सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सोलुवासीलाई रक्षामन्त्री राईले भने, ‘फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला’

शनिबार, २२ भदौ २०८१, १८ : ४३
शनिबार, २२ भदौ २०८१

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गरेका छन् । शनिवार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गरेका हुन् । 

उनले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भए पनि आफूलाई जानकारी गराउन पनि उनले अनुरोध गरे । मन्त्री राईले कहिले काहीँ त राति अबेरसम्म मन्त्रिपरिषद् बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको पनि जानकारी दिए । 

मन्त्री राईले भन्नुभयो, मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त । त्यो भएर कहिले काहीँ राति साढे नौ बजेसम्म मन्त्रिपरिषद् बैठकमा नै हुन्छु । यो सत्य कुरा हो । पत्रकार साथीहरूलाई यो कुरा थाहा हुन्छ । हामी साँढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरूलाई थाहा हुन्छ । अनि मलाई नभेटी नहुने नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईँहरूको कुरा आओस् । बिहान बेलुका म फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने बिजी रहेछ । उठाई दिएन भनेर अन्यथा नठानी दिनुहोस् । मलाई डर यति छ । सबै भन्दा सजिलो नेता सांसद बनाएको । सबै भन्दा सजिलो मान्छे मन्त्री बनाएको । सबभन्दा अप्ठ्यारो भयो । फोन पनि नउठाउने, भेट्न पनि नपाइने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने मलाई ठुलो त्राहि छ हजुर । तपाईँहरूले सहयोग गरिदिनु पर्‍यो ।’

रक्षामन्त्री राईले पार्टीका सिद्धान्तहरू पालना नगर्दा असन्तुष्टिका जनआवाजहरू आउन थालेको बताए । उनले भने, ‘नयाँ, पुरानो सबै पार्टीको शपथ, उद्देश्य र सिद्धान्तहरू राम्रो छन् । तर त्यसलाई पालना नगर्दा कता कता अलमलिएर असन्तुष्टिका जनआवाजहरू आउन थालेका छन् । यसमा ध्यान दिनुपर्छ । म जस्तो भुइँमान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ ।’

यस्तै, उनले धेरै ठुलो इज्जत हासिल गर्न नसके पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘गोर्खे खुकुरीवालाहरूको धेरै ठुलो इज्जत छ । त्यही हासिल गर्न नसकौला तर धेरै परिवर्तन नगरे पनि, थप विकास नगरे पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने, पुरानो ठाउँबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’

उनले सरकारले नियम र विधि अनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप