शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
पुस्तक

बेग्लै म : विसङ्गतिपूर्ण समाजको खोतलखातल

शनिबार, २२ भदौ २०८१, १७ : ००
शनिबार, २२ भदौ २०८१

झन्डै तीसको दशकदेखि नेपाली साहित्यमा निरन्तर क्रियाशील उषा शेरचनका तीन कविता सङ्ग्रह, एक उपन्यास र दुई कथासङ्ग्रह भइसकेका छन् । सामाजिक जटिलताभित्र छिरेर साहित्य सिर्जना गर्न मन पराउने उनका गीति एल्बम पनि प्रकाशित छन् । महिलालाई दोस्रो दर्जाको नागरिक ठान्नेहरूविरुद्ध उनी महिलालाई विद्रोहको चेत भर्ने साहित्य लेख्छिन् । महिलाका पीडालाई सत्यापन गर्छिन् र महिलालाई आशावादी हुन सिकाउँछिन् । 

उनको कथा सङ्ग्रह ‘बेग्लै म’मा उषाले बिग्रेका समयका भग्न कहानीलाई लिपिबद्ध गरेकी छिन् । हाम्रो समाजका प्रचलित मूल्य–मान्यताबारे युवापुस्ता भ्रमित मात्र होइन, दिग्भ्रमित छ, यसप्रति कुनै चासो र चिन्ता गर्दैनन् । हामी बाँचिरहेको समय, हामीले जोडेका नाता–सम्बन्ध वा साइनोसँग जोडिएका विषयवस्तुलाई यस सङ्ग्रहका कथामा चित्रण गरिएको छ । यी कथा हाम्रै परिवारभित्र भइरहेका घटनाजस्ता लाग्छन् । 

विभिन्न पात्रहरूका भोगाइ, सुनाइ र अनुभूतिलाई संवादका माध्यमबाट कथा बनाइएका छन् । कथाहरू व्यवहारोपयोगी पनि छन् । पात्रका मार्मिकता भरिएका कथा यही हाम्रो समयका उपज लाग्छन् । थोरै पात्रका बिचका वार्तालापले कथा भरिएका छन् । परिवार र नाता–सम्बन्धका वरिपरि घुमेका कथाले मनलाई सोचनीय बनाउँछन्— कतै फलानो पात्रको हबिगत त मैले बेहोर्नुपर्ने पो हो कि ? फरक पात्रका फरक मनोगत भावहरू पनि कथाहरूमा अभिव्यक्त भएका छन् । समाजका विभिन्न मान्छेका जिन्दगीका भोगाइ कथाका प्लट बनेर देखापरेका छन् । आफ्नै वरपरका कथानकता टपक्कै टिपेर आख्यानीकरण गर्ने कथाकारको आफ्नै तरिका छ । 

prdipसमकालीन नेपाली समाजमा खिइँदै गएको साइनो–सम्बन्ध, ह्रास हुँदै गएका प्रचलित मूल्य–मान्यताको चित्रात्मक प्रस्तुति नै उनका कथाका अन्तर्वस्तु पक्ष देखिएका छन् । यसमा प्रेम र यौन सम्बन्धका विषयले पनि प्राथमिकता पाएका छन् । कथाहरूमा यौनिक प्रस्तुतीकरण पनि घनीभूत भएर आएका छन् । मानिसका जीवनमा देखापर्ने मनोदशाहरू पनि कथामा परेका छन् । आधुनिकताका नाउँमा मान्छे विभिन्न विकृति र विसंगतिमा अल्झेको कुराको चित्रण पनि कथाहरूले गरेका छन् । मान्छेका सम्बन्धमा आएका विडम्बनाहरू, जसले मान्छेको जिन्दगी विक्षिप्त पारेको हुन्छ, त्यसमा पनि महिलाहरूको भोगाइका फेहरिस्तहरू कथाहरूले उजागर गरेका छन् । महिलाका कथा–व्यथा र छटपटीलाई कथामार्पmत उघारिएको छ । कुनै कुनै कथाले त पाठकलाई झड्का दिएर रन्थनाइदिन्छ । हृदयलाई संवेदित बनाउने कथा छन् । सम्बन्धको मूल्य र महत्त्वलाई अनदेखा नगर्न सन्देश प्रवाह पनि यी कथाले गरेका छन् । 

