साबालेन्काले जितिन् पहिलो यूएस ओपन उपाधि
काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको महिला एकलतर्फको उपाधि बेलारुसकी खेलाडी आर्यना साबालेन्काले जितेकी छन् । २६ वर्षीय साबालेन्काले आइतबार सम्पन्न फाइनलमा अमेरिकी प्रतिद्वन्द्वी जेसिका पेगुलालाई हराउँदै उपाधि चुमेकी हुन् ।
दोस्रो वरीयतामा आसिन साबालेन्काले एकपक्षीय फाइनलमा छैटौँ वरीयताकी पेगुललाई ७–५, ७–५ को सोझो सेटमा पराजित गरेकी हुन् । बेलारुसकी साबालेन्काले प्रतिष्ठित यूएस ओपनको उपाधि जितेको यो पहिलो पटक हो ।
समग्रमा भने उनले जितेको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । उनले यसअघि दुईपटक अस्ट्रेलियन ओपनको उपाधि पनि जितेकी थिइन् । उनले सन् २०२३ र सन् २०२४ मा अस्ट्रेलियन ओपनको उपाधि कुम्ल्याएकी थिइन् ।
प्रतिभाशाली खेलाडी साबालेन्काले हालसम्म फ्रेन्च ओपन र विम्बल्डनको उपाधि भने जित्न सकेकी छैनन् । उनी सन् २०२३ मा फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् । उनी सन् २०२१ र सन् २०२३ मा विम्बल्डनको सेमिफाइनलमा पुगेकी थिइन् ।
३० वर्षीय अमेरिकी खेलाडी पेगुला भने पहिलो ग्रान्डस्लाम उपाधिको खोजीमा थिइन् । उनी पहिलो पटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेकी थिइन् । ‘यो जित मेरा लागि निकै महत्त्वपूर्ण छ । त्यसैले म निःशब्द छु । म आफ्नो खुसीलाई शब्दमा बयान गर्न सक्दिन,’ साबालेन्काले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन