‘शरीरमा आत्माको यात्रा’ : पुनर्जन्मको रहस्य केलाउने पुस्तक
रोशन दाहालको ‘शरीरमा आत्माको यात्रा’ नामक पुस्तकका अधिकांश पात्रहरू यस जीवनमा सुखी छैनन् । उनीहरूले बेलाबेला नराम्रा सपना देखिरहन्छन्, लोग्नेले स्वास्नीलाई दुःख दिइरहन्छ, स्वास्नीले लोग्नेलाई टेर्दिनँ, साथीभाइ भनेजस्ता छैनन्, आफ्नै बाउछोरा पनि शत्रुजस्ता छन्— यस्तै यावत् गुनासा लिएर लाफ्टर बाबाकहाँ जाने पात्रहरूको इतिवृत्तान्तले यो पुस्तक रोचक र घोचक दुवै भएको छ ।
सम्मोहन विधिद्वारा उनीहरूलाई विगतमा लगिन्छ । विगतलाई बुझेपछि उनीहरूले वर्तमानमा दुःख पाउनुको कारण बुझ्छन्, अन्ततः मनोरोग लगायत बिरामीहरू निको हुन्छन् । जीवन बिस्तारै लयमा फर्कन्छ ।
मार्न जन्मिएको छोरो, लिखुरे भीमसेन थापा, पृथ्वीनारायण शाहको पुनर्जन्म लगायत अन्य विषयले पुस्तकलाई बडो रोचक बनाएका छन् ।
पूर्वजन्मबारे ओशोले समेत थुप्रै विषय उप्काएका छन् । उनकै आश्रममा भएको एउटा घटना यस्तो छ :
ओशीकी एउटी शिष्यालाई आफ्नो पूर्वजन्म जान्न मन लाग्छ । आफूलाई पूर्वजन्ममा लगिदिन उनले ओशोसँग आग्रह गर्छिन् ।
उनको कुरा सुनेर ओशो भन्छन्, ‘पूर्वजन्ममा गएर खासै अर्थ छैन । गए पनि त्यसलाई स्विकार्न नसक्नेहरू झनै पीडित हुन्छन् । आफ्नो गल्ती स्विकार्न सक्ने मात्रै विगतमा जानु उचित हुन्छ । नसक्नेहरू नगएकै जाति । नत्र यसले विविध प्रकारका रोगहरू निम्त्याउन सक्छ ।’
यद्यपि ती शिष्याले जिद्दी गरेपछि उसलाई विगतमा लगिन्छ ।
वर्तमानमा फर्किएपछि उनी निकै पीडित हुन्छिन् । आफ्नो जीवनलाई निकै घृणा गर्छिन्, यस्तो जीवन हुनुभन्दा नभएकै जाति भन्छिन् ।
यसरी पीडित हुनुको कारण कुनै जन्ममा उनी वेश्या थिइन् ।
डा. इयान स्टिभेन्सनले लेखेको पुस्तक ‘रिइन्कार्नेसन एन्ड बायोलजी’ पुस्तकमा एउटा प्रसंग आएको छ ।
श्रीलङ्काको एउटा गाउँमा सानी केटी हुन्छिन् । जसलाई नुहाउन भनी इनारमा लैजाँदा बेस्सरी चिच्याउँछिन् । स्पष्ट बोल्न सक्ने भएपछि उनले भनिन्— अघिल्लो जन्ममा पनि सानै थिएँ । एक दिन बेस्सरी पानी परेको थियो । म बसको यात्रामा थिएँ । पानी पर्न रोकिएको थिएन । अन्ततः चारैतिर बाढी आउन थाल्यो । म चढेको बसलाई नजिकैको धान खेतमा लगेर डुबायो । अन्ततः त्यहीँ मेरो मृत्यु भयो ।
