शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

विभागीय डर्बीमा एपीएफ विजयी

शनिबार, २२ भदौ २०८१, १९ : ०२
शनिबार, २२ भदौ २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा आर्मीमाथि रोमाञ्चक जित निकाल्दै एपीएफले जारी लिगमा पहिलो सफलता आत्मसात् गरेको हो । एपीएफको जितमा सविता रानामगर र गीता रानामगरले समान गोल गरे । आर्मीर्की विमला चौधरीले एक गोल फर्काइन् । यो जितसँगै एपीएफ दुई खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा उक्लिँदा समान खेलबाट तीन अङ्कसहित आर्मी पाँचौँ स्थानमा झरेको छ । यसअघि पहिलो खेलमा एपीएफले विभागीय टोली नेपाल पुलिस क्लवसँग गोलरहित बराबरीको नतिजा सामना गर्दा आर्मीले भने सङ्कटालाई ४–० ले पराजित गरेको थियो ।

तर दोस्रो खेलमा भने आर्मी साबिकको विजेता एपीएफसँग पराजित हुन पुग्यो । पहिलो हाफमा एक गोल हुँदा दोस्रो हाफमा दुई गोल सम्भव भएको हो । खेलको दोस्रो मिनेटमै आर्मीले अग्रता लिने अवसर खेर फाल्यो । चन्द्रा भण्डारीको पासमा हिमा चौधरी यार्ड टाढाबाटै गोल गर्न सकिनन् । १६ औँ मिनेटमा पनि आर्मीले अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन । एपीएफकी गोलकिपर सावित्री किसन नै बिट भएको अवस्थामा दीपा राई र चन्द्रा भण्डारीबिच तालमेल नमिल्दा खाली पोस्टमा नै गोल गर्न सकेनन् । चन्द्राको लेफ्ट फुटेट फितलो प्रहार पहिलो बार हुँदै बाहिरिन पुग्यो । 

३३ औँ मिनेटमा एपीएफ प्रीति राईले करिब २२ यार्डबाट गरेको फ्रिकिक प्रहारले सफलता पाउन सकेन । ४६ औँ मिनेटमा चन्द्रा भण्डारीको हेडर पनि एपीएफकी गोलकिपर सावित्राले सहजै रोकिन् । पहिलो थप समय सकिन तीन सेकेन्ड समय बाँकी छँदा एपीएफले गोल गर्‍यो । कप्तान अनिता बस्नेतको कर्नर प्रहारबाट प्राप्त बललाई सविता रानामगरले गोल गर्दै अग्रता दिलाइन् । तर दोस्रो हाफमा आर्मी बराबरीमा फर्कियो । यद्यपि ५४ औँ मिनेटमा सविताले नै गोल गर्दै अग्रता दोब्बर बनाउने अवसर गुमाइन् । सरु लिम्बूको क्रसमा उनी आर्मीकी गोलकिपर अञ्जना रानामगरसँग वान भर्सेस वानमा गोल गर्न असफल भइन् । 

तर तीन मिनेटपछि आर्मी विमला चौधरीको गोलबाट खेलमा फर्कियो । विमला थापाको लामो क्रस बललाई एपीएफका डिफेन्डरले क्लियर गर्न नसक्दा विमलाले करिब १८ यार्डबाट सुन्दर गोल गरिन् । ६२ औँ मिनेटमा अनिताले केसीले लेफ्ट साइडबाट गरेको सशक्त प्रहार आर्मीकी गोलकिपर अञ्जनाले उत्कृष्ट बचाउ गरिन् । तर पाँच मिनेटपछि नै एपीएफले पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । आर्मीकी गोलकिपर अञ्जनाले अनिता केसीलाई लडाएपछि एपीएफले पेनाल्टीको अवसर पाएको हो । सो अवसर सदुपयोग गर्दै एपीएफलाई अग्रता दिलाइन् । 

८५औँ मिनेटमा एपीएफकी सरुले वान भर्सेस वानमा गरेको प्रहारमा आर्मीकी गोलकिपर अञ्जनाले बचाउ गरिन् । त्यस पछिको बाँकी समयमा पनि गोल हुन सकेन र एपीएफले विभागीय डर्बीमा सफलता पायो । एपीएफकी गीता रानामगर प्लेअर अफ दी म्याच घोषित भइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप