म के लेख्दै छु आफैँलाई थाहा छैन
म लेख्न बस्छु, तर के लेख्दै छु थाहा छैन । लेख्ने आँट गर्छु बस् त्यति । लेख्दै जाँदा थाहा पाउँछु— ए, मसँग यस्तो कुरा पनि रहेछ अर्थात् मसँग लेखनको यस्तो विषय पनि रहेछ ।
अघिसम्म लागेको थियो, मलाई केही आउँदैन तर होइन, केही त निश्चय आउँदो रहेछ । लेख्न बस्नुअघि म केही सोच्दिनँ । पूर्वनियोजित भएर लेख्दिनँ । जब योजनाबद्ध भएर लेख्छु, त्यस क्षण कदापि म सिर्जनात्मक हुन सक्दिनँ । पूर्वाग्रही विचार भनौँ कि के भनौँ जेहोस् पूर्वसूचना त्यागेर मात्रै लेख्न थाल्छु ।
मसँग एउटा अनौठो अनुभूति छ । यदि लेख्नु पूर्वयसरी लेख्छु, यो लेख्छु त्यो लेख्छु भनेर मस्तिष्कमा केही थोक सङ्कलन गर्छु । हो, त्यतिखेर मैले केही लेख्न सकेकी हुँदिनँ । मलाई किन यस्तो हुन्छ ?
कैँयौँपटक आफैँसँग खोज गरेँ । धेरै पछि थाहा पाएँ— जब म आफूलाई योजनाबद्ध गर्छु, त्यतिखेर नै मैले सिर्जनात्मक शक्ति गुमाइसकेको हुने रहेछु । तपाईंलाई लाग्ला मैले एकदमै मिथ्या कुरा गरिरहेकी छु । तर होइन मेरो हकमा कदापि यो मिथ्या छैन । अहिले म जे लेख्दै छु यो पनि नसोचीकन लेख्दै छु । तत्काल जस्तो भाव आउँछ जस्तो विचार आउँछ म त्यसैलाई पक्डिन्छु, त्यसैलाई स्विकार्छु । तर एउटा कुरा लेख्नु अघि लेखन अभिप्रायको एउटा बीज या त एउटा दृश्य या त एउटा वाणी पहिल्यै मनमा रहेको हुन्छ । त्यस एउटा झिल्कोलाई लेख्दै जाँदा कहिले त कल्पनामै नभएको कुरा तयार भइदिन्छ ।
आफूलाई थाहै नभएको कुरा लेखेछु लाग्छ । परन्तु जुन कुरा थाहा नभएको भने होइन, थाहा नभएको जस्तो लागेको मात्र हो । आफूलाई थाहा भएर पनि थाहा नभएजस्तो लाग्ने असंख्य कुराहरू बोकेर हामी बाँचिरहेका हुन्छौँ । कला साहित्य त्यही थाहा नभएको अवचेतन मनको भाव रहेछ, स्वर रहेछ, रङ रहेछ, नाद रहेछ ।
चेतन मनदेखि परको अवचेतन मनलाई म सुन्ने गर्छु । त्यसले जस्तो लेख्न लगाउँछ, म त्यही लेख्छु । बेला बेला मेरो लेखनको क्रमिकता त्यस कारण टुट्ने गर्छ । टुटोस्, फुटोस्, खण्डित होस्— त्यसमा आपत्ति राख्दिनँ । केही विस्मित भने हुन्छु ।
जब म पूर्वधारणाले लेख्न बस्छु, हो त्यस बखत मेरा भावहरू, मेरा विचारहरू, मेरा आवेग–संवेगहरू आफूलाई लेखिदिन भीड लाग्न थाल्छन् । पहिले कुन लेखूँ, त्यसपछि कुन ? अनि म आत्तिन थाल्छु । ती भीड लागेका कुरालाई व्यवस्थापन गर्न मुस्किल पर्छ ।
भर्खरै थाहा पाएँ, सुरुमा मैले भन्न खोजेको कुरा त त्यसै छुटेछ । प्रथमतः म त्यसबारे पुनः केही सुनाउन चाहन्छु । जब म पूर्वधारणाले लेख्न बस्छु, हो त्यस बखत मेरा भावहरू, मेरा विचारहरू, मेरा आवेग–संवेगहरू आफूलाई लेखिदिन भीड लाग्न थाल्छन् । पहिले कुन लेखूँ, त्यसपछि कुन ? अनि म आत्तिन थाल्छु । ती भीड लागेका कुरालाई व्यवस्थापन गर्न मुस्किल पर्छ । त्यसो हुँदा ती संवेग र ती पूर्वचिन्तनलाई थाहै नदिई सुटुक्क लेख्न बस्छु । जब म त्यसरी घुइँचो लागेका पूर्वनिर्धारित घटना होस् या विचार लेख्न थाल्छु । त्यस बखत म एकदम नियन्त्रित हुन्छु । स्वतन्त्र भएर लेख्न सक्दिनँ । मेरो मस्तिष्कमा जस्तो प्लट छ, जस्तो लेख्छु भन्ने मानसिकता छ त्यसभन्दा पर पुग्न सक्दिनँ ।
म मेरै मस्तिष्कका पूर्वतयारी अर्थात् रेडिमेड कुरा खोज्नपट्टि लाग्छु । अनि त मेरो लेखन शक्ति त्यसै क्षण मर्न सुरु गर्छ । त्यसरी नमरोस् भनेर म लेख्नुअघि केही नसोच्ने गर्छु । केही लेख्न बस्दा खुला चौरमा भेडा–बाख्रा चरेजसरी मनलाई निस्फिक्री छाडिदिन्छु । भावलाई, विचारलाई पनि त्यसरी नै छोडिदिन्छु । हो त्यतिखेर मैले आफू बाँचेको समाज बिर्सिसकेको हुन्छु । घर, परिवार, आफन्त सबै सबै भुलिदिन्छु । मेरो लेखनमा कसैले प्रश्न गर्ला भन्ने पनि सोच्न छाडिदिन्छु । यस्तो अलमस्त भएर लेख्छु कि जसबखत म आफैँ दङ्ग पर्छु । यसरी पूर्वनिर्धारित आकार, संरचना तथा अवधारणामा अनुबद्ध नभएको क्षण—बल्ल मस्तिष्कले नवीनताको आविष्कार गर्ने रहेछ अर्थात् नवीनता आविष्कार गर्न बाध्य हुने रहेछ । म यही सिद्धान्तले मस्तिष्कसँग केही मागिरहन्छु ।
अस्तिका दिन एउटा रिसर्च पढ्दै थिएँ । त्यसमा भनिएको थियो— हाम्रो मस्तिष्कका कैँयौँ सेलहरू मर्दै नयाँ पलाउँदै गरिरहेका हुन्छन् । विशेषतः नयाँ सेल त्यतिखेर पलाउँछ, जतिखेर हामीले मस्तिष्कलाई एउटा दबाब दिन्छौँ— केही जान्न, केही सिक्न, केही आविष्कार गर्न । त्यसरी नयाँ सेल पलाउँदाको समयमा मान्छेले केही न केही नौलो कुरा, अद्भुतको कुरा सिर्जना गरेको हुन्छ । जति पनि आविष्कारकहरू छन्, तिनीहरूले मस्तिष्कलाई सही किसिमले दबाब दिएकै कारण नयाँ सेल उम्रिन्छन्— त्यस घडी उनीहरूले नवीन कुरा पत्ता लगाएका हुन्छन् । नयाँ सेल उम्रिनु भनेको नवीन चिन्तन उब्जिनु हो । पुरानो सेल जीवित रहँदा मानिसको दृष्टिकोण फेरिन सकेको हुँदैन । दृश्य बलिँदैन अर्थात् दृश्यलाई हेर्ने दृष्टि बदलिँदैन । कुनै पनि दृश्यलाई विविधतापूर्ण तरिकाले हेर्न जान्नु पनि एउटा कला हो । त्यस्तै कुनै घटनालाई अनेक अर्थले बुझ्नु पनि कला हो । परम्परित सत्यमा बाँच्नु भनेको उसको चिन्तनमा परिवर्तन नआउनु हो, अर्थात् उसको नयाँ सेल नजन्मिनु हो । नवीनतालाई स्विकार्न प्रायः मानिसहरू किन असमर्थ हुन्छन् भने उनीहरू नयाँ सेल जन्माउन चाहँदैनन् । समाज, भीड र रूढता चाहनेहरूको जीवन यस कारण रूपान्तरित हुन सकेको हुँदैन ।
धेरै ठुलो संख्याका मानिसहरूले मस्तिष्कको प्रयोगै गरेका हुँदैनन् रिसर्च फेरि भन्छ— तिनीहरू प्रायः अभ्यासमा बाँचेका हुन्छन् । म बाँच्दै छु भन्ने थाहै नपाई बाँचेका हुन्छन् । त्यतिखेर मात्र मानिस वास्तविक तरिकाले बाँचेको हुन्छ, जतिखेर ऊ सचेत भइरहेको हुन्छ ।
हामी नित्य हिँडिरहेको बाटोमा अहिले कहाँ पुग्यौँ, कति हिँड्यौ केही ख्यालै हुँदैन । बाटाको वरपर के भइरहेछ भन्नेसम्म हेक्का हुँदैन । गन्तव्यमा पुग्दासम्म बेहोसीमै हुन्छौँ । किनकि त्यस बाटोप्रति हामी अभ्यस्त छौँ अनि सजग छैनौँ । त्यस निमेष हाम्रो मस्तिष्कले केही गर्नुपरेको हुँदैन । हामी मस्तिष्कलाई काम दिन चाहँदैनौँ । तर कहिल्यै नहिँडेको बाटोमा हिँड्नुस् तपाईं कति सचेत हुनुहुनेछ । त्यतिखेर तपाईंको मस्तिष्कले काम गर्दै रहेको हुनेछ ।
मस्तिष्कलाई हमेसा क्रियाशील गर्नकै लागि भए पनि मैले कला–साधनाको बाटो रोजेँ । त्यस्तै हरेक दिन नवीन जीवन बाँच्नका लागि पनि मैले यो मार्ग लिएँ । त्यसो त भाषासँग खेल्नु, कलासँग रमाउनु मेरो अनुराग हो । जीवनको लक्ष्य पनि हो । साहित्यप्रतिको तृष्णाले मेरा अन्य अभिलाषा मर्दै बाँच्दै रहेका छन् । त्यसरी बाँच्दै मर्दै गरेका आकाङ्क्षाप्रति मलाई कुनै शोक छैन, सन्ताप छैन, सन्ताप त त्यतिखेर हुनेछ, जतिखेर मेरो साहित्य डगमगाउनेछ । जसका लागि मैले जीवनका धेरै अमूल्य थोकसँग सम्झौता गरिरहेकी छु ।
हामीजस्तो सोच्छौँ, त्यस्तै बन्न सक्ने शक्ति हामीसँग हुँदाहुँदै किन हामी केही बनिरहेका हुँदैनौँ ? या त खराब बनिरहेका हुन्छौँ ! यस्तो कुरा सोच्दै म अहिले खुला सडकमा हिँडिरहेकी छु ।
यसरी साहित्यमा लाग्नुको मेरो अर्को अनौठो तात्पर्य छ— म कदापि प्रौढ हुन चाहन्नँ, प्रौढता मन पराउँदिनँ । साहित्यमा म सदा जवान भएर बाँच्नेछु । मेरा पात्रहरू सधैँ जवान हुनेछन् । तिनै पात्रसँग म जीवनको संवाद गर्नेछु । तिनै पात्रसँग म प्रेम गर्नेछु, जीवनका दुःखसुख साट्नेछु । सिर्जनात्मक भई मस्तिष्कलाई समेत प्रौढताको मार्गमा नजान रोक्नेछु, भनौँ म मस्तिष्कलाई जन्माइरहने छु, भनौँ म मस्तिष्कका पुराना सेलहरू मार्दै रहनेछु ।
अचानक म अर्कै कुरा सोच्न पुग्छु । अघिको शृङ्खला कता हराउँछ कुन्नि । ए साँच्ची मेरो मनमा अहिले एउटा विचार आउँदै छ । जीवन बाँच्नुको रहस्य म खोज्दै छु । जीवन बाँच्न पनि एउटा हिम्मत चाहिने रहेछ । अनि त्यसका लागि अज्ञात पथमा हिँड्न अर्को साहस चाहिने रहेछ । मानिलिऊँ जीवनलाई एउटा पोखरीका रूपमा लिँदा के फरक पर्ला र ? त्यो पोखरी कति गहिरो छ, त्यसमा विचार नगरी जोडले हाम्फालौँ । पौडिँदा पौडिँदै त्यस क्षण जीवन रक्षाका खातिर अनौठा–अनौठा तरिका जन्मिएलान् । कति जीवनहरू उत्रिने तरिका नजानेरै मर्लान्, तर जतिले जान्दछन्, तिनले निश्चय बुझ्नेछन् अज्ञाततर्फको यात्रा कति आविष्कारक हुने रहेछ ।
म अहिले खुसी छु । कति कारणले म खुसी भएँ ? त्यो थाहा पाउँछु, कृतज्ञ भावले यसरी खुसी भएकी रहेछु । बाफ्रे जन्मँदै मानिसले कस्तो अद्भुत उपहार पाएको रहेछ । परन्तु उसलाई थाहै छैन, आफूसँग यस्तो अद्भुत कुरा प्राप्त छ भन्ने ! जगत्का ठुल्ठुला मानिस र साना मानिसबिच फरक नै के रहेछ र ? फरक त त्यति रहेछ— कोही कम्ती मानिसले मात्र आफ्नो अमूल्य उपहारलाई पहिचान गर्न सकेका हुने रहेछन् । त्यसलाई उपभोग गर्न जानेका हुने रहेछन् । धेरै मानिस त्यसलाई नचिनेर व्यर्थ हुँदा रहेछन्, व्यर्थ बाँच्दा रहेछन् । हामीजस्तो सोच्छौँ, त्यस्तै बन्न सक्ने शक्ति हामीसँग हुँदाहुँदै किन हामी केही बनिरहेका हुँदैनौँ ? या त खराब बनिरहेका हुन्छौँ ! यस्तो कुरा सोच्दै म अहिले खुला सडकमा हिँडिरहेकी छु । सहरको वातावरण शान्त छ, तन्द्रामा छ— आधा ब्युँझिएजस्तो आधा निदाएजस्तो ।
फाट्टफुट्ट मानिसहरू सलबलाउन थालेका छन् सडकमा । सवारीसाधन पनि एकदम थोरै गुडेका छन् । कति तीव्र गतिमा हुइँकिएका छन्, कति मन्द गतिमा । आफूलाई एकाग्र गर्न म विचारविहीन हुन खोज्छु, तर मुस्किल पर्छ । मनमा के के थोक घुइँचो गर्न आउँछन् । कहिले आफ्नै कथाका, उपन्यासका पात्रहरू संवाद गर्न आइपुग्छन् । कतिले दुखेसो गर्न लाग्छन्— आफूमाथि अन्याय भएको, मैले न्याय गर्न नसकेको भनी । कतिले चुनौतीको भाषा बोलेर जान्छन् । म थरर्र काँप्छु । त्यसै बखत मेरो मनमा फेरि अर्को विचार आउँछ— हाम्रो अन्तश्चेतना भनौँ या प्राण पुरुष भनौँ या मस्तिष्कलाई यो सारा जगत्को ज्ञान छ ।
आत्मा स्वयं प्रकाशमय छ— हाम्रो पूर्वीय दर्शन यही भन्छ । त्यसो हो भने हामीलाई जगत्का सम्पूर्ण कुरा अवगत छ ! अनि किन हामी केही थाहा नभए जस्ता हुन्छौँ त ?
आफैँलाई यस्तो प्रश्न गर्दै थिएँ । नेपथ्यबाट कोही बोल्छ । वरपर हेर्छु, कोही देख्दिनँ । भय र आनन्द मिश्रित एकान्त ठाउँ, डर–डरजस्तो अनुभूति हुन्छ । पदचापको गति बढाउँछु । फेरि त्यही आवाज सुन्छु । कोही भनिरहेको छ, ‘तिमीलाई थाहा नभएको केही थोक छैन । हो तिमीलाई सप्पै कुरा आउँछ । फेरि तिमीलाई केही पनि आउँदैन । किन त्यसो हुन्छ थाहा छ ? किनकि तिमी आफ्नो ज्ञानप्रति सजग छैनौ । आफ्नो सबलताको तिमीलाई बोध छैन । सुन त ! जतिखेर तिमी केही जान्न चाहन्छ्यौ, त्यस बखत तिमीलाई थाहा हुनेछ, त्यो कुरा तिमीलाई पहिल्यै विदित थियो ?’
होइन को बोलिरहेछ यसरी ? कसले ‘तिमी’ भनी सम्बोधन गरिरहेछ ? म अहिले हिँड्दै छु भन्ने नै यहाँ कसलाई थाहा छ ? अनि मेरो मनको कुरा उसले कसरी सुन्यो ? बडो असमञ्जस स्थिति पैदा हुन्छ । मेरो गति रोकिएको छैन । ऊ फेरि बोल्छ, परिचित लाग्छ उसको स्वर । उसको बोली सुन्दा लाग्छ, ऊ मेरै अघि–पछि छ । वरपर हेर्छु फेरि कोही देख्दिनँ ।
अघिको प्रसङ्ग जोड्दै ऊ पुनः त्यही भन्छ, ‘हो तिमीलाई सबथोक आउँछ । तिमी आफ्नो मनसँग जे माग्छौ, उसले त्यही दिनेछ । अनि तिमी जे कुरा जान्न चाहन्छौ, त्यो तिम्रो मस्तिष्कले पूरा गर्नेछ । जस्तो कुराको माग ग¥यो, त्यस्तै दिन ऊ तयार हुनेछ । तिमी चोर बन्नु छ भने र उसले तिमीलाई चोर बन्ने तरिका सिकाउनेछ । साधु हुनु छ भने साधु कसरी बनिन्छ उसले त्यो बाटो देखाउनेछ । धनी हुने इच्छा राख्छौ भने उसले तिमीलाई धनी बनाएरै छाड्नेछ । हो तिमी जे चाहन्छौ, उसले त्यही बनाउनेछ । तर तिमीले तत्परताका साथ चाहनुपर्छ । ...अनि तिमी जस्तो चाहन्छौ, त्यही तिम्रो जीवन हुनेछ... ।’
ऊ बोल्दै थियो, बिचैमा रोकियो । अनुभूत हुन्छ, म उसका बाँकी कुरा सुन्न अधैर्य छु । मेरो समीप हुँदै एउटा छाया फुत्त कट्छ । छाया गएतिर दृष्टि दिन्छु । ए, उनी पो रहिछिन् । प्रायः यही ठाउँमा उनीसँग भेट हुने गर्छ । यति सखारै उनी कहाँ जान लागेकी होलिन् ? भर्खर फक्रिन लागेको कोपिलाजस्ती किशोरी, यति सबेरै बडो निर्भीकता साथ हिँडेको देख्दा म विस्मित हुन्छु । भित्री सडकको सुनसान एरियामा उनलाई यसरी हिँड्न के डर लाग्दैन ?
प्रायः हामी आँखाले बोल्छौ, भाषाको प्रयोग गर्दैनौँ । आपसमा हेराहेर गरेर मुस्काउँछौँ अनि आफ्नो बाटो लाग्छौँ । उनलाई हतार छ, कहीँ पुग्न मलाई पनि हतार छ । कहिले त आँखाले समेत हामी बोल्दैनौँ ।
त्यस दिन मैले बरन्डाबाट आकाश हेरेँ— धुम्मिएको थियो, तर पानी परिहाल्ला जस्तो थिएन । छाता नलिई म निस्केँ । आधा बाटो पुगेपछि पानी दर्कियो । सुरुमा सिमसिम वर्षालाई वास्ता नगरी हिँड्दै थिएँ । म ओसिइसकेकी थिएँ, शिर थापेर अघि बढ्न नसकिने ठुलो वर्षा भएको थियो । सडकपेटीको एउटा घरमा ओत लागेँ, भित्तामा टाँसिएँ । सधैँ जम्काभेट हुने उनी अहिले म बसेकै ठाउँमा आइपुगेकी छन् । शरीरभन्दा कलिकति ठुलो–कालो टीसर्टमा, फ्री साइजको सुरुवाल गलाएकी छन् । कालो र सेता मिसिएको कोठे सुरुवाल र टीसर्टको जोडी सुहाउँदो देखिन्छ, अनि लामो फितावाला ब्याग भिरेकी छन् ।
उनीप्रति मेरो ठुलो जिज्ञासा थियो, ‘बहिनी तिमी कहाँ जान लागेको ?’
मेरो प्रश्नमा उनले भनिन्, ‘कलेज जान लागेको ।’
‘कुन कलेज ?’ उनको उत्तरले उत्सुकता झन् थपिन्छ । उज्यालो मुहारकी उनी अल्पभाषी रहिछिन् । ‘गीताञ्जली’ कलेज भन्दै उनी रोकिइन्, तर मेरा प्रश्न अझै बाँकी थिए, प्रश्नहरू रोकिएनन् ।
‘अनि कुन विषयमा कति पढेकी छौ ?’
मेरो सोधाइमा उनले उत्तर दिन सकिनन् । मैले पनि उनको उत्तर खोजिनँ । उनका कुरालाई लिएर मैले कुनै अवधारणा बनाइनँ । उनका कुरामा विश्वास वा अविश्वास केही गरिनँ । त्यसपछि मैले के सोचेँ कुन्नि ? अहिले सम्झना छैन, सम्झिन खोज्छु, सम्झना आउँदैन ।
यतिखेर उनको छायाले अचानक एउटा रहस्योद्घाटन भएको महसुस हुन्छ । आज आएर बल्ल मैले उनको कुरामा सन्देह गरेँ । अनौपचारिक ड्रेसमा के उनी कलेज जान सक्छिन् ? फेरि यति छिटै कलेज किन जानू ? बाटामा कलेज जाने अरू कोही भेटिएका छैनन् । लाग्छ, कलेज जानेहरू अहिले पनि सुतिरहेकै होलान्, तर उनी म कलेज जान लागेको भन्छिन् ।
यसरी बिहान बिहानै उनी के सोचेर हतारिएकी होलिन् ? उनीसँग कस्ता इच्छाहरू होलान् ? उनको मनोविज्ञानको कल्पना गर्दै म अघि बढ्छु । उनलाई बिर्सिएर अर्कै कुरामा ध्यान मोड्न खोज्छु । परन्तु मेरो मनबाट उनी अहँ हटिनन् । उनका विषयलाई लिएर मनमा भाँती–भाँतीका कुरा आउन थाले । उनको घर कहाँ होला ? बाबुआमा कता होलान् ?
साथीहरूसँग जिस्किँदै कलेज ड्रेसमा पढ्न जाने उनको वाञ्छा कत्रो होला ? भ्रम बोलेरै भए पनि आफ्नो इच्छाको क्षतिपूर्ति उनले गरेको हुनुपर्छ र त भन्छिन्, ‘म कलेज जान लागेको ।’
गीताञ्जली कलेज पढ्न युनिफर्म लगाएर जानुपर्छ भन्ने सायद उनलाई थाहा छैन । अनि अहिल्यै कलेज खुल्दैन भन्ने पनि उनलाई अहँ थाहा छैन । त्यहाँ कुन कुन विषय पढाइ हुन्छ भन्ने पनि उनलाई अवगत छैन र त ‘कुन विषय पढ्छौ ?’ भनी सोध्दा उत्तर दिन अलमल गरिन् । उनीसँग केही उत्तर छैन ।
स्मृतिको त्यो दिन सम्झिएर अहिले थाहा पाउँछु— उनले मलाई ढाँटेकी रहिछिन् । तथापि यतिका समय मैले पत्याइरहेकी थिएँ । उनले आफैँलाई बिर्सिएर बोलेको झुटले मलाई निकै सतायो । उनको अव्यक्त चाहनाको कल्पना गर्दै म संवेदनशील भएँ । सँगै मनमा एउटा विचार आयो— झुट बोल्न जान्नु पनि एउटा कला हो । किन्तु उनको झुटमा केही कला थिएन । त्यस्तै झुट बोल्न पनि ज्ञान चाहिने रहेछ । उनको झुटमा कुनै ज्ञान थिएन । झुट बोल्न कैँयौँ गुणा कठिन रहेछ, सत्य बोल्नुभन्दा । तर उनले कति सहजै झुट बोलिदिइन् । झुट बोलेर आफ्नो आकाङ्क्षाको उनले क्षतिपूर्ति गरिन् सायद ।
झुट बोल्नु उनको रहर होइन, मैले यसरी बुझेँ— झुटभित्र कति धेरै इच्छा, आकाङ्क्षा अनि रहस्य लुकेका हुँदा रहेछन् । हुन सक्छ, यतिखेर उनी कुनै साहु–महाजनका घरमा सहयोगीको काम गर्न जाँदै छिन् । निश्चित समयमा गन्तव्य पुग्नु छ भन्ने भावमा हिँडिरहेकी उनलाई प्रायः म यहीँ भेट्ने गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला