किन पक्राउ परे रजनीकान्तको फिल्मका भिलेन ?

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ मा खलनायकको भूमिका निभाएर चर्चामा आएका मलयालम अभिनेता विनायकन पक्राउ परेका छन् । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि विमानस्थलमा हङ्गामा मच्चाएको र इन्डिगोका गेटमा बस्ने कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप छ । अभिनेताले रक्सी पिएर सार्वजनिक स्थानमा अनियन्त्रित बनेर व्यवहार गरेको बताइएको छ ।
अभिनेता विनायकन कोच्चिबाट हैदराबाद पुगेका थिए । उनी त्यहाँबाट गोवा जाँदै थिए । उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी सर्ट फुकालेर विमानस्थलको भुईँमा बसी कर्मचारीलाई कराइरहेको देखिन्छन् ।
घटनापछि विमानस्थलमा उपस्थित सिआइएसएफ सुरक्षा टोलीले विनायकनलाई नियन्त्रणमा लिएर स्थानीय विमानस्थल प्रहरीलाई बुझाएका थिए । यो मामिलामा उजुरी गरेर छानबिन चलिरहेको बताइएको छ ।
पहिला पनि फसेका थिए यस्तै केसमा
यस्तो हर्कत गरेको भन्दै विनायकन समातिएको यो पहिलो पटक होइन । यसअघि सन् २०२३ को अक्टोबरमा केरलाको एर्नाकुलमको एउटा प्रहरी चौकीमा अराजकता फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
त्यसपछि पनि अभिनेतामाथि उनी बस्दै आएको अपार्टमेन्ट कम्प्लेक्समा अशान्ति मच्चाएको आरोप लागेको थियो । यस विषयमा उनीसँग सोधपुछ गरिएको थियो । तर, पछि उनलाई धरौटीमा रिहा गरियो ।
सुपरस्टार रजनीकान्तको गतवर्ष रिलिज भएको ब्लकबस्टर फिल्म ‘जेलर’ मा विनायकन खलनायकको भूमिकामा देखिएका थिए । उनी तस्करको भूमिकामा देखिएका थिए ।
सन् १९९५ मा ‘मन्त्रिकम’ अभिनय यात्रा सुरु गरेका विनायकन ‘कम्मतीपदम’ लगायत अन्य कयौँ फिल्ममा देखिएका छन् ।