यी कथा वर्तमान समयको यथार्थवादी धारमा बगेका छन् । मानवीय भावना कमजोर बन्दै गएका लक्षणहरू पनि पात्रहरूमार्फत कथामा देखाउन कथाकार सफल छन् । मनोसामाजिक यथार्थलाई कथाहरूले प्रकट गरेजस्तो लाग्छ । बदलिँदो समयसँगै मानिसका आवश्यकता, चाहना र आकांक्षा पनि बदलिन्छन् भन्ने भाव कथामा सम्प्रेषित भएका छन् । 

हामी बाँचिरहेको समय, हामीले जोडेका नाता–सम्बन्ध वा साइनोसँग जोडिएका विषयवस्तुलाई यस सङ्ग्रहका कथामा चित्रण गरिएको छ । यी कथा हाम्रै परिवारभित्र भइरहेका घटनाजस्ता लाग्छन् ।

कथामा शेरचनको आफनै शैली छ । आफुले देखेभोगेका सत्यतथ्य विषयलाई कथ्य विषय बनाएर कथा सिर्जना गर्न खप्पिस कथाकार विभिन्न पात्रमार्फत समाजका मानिसका चरित्र चित्रण गर्न सफल देखिन्छिन् । आयामका हिसाबले कथाहरू लामा छन् । उद्देश्यगत रूपमा हेर्दा कथाहरूले व्यस्तताका कारण समय व्यवस्थापन गर्न नसक्ने वर्तमान पुस्तालाई समय र सम्बन्धको महत्त्व दर्शाउन खोजेको बुझिन्छ । परिवेश हेर्दा वर्तमान नेपाली समाज र प्रवासिएको नेपाली समाजका अवयव कथाले दर्शाएका छन् । कथामा महिला र पुरुषबिच समानताको माग गरिएको प्रस्ट देखिन्छ । सम्बन्धका अनेक रङभित्र कथाहरू घोलिएका छन् । 

श्रीमतीहरू साटासाट गरेर यौन सम्बन्ध राख्ने क्लबमा जान विवश बनाउने श्रीमान् र अरुचि देखाउने श्रीमतीको कथा हो, कारको चाबी । जसले दुवैको आपसी सम्बन्धमा दरार ल्याएको छ । अन्त्यमा श्रीमतीको आदत नै बन्छ र सम्बन्धमा बदलाव आउँछ । आफ्नैबाट गिद्धे नजरमा परेकी बुहारीलाई अर्काे विवाह गर्न सुझाउने सासु र छोरा–बुहारी दुवै बनेर सासुको बुढेसकालको सहारा बन्न खोज्ने चरित्रकी बुहारीको कथा हो, सुरक्षा । 

मानिसका स्वभाव र विचार अलगथलग हुन्छन् । त्यसैले सबै पुरुष र महिलालाई एउटै बास्केटमा हाल्न हुन्न भन्ने सन्देश दिने कथा हो, पारपाचुके । बाउआमाका बिचमा आएका सम्बन्धको दरारले छोराछोरीमा पनि मनोवैज्ञानिक असर पर्छ भन्ने कथामा बडो सरल तर गहिरो रूपमा चित्रण गरिएको छ । भुलबाट मानिसले सिक्नुपर्छ भन्ने सन्देश पनि दिन खोजिएको छ ।

अमेरिकामा नेपाली जीवनको कथा हो, कस्तो हुन्थ्यो होला ? नेपालीको अमेरिकी दैनिकी आएको छ, कथामा । त्यहाँको व्यस्तता, साइनो–सम्बन्धलाई प्लास्टिकमा चलेको अमेरिकी जीवनसँग तुलना गरिएको छ । 

‘त्यो उनको अतीत थियो’ कथामा सासुले बुहारीलाई गर्ने बुहार्तनभन्दा फरक व्यवहार गरिएको देखाइएको छ, परम्पराभन्दा पृथक् । अतीतलाई वर्तमानमा सम्झेर दुःखी हुनु वा अरुलाई दुःख दिनु नहुने सकारात्मक सन्देश पनि कथाले प्रवाह गरेको छ । 

अमेरिकी परिवेश आएको ‘लड्डु’ कथामा विवाहित भएर एक्लो जिन्दगी जिउने र विवाह नै नभएकी एक्ली महिलाको संवाद जोडिएको छ । विवाहलाई लड्डुको उपमा दिइएको कथामा लड्डु खाएरै पछुताउनपर्ने निष्कर्ष छ ।

