शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

कर्मचारी प्रणालीमा सुधार आवश्यक छ : सचिव कार्की

शनिबार, २२ भदौ २०८१, १७ : ०८
शनिबार, २२ भदौ २०८१

मकवानपुर । बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले कर्मचारीतन्त्रको विकल्प नरहेको तर यसमा सुधारको आवश्यक रहेको औँल्याएका छन् । निजामती सेवा दिवस २०८१ को अवसरमा प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कार्कीले सुधारिएको कर्मचारी प्रशासन प्रणाली नै नै कर्मचारीतन्त्रको उपयुक्त विकल्प भएको बताएका हुन् । 

सेवा प्रवाह, कानुन निर्माण तथा विकासका काममा निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ । कर्मचारी क्षेत्रमा रहेका केही कमीकमजोरीका कारण प्रशासन प्रणाली माथि नै प्रश्न उठिरहेको उनले बताए । 

प्रमुख सचिव कार्कीले कर्मचारी प्रशासनमा सङ्क्रमण रहेको समेत बताए । सङ्क्रमणको अवधि कहिलेसम्म रहने थाहा नहुँदा कर्मचारी प्रशासनमा द्विविधा रहेको उनले बताए ।

कर्मचारी प्रशासनको सुधारको प्रयत्न भइरहेको उनको भनाई छ । कर्मचारी प्रशासनको सुधार अरूबाट भन्दा पनि आफैबाट सुरु गर्नुपर्ने उनले बताए । संघीय प्रणाली लागु भएको ७ वर्षको अवधिमा पनि संघीय निजामती ऐन आउन नसक्नु दुःखद भएको प्रमुख सचिव कार्कीको भनाई छ ।

प्रदेश सरकारले बनाएका निजामती ऐनसँग हाल कार्यान्वयनमा रहेको र केही विषयहरू संघीय ऐन बाझिँदा सार्वजनिक प्रशासन सेवामा प्रत्यक्ष असर पुगेको सचिव कार्कीले बताए ।

यसै गरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले कर्मचारीले सुशासनमा ध्यान दिन नसकेको बताए । विभिन्न समयमा लाग्ने गरेको कर्मचारीहरू सिर्जनशीलताको अभावको आरोप उनले खण्डन गरेका छन् । उनले कर्मचारी प्रशासनले सिर्जनशील भएर पेसागत व्यावसायिकतालाई अभिवृद्धि गर्ने तर्फ ध्यान केन्द्रित भइरहेको बताए ।

व्यावसायिक र सिजनशील प्रशासन: विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइएको निजामती सेवा दिवस २०८१ का अवसरमा कविता प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रममा कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सानुबाबु खनाल, रुद्रप्रसाद शर्मा र गोपिनी गौतमलाई पुरस्कृत समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप