु प्लेसिसलाई रिलिज गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फास्ट ट्र्याक’ मार्फत विधेयक अघि बढाउने तयारी
-
कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सञ्चालन हुने
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक
-
नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल छ : मन्त्री चौरसिया
-
पर्यटन दशकबाट मुलुकले ठुलो लाभ लिने विश्वास छ : मन्त्री पाण्डे
-
निर्माण सामग्रीका मूल्यवृद्धिदेखि ठुला आयोजनामा भ्रष्टाचार सम्बन्धी उजुरी लेखा समितिमा