यसको प्रमाण के छ भनेर सोध्दा उनले त्यहाँदेखि अलि टाढा अर्को गाउँ रहेको बताइन् । उक्त गाउँको खोजी गर्दा उनको हालको घरबाट चार–पाँच किलोमिटर टाढा उनको परिवार भेटिएको थियो । जसलाई देख्नेबित्तिकै उनले चिनेकी थिइन् ।
पुस्तक ‘शरीरमा आत्माको यात्रा’ अनुसार पृथ्वीनारायण शाह यस जन्ममा स्त्री–शरीर लिएर जन्मिएका छन् । स्त्री–शरीर धारण गर्नुको कारण भने खुलेको छैन । यसको कारण खुलेको भए झनै राम्रो हुन्थ्यो ।
अर्की चाहिँ बर्माकी केटी थिइन् । उनको दाहिने खुट्टाको घुँडादेखि तलको भाग थिएन । उसले यस्तो अवस्थामा जन्मिनुको कारण अघिल्लो जन्मको घटना रहेको बताएकी थिइन् ।
उसलाई अघिल्लो जन्ममा रेलले किचेको थियो ।
एकजना थाइ केटा थिए । जो पूर्वजन्ममा सैनिक रहेका उनलाई युद्ध मैदानमा छातीमा गोली लागेको थियो । जो आफ्नो छातीमा गोलीले छेडेको घाउको खत लिएर जन्मिएका थिए । उसको ढाडमा समेत गोली निस्किएको खत थियो ।
अर्का एक भारतीय बालक, जो दाहिने हातको औँलाबिना जन्मिएका थिए । उनले यसको कारण अघिल्लो जन्ममा आफू काठ–मिलको कामदार रहेको बताएका थिए । जहाँको मिलले आफ्नो हातको औँला काटेको र प्रमाणस्वरूप त्यो मिल पनि उसले देखाएको थियो ।
पूर्वजन्मसम्बन्धी अरु पनि थुप्रै किताब लेखिएका छन् तर यो जतिको प्रमाणसहित आजसम्म खासै आएका छैनन् ।
दाहालको पुस्तक ‘शरीरमा आत्माको यात्रा’ अनुसार पृथ्वीनारायण शाह यस जन्ममा स्त्री–शरीर लिएर जन्मिएका छन् । स्त्री–शरीर धारण गर्नुको कारण भने खुलेको छैन । यसको कारण खुलेको भए झनै राम्रो हुन्थ्यो ।
केहीलाई लाग्ला ! पुरुष पनि कतै महिला हुन सक्छन् ? या स्त्री पुरmष शरीर लिएर जन्मिन सक्छे ? एसी प्र्रभुपादको ‘कमिङ ब्याक : द साइन्स अफ् रिइन्कार्नेसन’ भन्ने पुस्तकमा भनिएको छ, ‘कुनै पुरुष कुनै सुन्दर महिलाको शरीरसँग लोभिन्छ र त्यस्तो शरीर पाउन पाए भनेर सोचिरहन्छ या मर्ने बेला यस्तै सोच्छ भने पुनर्जन्ममा स्त्री हुनेछ ।’
पृथ्वीनारायण शाहको मृत्यु बडो रहस्यमय छ । कोही बाघको आक्रमणबाट उनको मृत्यु भएको बताउँछन् त कोही बिरामी भएर । उनले आफ्नो मृत्यु कसरी भयो भन्ने खुलाउनुपथ्र्यो या वाचकले प्रश्न सोध्न पो भुलेका हुन् कि ?
हुन त जसजसलाई पूर्वजन्ममा लगियो, त्यसको उद्देश्य पुस्तक लेख्नु थिएन भनेर लेखकले स्विकारेका छन् । पूर्वजन्मबाट विभिन्न समस्या समाधान गर्ने क्रममा भेटिएका थिए, पृथ्वीनारायण शाह । जब ती महिला छिन् अहिले भनेर थाहा भयो, सम्मोहनविज्ञलाई पनि आश्चर्य लागेको थियो । पुनः अर्को सत्र गराउने उद्देश्यका साथ छुटिएका उनीहरू भूकम्पपछि सम्पर्कमा आउन सकेका थिएनन् । यसर्थ हामीले भनेजस्तो चाहेकै कुरा पाउन सकिँदैन पनि होला र पुस्तकले पनि यही आशय व्यक्त गरेको छ ।
मुख्यतः पुनर्जन्म लिएका अधिकांशले मृत्युको कारण चाहिँ प्रस्टै पारेका हुन्छन्, जसमा ओशो पनि पर्छन् । उनले तिब्बतको एउटा गुफामा आफ्नो शरीर अझै रहेको बताएका थिए ।
दाहालको पुस्तकमा अरु पात्रका कथा कौतुकमय छन् । यीमध्ये पृथ्वीनारायण, भीमसेन थापा र कर्ण चाहिँ मुख्य पात्र हुन् । यिनको कथा अरुको जस्तो पूर्ण रूपमा खुलेरै आउन सकेन । लेखकले भनेका छन्, ‘यो कुरा मलाई नभएर लाफ्टर बाबालाई सोध्नू ।’ के बाबाले यसको चित्तबुझ्दो जवाफ दिन सक्लान् ? कतै विषयलाई घुमाइफिराइ त नगर्लान् ?
कर्ण महाभारतका विशेष पात्र हुन् । उनीमार्फत महाभारतका धेरै रहस्य खुल्न सक्थ्यो । बरु खुलाएकै भए जाति हुन्थ्यो । जस्तो कि बुद्धले आफू बुद्ध हुनको एक–एक उदाहरण र कारण खुलाइदिएका छन् । तृष्णा मेटाउन कैयौँ वर्षको साधना रहेको बताएका छन् । यसको अर्थ यी कुरा खुलाउनेबित्तिकै विश्वास गर्न लायक भइहाल्छन् भन्ने चाहिँ अझै पनि हुँदैन । पुस्तक पढ्दै गर्दा आफ्नो पूर्वजन्मका बारेमा आफैँले अनुभव गरेपछि मात्रै विश्वास गर्न सकिन्छ भन्ने भाव जागिरहन्छ ।
पुस्तकमा एउटी केटी पात्र आएकी छन्, जो पढ्नमा अब्बल छन् तर परीक्षामा नतिजा भने उल्टो आउँछ । यसको कारण भने स्पष्ट रूपमा आएको छ । मार्न जन्मिएको छोरो पनि प्रस्टैसँग आएको छ । आफ्नै छोराले बाउ मारेको यो घटना स्पष्ट आउनुको कारण ती व्यक्तिसँग बारम्बार पूर्वजन्म–सत्र गराइएकाले पनि हुन सक्छ ।
लेखकले पुस्तकमा के पनि भनेका छन् भने यो विषय हाम्रो यहाँको मौलिक विषयको सानो अंश मात्रै हो । यसभन्दा धेरै माथि पुग्ने सम्भावनाका द्वारतर्फ इसारा गर्ने ज्ञान हामीकहाँ पहिल्यैदेखि छन् । उनको यो भनाइ निकै सान्दर्भिक लाग्छ ।
विशेषतः यो पुस्तक पढेपछि धेरैले आफूलाई हेर्ने दृष्टिकोण बदल्नेछन् । आफू जे र जुन अवस्थामा छु, त्यो आफ्नै कर्मको कारण छु भन्ने बुझ्न पाउनेछन् ।
यो पुस्तक पढ्दै जाँदा लाग्यो, पुस्तक अलि चाँडो आयो, यसलाई अझ केही वर्ष ढिला ल्याउनुपथ्र्यो, जसका लागि साक्खै प्रमाणसहितका केही घटना पनि पेस गर्नुपथ्र्यो । जसरी माथिको पुनर्जन्म र जीवविज्ञान पुस्तकमा घटना घटना आएका छन् । यसो गर्न सकेको भए पुस्तकको महत्त्व र गहिराइ अझ चुलिन सक्थ्यो ।
यस पुस्तकमा पशु जीवनको कारुणिक घटना पनि पढ्न पाइन्छ । पशु र मानव जीवनमा के अन्तर छ भन्ने बुझ्न सकिन्छ ।