विभिन्न स्वभाव र चरित्र भएका तीन युवाहरूको कथा हो, फ्ल्याट नम्बर आठ । महँगो फी भएको कलेज पढ्ने उनीहरू अत्याधुनिक फोन, ल्यापटप र पल्सर बाइक प्रयोग गर्छन् । महिलाहरूको यौनेच्छा पुरा गरिदिएबापत पाएका हुन्, यी सबै सुख–सुविधा । अहिलेको समाजको नकारात्मक तर यथार्थपरक कथा लाग्छ यो । 

यस्तै ‘पे्रम हो कुनै ऐयासी होइन’ अनौठो प्रेमकथा हो भने ‘खेलौना’ले यौनलाई जैविक आवश्यकता मानेको छ । पुरुषको महिलालाई हेर्ने दृष्टिकोणलाई कथाले मज्जैले उजागर गरेको छ । महिलाप्रतिको पुरुषको आशक्ति यसमा आएको छ । ग्राहकको खोजीमा भौँतारिएकी एक महिलाले विभिन्न कारणले पीडित भएका महिलालाई सम्मानित जीवन जिउन सहयोग गर्ने संस्थाको सञ्चालकलाई पाएपछि उनको मनमा आएका मनोभावहरू कथामा प्रकट भएका छन् । सबै महिला वा पुरुष एकै हुन्नन् र वेश्यावृत्तिमा लाग्ने महिला रहरले लागेका हुँदैनन् भन्ने यस कथाका पात्रमार्फत मिहीन ढंगले आएका छन् । 

हाम्रा तिजजस्ता चाडबाडमा भित्रिँदै गरेका विकृतिको सचित्र वर्णन गरेको छ, ‘तीजको दिन’ कथाले । यस्तै, ‘दोष कसको कथा’ बडो मार्मिक छ । यसमा एउटा प्रहरीको दैनिक बलात्कारको सिकार भएकी विवश युवतीले बच्चा जन्माएर फाल्न बाध्य भएको कथानकता बुनिएको छ । 

यसैगरी आफ्नै हजुरबाबाट पटक–पटक बलात्कृत नातिनीको कथा हो, ‘एउटा बेग्लै उडान’, जहाँ हाम्रा समाजमा लुकेका काला पक्षको भयानक वर्णन गरिएको छ । मनै विक्षिप्त पार्ने कथा हो यो । 

हाम्रो संस्कारजनित कथा हो, साउनको व्रत । पितृसत्ताको विद्रूप अवस्थालाई यो कथाले उजागर गरेको छ । ‘विभेना’ पनि यस्तै कथा हो । पुरुषप्रधान समाजमा उसको दम्भित स्वभावलाई कथाले औँल्याएको छ । 

समाजका अनेकौँ अवयवको चित्रण गरिएको कथा हो, ‘कथाभित्रको अनेक कथा’ । शीर्षक कथा ‘बेग्लै म’ यौनिकताप्रति समाजले हेर्ने नकारात्मक दृष्टि, फरक प्रकृतिको सन्तान जन्मदा परिवारले गर्ने लज्जाबोध लगायतमा केन्द्रित छ । बेग्लैपनलाई समाजले सहर्ष स्वीकार गर्नुपर्नेमा कथाले जोड दिएको छ ।

केही थान लघुकथाहरू कृतिमा समावेश गरिएको छ । लोप, जनावर, वार्ता, दोषारोपण लगायत शीर्षकका लघुकथा प्रस्तूति र कथानकताका दृष्टिले विशेष देखिएका छन् । यी लघुकथाले मानिसको एकाङ्कीपनको सत्यापन पनि गरेका छन् । जनावरको उपमा पनि मान्छेको हिंस्रक व्यवहारका कारण आएको छ ।

समसामयिक राजनीति पनि यी लघुकथाका कथानक बनेका छन् । यी लघुकथामा वर्तमान नेपाली राजनीतिमा देखापर्ने पात्रको चरित्र मज्जैले चित्रण गरिएको छ । 

यी कथा तथा लघुकथाहरु भाषाशैलीका हिसाबले सरल र सहज छन् । त्यसैले यी कथाहरू सामान्य पाठकले पनि बुझ्न सक्छ । कथाकथनको शैली वर्णनात्मक र लम्बेतान देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप सापकोटा
प्रदीप सापकोटा
लेखकबाट थप