पश्चिम नेपालको थारु समुदायमा अट्वारी पर्व मनाइँदै
धनगढी । पश्चिम नेपालको थारु समुदायमा आजदेखि अट्वारी अट्वारी पर्व सुरु भएको छ ।
कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतबार र सोमबार अट्वारी पर्व मनाइने प्रचलन रहँदै आएको हो । अट्वारी आज र भोलि (भदौ २३ र २४ गते) परेको छ । यसैबिच सुदूरपश्चिम सरकारले अट्वारी पर्वको अवसरमा आज १ दिन सार्वजनिक विदा दिएको छ ।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यस पर्व थारु समुदायमा निकै मौलिक ढङ्गले मनाइन्छ । प्रायः आइतबार नै मनाइने हुँदा पर्वको नाम पनि ‘अट्वारी’ नामकरण हुन गएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् । असत्य माथि सत्यको जीत र नारी सम्मानको प्रतीक नै अट्वारी पर्वको विशेषता रहेको समेत थारुको भनाइ छ ।
अन्डी धानको खोजी
पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रूपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ । अन्डी धान भएको घरमा पर्व नै खल्लो हुने या पर्व नै अपुरो हुने थारु बुद्धिजीवीहरू बताउँछन् । जुन कारण कोही पर्व सुरु हुनु पहिलै आफ्ना इष्टमित्र, साथीभाइ सँग सगुनकै लागि भएपनि खरिद गरेर त कोही अन्य धानको चामलसँग अन्डी धानको चामल साटेर भएपनि पर्व मनाएको पाइन्छ ।
कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीका चुनीलाल चौधरी केही दिन अगावै पर्वमा चाहिने अन्डी धानको जोहो गर्नमा लागेको सुनाउँछन् । अन्डी धान एक किसिमको रैथाने प्रजातिको धान हो ।
अट्वारीकै लागि भएपनि अन्डी धान रोप्ने गरिएपनि अचेल विभिन्न उन्नत तथा हाईब्रिड जातका धान रोप्ने प्रबृतिले अन्डी धान लोप हुदै गएको छ । थारु समुदायमा अन्डी धानको छुट्टै महत्त्व रहेको छ ।
अट्वारीको ऐतिहासिकता
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले श्रद्धापूर्वक पूजाआजा गर्छन् ।
कुनैबेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहि आएको हो ।
अर्को किंवदन्ती अनुसार एक समयमा द्रौपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबिच निकै घनिष्ठता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरू टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात् फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।
मनाउने विधि र अग्रसनको महत्त्व
सामान्यतया अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउछ । जुनअनुसार चालु वर्ष भदौ २३ र २४ अट्वारी पर्व परेको हो । आइतबार भन्दा अघिल्लो राति (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहानै पूजापाठ अर्थात् ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरूलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।
उता विवाहित चेलीबेटीहरू माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मान सम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह