शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

एकल हस्ताक्षरमा सहकारीलाई युवा तथा स्वरोजगार कोषको करोडौँ ऋण

आइतबार, २३ भदौ २०८१, ११ : ३७
आइतबार, २३ भदौ २०८१

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकममा बदमासी नै बदमासी भएको पाइएको छ । यतिसम्म कि जसले सहकारीको ऋण स्वीकृत गर्‍यो अनुगमनको पनि उसैले गरेको पाइएको छ । यस्तै एकल हस्ताक्षरमा कोषका पदाधिकारीले ऋण प्रवाह गर्ने गरेका छन् ।  

युवा तथा खेलकुद मन्त्रालयको २०८१ जेठ १ गतेको मन्त्रीस्तरीय निर्णयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त समितिले युवा स्वरोजगार कार्यक्रममा ठुलो रकम अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन दिएको हो । 

प्रतिवेदन अनुसार कर्जा प्रदान गर्ने र अनुगमन गर्ने व्यक्तिहरू एकै हुँदा स्वार्थ बाझिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा कार्यक्रम शाखाको प्रमुख रहेर काम गरेका सम्झना वाग्ले र कार्यक्रम शाखाकै अधिकृत विमला थापाले यस समयमा परेको आवेदनको दर्ता गर्ने, संस्थाहरूबाट कर्जाको लागि सहकार्य गर्ने, कागजपत्रहरू सङ्कलन गर्ने, कर्जा स्वीकृतिको लागि मूल्याङ्कन समिति समक्ष ऋण र मूल्याङ्कन समितिको सदस्य रही कर्जा स्वीकृत गरेका छन् ।

२०८० साउनपछि कार्यक्रम शाखा प्रमुख सम्झना वाग्ले र अधिकृत विमला थापालाई अनुगमन शाखामा अनुगमन शाखा प्रमुख र अनुगमन अधिकृतको रूपमा सरुवा गरिएको थियो । 

‘कर्जा प्रदान गर्दा कार्यक्रम शाखामा शाखा प्रमुख र अधिकृत रहेर संस्था छनोट गर्ने, संस्थाहरूसँग समन्वय तथा कर्जा स्वीकृत गर्ने व्यक्ति नै उक्त संस्थाहरूको पहिलो किस्ता अनुगमन गर्ने समयमा अनुगमन शाखा प्रमुख र अधिकृत भएर जाँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन जानुको साथै अनुगमनको प्रभावकारिता माथि नै प्रश्न चिह्न उठ्न जान्छ,’ प्रतिवेदनमा उल्लेख छ । 

यस्तै सबै बैंक तथा लघुवित्तहरूले ऋण अगाडि गर्नुपर्ने अनुगमन नगरी कार्यक्रम शाखाले तयार पारेको प्रतिवेदन र फाइलको आधारमा कर्जा लगानी गरेको पाइएको छ ।  अहिले त्यही कार्यक्रम शाखा प्रमुख र अनुगमन शाखा प्रमुख अधिकृत भएर उक्त संस्थाहरूको अनुगमनमा जाँदा अनुगमनको प्रभावकारितामा विश्वास गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार वाग्ले र एक्लैले साइरन रेसुङ्गा डेभलप्मेन्ट बैंक‚ आरएसडिसी लघुवित्त‚सबैको लघुवित्त‚उन्नति सहकार्य लघुवित्त‚जनउत्थान सामुदायिक लघुवित्तमा एकल अनुगमन र ग्रिन डेभलेपमेन्ट बैंकमा विमला थापासँग मिलेर अनुगमन गरेकी थिइन् । 

वाग्लेको एकल हस्ताक्षरमा २ करोड स्वीकृत 

कतिसम्म भने संस्थाको छनोटमा पनि कार्यक्रम शाखा प्रमुख सम्झना वाग्लेले बदमासी गरेको प्रतिवेदनमा उल्लेख छ । कर्जा रकम सिफारिस समितिको बैठकको माइन्यूटमा उनले एकल सिग्नेचर गरेर २ करोड रकम तीन सहकारीलाई दिने स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ । 

कोषको कर्जा लगानी तथा असुली कार्यविधि २०७७ अनुसार कर्जा प्रवाह गर्ने विधिहरू छन् । तर‚ प्रतिवेदनमा उल्लेख गरिएअनुसार कर्जा रकम सिफारिस समितिको मिति २०७९ भाद्र २१ गते बसेको समितिको बैठकको माइन्युटमा कार्यक्रम शाखा प्रमुख  सम्झना वाग्लेले मात्र दस्तखत गरी कर्जा प्रदान गरिएको उल्लेख छ । प्रतिवेदन अनुसार उज्यालो कृषि सहकारीमा ५० लाख‚ श्रद्धा महिला कृषि सहकारीमा ६० लाख र नयाँ पाइला कृषि सहकारी ९० लाख पैसा वाग्लेको एकल हस्ताक्षरमा स्वीकृत भएको हो । 

यस्तो छ कर्जा प्रवाहका लागि संस्था छनोट प्रक्रिया - 

ll

त्यसो त कार्यक्रम शाखाले कर्जा वितरण गर्नका लागि संस्थाहरूको छनोट गर्न प्रस्तुत गरेको फाइलहरूको अध्ययन नै नगरी कर्जा प्रवाह गरेको पाइएको छ । शाखाले कागजातहरू अध्ययन नगरी केवल कार्यविधिको आवश्यकता पूर्तिका लागि मात्र फाइलमा राख्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

‘प्रतिवेदन आफैमा पूर्ण छैन । यसले थप अध्ययन तथ्य र प्रमाण खोज्छ । ठुलो मात्रामा रकम अपचलन भएको छ‚’ निवर्तमान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप