राबिया : सौन्दर्यको जाल फ्याँकेर पुरुषलाई ज्ञानतिर आकृष्ट गर्ने अद्भुत नारी

राबिया अल–अदबियाको जन्म इराकको बसरा सहरमा सन् ७१३ मा भएको थियो, एउटा अत्यन्त गरिब मुसलमान परिवारमा । राबिया सानै छँदा उनका बाबुआमाको निधन भएको थियो । राबिया धेरै कष्टले आफ्ना दिदीबहिनीहरूसँग हुर्कंदै थिइन् । त्यही बेला देशमा ठुलो अनिकाल पर्यो र राबियासहित चारजना दिदी–बहिनी छिन्नभिन्न भए ।
एउटा लोभी मानिसले राबियालाई केही पैसाको लोभमा एक धनी मानिसलाई बेचिदियो । त्यो धनी मानिस बडो स्वार्थी र निर्दयी स्वभावको थियो । उसले राबियालाई अनेक तरहका यातना दिन थाल्यो । राबिया एक्लै हुँदा रोएर ईश्वरसँग आफ्नो दुःख सुनाउँथिन् । पूरा ब्रह्माण्डमा ईश्वर सिवाय उनलाई सान्त्वना दिने कोही थिएन । गरिब–अनाथको यो जगत्मा नाथ सिवाय अरु को हुन सक्थ्यो र ?
मालिकको दुःखबाट छुटकारा पाउन एक दिन राबिया त्यो घरबाट भागिन् । तर ईश्वरको नियति अर्कै थियो होला । लेखेको कहिले पनि मेटिँदैन, देखेको पाइँदैन । केही पर गएपछि उनी लडिन् । उनको दाहिने हात भाँचियो, विपत्तिमा झन् विपत्ति थपियो, तर औँसीको रातपछि जहिले पनि पूर्णेको उज्यालो रात अवश्य आउँछ । विपत्ति सीमामा पुगिसकेपछि सुखका दिन अवश्य फर्किन्छन् । एकपटक राबियाले रुँदै भगवानसँग प्रार्थना गरेकी थिइन्, उनले तत्कालै एउटा दिव्यवाणी सुनिन्– ‘राबिया, तिम्रो यो दुःख अब बिस्तारै हराउँछ । तिमीलाई देवताले पनि पुज्नेछन् । पृथ्वीभरि तिम्रो महिमा गाइनेछ ।’
उनी यो सुनेर खुसी भइन् । उनी प्रशन्न चित्त भएर पुनः मालिकका घरमा फर्किन् । अब उनको जीवन नै बदलियो । काम गरिरहँदा पनि उनी प्रभुलाई सम्झिरहन्थिन् । उनी राति भगवानलाई सम्झिन्थिन्, भजन गर्थिन् । भक्तिभावले उनी तेजस्वी पनि हुँदै गइन् । एक दिन राति उनले भगवानको भजन गाइरहेकी थिइन् । उनका मालिकको निद्रा टुट्योे । राबियाको मिठो भजनको आवाज उसलाई पनि मन पर्यो । राबियाको ढोका नजिकै गएर उसले चियाएर भित्र हेर्यो । राबियाको कोठा अलौकिक उज्यालोले भरिएको थियो । राबियाले गरेको प्रार्थनाले मालिकको हृदय पनि परिवर्तन भयो ।
राबियाको भक्तिपूर्ण प्रार्थना सुनेर मालिक चकित भयो । ऊ बिस्तारै राबियाको नजिकै गयो । राबियाको ललाटमा दिव्य ज्योति फैलिएको थियो । उनको मुखमण्डल आभाले भरिएको थियो । त्यो देखेर मालिक चकित मात्रै परेन, राबियाप्रति उसको मनमा ठुलो श्रद्धा उत्पन्न भयो । अनि उसको मनमा आयो— ‘मैले यस्ती दिव्य देवीलाई एउटा नोकर्नी बनाएर ठुलो पाप गरेँ । यस्ती देवीलाई मैले सेवा गर्नुपर्छ ।’
राबियाको नजिकै गएर उसले भन्यो, ‘राबिया ! मैले तिमीलाई अहिलेसम्म चिन्न सकेको थिइनँ, तिम्रो भगवत–भक्तिले मेरो आँखा खोलिदिएको छ । अब तिमीले मेरो सेवा गर्नुपर्दैन । तिमी आनन्दले मेरो घरमा बस । म नै तिम्रो सेवा गर्नेछु ।’
राबिया भन्छिन्, ‘स्वामी, हजुरले मेरो सेवा गर्नुपर्दैन । हजुरको घरमा बसेर मैले धेरै कुरा सिकेँ । अब मलाई यहाँबाट बिदा गरिदिनुस् । म यहाँबाट जान चाहन्छु । मरुभूमिको एकान्तमा गएर भगवानको भजन गर्न चाहन्छु ।’
मालिकले राबियाको कुरा स्विकार्यो । राबिया अब गुलामीबाट छुटेर आफ्नो सारा समय भजन र ध्यानमा बिताउन थालिन् । उनको हृदयमा प्रेमको वर्षा हुन थाल्यो । संसारप्रतिको आशक्तिबाट उनी विमुख हुँदै गइन् । आफ्नो सम्पूर्ण जीवन उनले परमात्माका चरणमा अर्पण गरिन् ।
उनलाई रहस्यवादी नारी पनि भनिन्छ । उनी पहिलो सुफी महिला हुन् । सुफीवाद इस्लामको रहस्यमय पक्ष हो । सुफीवाद इस्लाम धर्मको एक शाखा हो, जसले रहस्यवादलाई जोड दिन्छ । रहस्यवाद शब्दले असंख्य विश्वका धर्ममा पाइने प्रवृत्तिलाई बुझाउँछ, जसमा अभ्यासकर्ताले ईश्वरसँग नजिकको आध्यात्मिक निकटता प्राप्त गर्ने प्रयास गर्छन् । यसै सन्दर्भमा उनीसँग जोडिएको एउटा घटना छ ।
एकचोटि इरानबाट एउटा धनी युवक बसरा आउँछन् । उनी त्यहाँका मानिसलाई सोध्छन्, ‘के यहाँ केही यस्तो विशेष कुरा छ, जुन सामान्यभन्दा बिल्कुल अलग होस् !’
सबैले उसलाई एउटै जवाफ दिन्छन्, ‘हामीसँग संसारकै सबभन्दा सुन्दर महिला छन् ।’
युवकको रुचि जाग्नु स्वाभाविक हो, अनि उनले सोधे, ‘उनलाई कहाँ भेट्न सक्छु मैले ?’
उनीहरू सबै हाँस्दै भन्छन्, ‘अरे, अन्त कहाँ ? एक वेश्यालयमा ।’
यो सुनेर ती धनी युवक एकछिन त विचलित भए, तर अन्त्यमा उनी वेश्यालय जाने निर्णय गरे । जब उनी वेश्यालय पुग्छन्, भित्र पस्न ठुलो शुल्क तिर्नुपर्ने हुन्छ ।
भित्र एउटा शान्त र साधारण कोठा थियो, जहाँ राबियाले प्रार्थना गरिरहेकी थिइन् ।
कस्तो अद्भूत सुन्दरता ! उसले आजसम्म सपनामा पनि यस्तो सुन्दरता र गरिमा देखेको थिएन । त्यहाँ हुनु नै उसलाई एक आशीर्वाद थियो । त्यो प्रार्थनात्मक वातावरणले उसलाई प्रभावित गर्यो । उसले आफूभित्र जागेको कामुकतालाई बिर्सियो । उसलाई नशा चढेको भान भएको थियो, एकाएक ऊ ईश्वरसँग जोडिन पुग्यो ।
एक घन्टा बित्यो, उसलाई महसुस भयो कि ऊ कुनै मन्दिरमा छ । ओहो यस्तो आनन्द र यस्तो पवित्रता ! उसले राबियाको सुन्दरतालाई एकटकले हेरिरह्यो, तर त्यो शरीरको सुन्दरता थिएन, त्यो ईश्वरीय सुन्दरता थियो । अब शरीरसँग उसको कुनै लिनु–दिनु थिएन । त्यो पूर्णरूपमा अलौकिक थियो ।
राबियाले आफ्नो सुन्दरताको उपयोग एक जालको रूपमा गरिन् । जसरी बुद्धले आफ्ना शब्दलाई, कृष्णले आफ्नो बाँसुरीलाई तथा मीराले आफ्नो नृत्यलाई एक जालको रूपमा उपयोग गरे ।
राबियाले बिस्तारै आफ्नो आँखा खोल्छिन्, ती कमलजस्ता आँखालाई उसले हेरिरहन्छ । अब उसको सामु कुनै स्त्री हुँदिनन्— ऊ ईश्वरको सामना गरिरहेको हुन्छ । यही प्रकारले केवल एक क्षणजस्तो भएर पूरा रात बित्छ ।
उसले राबियालाई भन्यो, ‘अब म तिम्रो दास भएको छु । मलाई भन कि म तिम्रा लागि दुनियाँभरिको जे पनि गर्न सक्छु, भन के गरुँ ?’
राबिया भन्छिन्, ‘मेरो केवल एक सानो प्रार्थना छ ।’
‘कस्तो प्रार्थना ?’
राबिया भन्छिन्, ‘कहिल्यै कसैलाई यो नभन कि तिमीले यहाँ के देख्यौ ? र के अनुभव गर्यौ ? मानिसलाई मकहाँ आउन देऊ– यो सुन्दरता उनका लागि एक जाल मात्र हो । म यसको उपयोग एक ढोकाको रूपमा मात्र गर्छु, ताकि उनीहरू ईश्वरमा प्रवेश गर्न सकून् । कृपया, मलाई वचन देऊ, तिमीले आज राति जुन अनुभव गरेका छौ, त्यो कसैलाई भन्नेछैनौ । उनीहरूलाई यो वेश्याको वेश्यालयमा आउन देऊ, अन्यथा उनीहरू कहिले पनि म कहाँ आउँदैनन् ।’
‘ओहो, यो नै यो सहरको रहस्य हो । पूरा सहर तिम्रो सुन्दरताका पछाडि लागेको छ, तर पनि कसैले मलाई आफ्नो अनुभवका बारेमा भनेनन् ।
राबिया हाँँस्दै भन्छिन्, ‘हो, मैले सबैलाई एउटै वाचा गराउँछु ।’
राबियाले आफ्नो सुन्दरताको उपयोग एक जालको रूपमा गरिन् । जसरी बुद्धले आफ्ना शब्दलाई, कृष्णले आफ्नो बाँसुरीलाई तथा मीराले आफ्नो नृत्यलाई एक जालको रूपमा उपयोग गरे ।
युवक ईश्वरको खोजमा थिएन, उसले त एक सुन्दर शरीर, एक सुन्दर महिलामा रुचि राख्थ्यो, तर ऊ आफैँ जालमा फस्यो । ऊ त्यहाँ आफ्नो जोसका कारण गएको थियो । जब ऊ राबियाको नजिक भयो, उसको जोस प्रार्थनामा परिवर्तन भयो ।
एक बिहान राबिया आफ्नो झुपडीभित्र बसिरहेकी थिइन् । सूर्य उदाउँदै थियो, चराहरू गाइरहेका थिए, बिस्तारै हावा चलिरहेको थियो । हावाको चालसँगै रूखका पात नाचिरहेका थिए । साँच्चै सुन्दर र अद्भुत बिहानी थियो । राबियालाई भेट्न साथी हसन आए ।
‘राबिया, भित्र के गर्दै छौ ? बाहिर आऊ । यस्तो सुन्दर बिहानी भगवानले दिनुभएको छ । भित्र एक्लै के गर्दै छौ ?’
राबियाले हाँस्दै भन्छिन्, ‘हसन, बाहिर भगवानको सृष्टि मात्र हो, भित्र भगवान स्वयं हुनुहुन्छ । के तिमी भित्र आउन हुन्न ? हो, बिहानी सुन्दर छ, तर बिहानी सृष्टि गर्नु हुने सृष्टिकर्ताको तुलनामा यो केही होइन । हो, ती चराहरू राम्ररी गाउँछन्, तर तिनीहरूलाई परमेश्वरको गीतसँग तुलना गर्न सकिँदैन । यो तब मात्र हुन्छ, जब तिमी भित्र हुन्छौ ।’
एक साँझ मानिसहरूले उनलाई उनको झुपडी अगाडिको सडकमा केही खोजिरहेको देखे । उनीहरू एकसाथ भेला भए र सोधे, ‘के खोज्दै हुनुहुन्छ ?’
उनले भनिन्, ‘मैले मेरो लुगा सिउने सियो हराएकी छु । त्यही खिज्दै छु ।’ उनीहरूले पनि सहयोग गर्न थाले ।
त्यसपछि कसैले भने, ‘राबिया, सडक ठुलो छ र अँध्यारो बढ्दै छ र बत्ती पनि छैन । सानो सियो कहाँ खसेको हो भन्ने ठ्याक्कै नभनेसम्म पाउन मुस्किल हुन्छ ।’
राबियाले भनिन्, ‘यदि तपाईं मलाई मद्दत गर्न चाहनुहुन्छ भने गर्नुस्, अन्यथा यस्ता कुरा नगर्नुस् ।’
सियो खोजिरहेका सबै रोकिए भने, ‘कुरा के हो ? कहाँ खसेको हो ठाउँ भन्नुभएन भने हामीले कसरी सहयोग गर्ने ?’
उनले भनिन्, ‘सियो त मेरो घरभित्र खसेको छ ।’
उनीहरूले भने, ‘त्यसो भए के तपाईं पागल हुनुभयो ? घरभित्र खसेको हो भने यहाँ किन खोज्दै हुनुहुन्छ ?
उनी भन्छिन्, ‘किनकि उज्यालो यहाँ छ । घरभित्र बत्ती छैन, अँध्यारो छ ।’
त्यत्तिकैमा कसैले भन्यो, ‘यहाँ उज्यालो भए पनि सियो यहाँ हराएको छैन भने किन यहाँ खोज्ने ? सही तरिका भनेको घरभित्र उज्यालो ल्याउनु हो, ताकि तपाईंले सियो फेला पार्न सकियोस् ।
राबियाले हाँस्दै भनिन्, ‘तपाईंहरू साना कुरामा चतुर हुनुहुन्छ, तर जीवनका लागि तपाईंहरू बुद्धिको प्रयोग कहिले गर्नुहुन्छ त ? मैले पनि तपाईंहरूलाई बाहिर केही खोज्दै गरेको देखेकी छु । मलाई राम्रोसँग थाहा छ, मेरा अनुभवहरुले यो भन्छन् कि तपाईंंहरूले खोजिरहनुभएको कुरा तपाईंभित्र छ । तपाईंहरूले खोजेको आनन्द, तपाईंभित्रै छ तर पनि बाहिर खोज्दै हुनुहुन्छ । अनि तर्क गर्नुहुन्छ कि आँखाले सजिलै बाहिर देख्न सक्छ, हातले सजिलै बाहिर खोज्न सक्छ, प्रकाश बाहिर छ, त्यसैले हामी बाहिर खोज्दै छौँ । तपाईंहरू साँच्चै बुद्धिमान् हुनुहुन्छ भने आफ्नो बुद्धि प्रयोग गर्नुस् । किन बाहिरी संसारमा आनन्द खोज्दै हुनुहुन्छ ? के तपाईंको आनन्द संंसारमा हराएको हो र ?’
उनीहरू स्तब्ध भए । राबिया घरभित्र पसिन् ।
राबियाको जीवनमा यस्ता थुप्रै घटना घटेका छन्, जसले उनलाई अमरत्वमा पुर्याएको छ । साथै सम्पूर्ण मानवतामा गहिरो अन्तर्दृष्टि दिएको छ ।
उनी भन्ने गर्थिन्— तपाईंसँग सही प्रश्न छ भने कसैबाट जान्नुपर्ने आवश्यक छैन, केवल आफ्नो आँखा बन्द गर्नुस् र आफैँभित्र सही प्रश्न सोध्नुस् । तपाईंले आफैँभित्र सही जवाफ पाउनुहुनेछ । समस्या सही उत्तरको होइन, समस्या दिमागको हो, समस्या तपाईं आफैँ हो ।
ओशोका प्रवचनमा बारम्बार सुनिने सन्त–फकिरमध्ये राबिया एक मात्र महिला सन्त हुन् । हुन त मीरा पनि हुन् । मीरालाई उनले धेरै ‘मिठो’ भनेका छन् भने राबियालाई ‘नमकिन’ भनेका छन् । ओशो भन्छन्, ‘मलाई मधुमेह छ, त्यसैले म धेरै मिठो खान सक्दिनँ । तर राबिया नमकिन हुन्, म जति पनि खान सक्छु ।’
राबिया जीवित हुँदासम्म उनको गाउँ तीर्थस्थल बन्यो । संसारभरिका यात्रु राबियाको कुटी खोज्दै आउँथे । उनी साँच्चै एक क्रूर रहस्यवादी थिइन्, उनले कसैको पनि बुद्धि सजिलै भुटिदिन्थिन् । उनले वास्तवमा धेरैको बुद्धि भुटिन् र लुकेको सार बाहिर ल्याइन् । उनी बुद्धको वर्गमा पर्छिन् । स्वाभाविक रूपमा उनी विलक्षण प्रतिभाकी धनी थिइन् ।
शाब्दिक रूपमा ‘राबिया’ शब्दको अर्थ हो, चौथो । अध्यात्मको मूल अवस्था चारवटा छन्— जागरण, सपना, सपनाविहीन निद्रा र समाधि । यसबारे उपनिषदमा खुलाइएका छन् । यसरी हेर्दा उनको नामले मात्र पनि उनका बारेमा धेरै भन्छन् ।
राबियाले उपदेश दिन्नथिन्, केवल आफ्नो सानो–सानो कृत्यले अन्तर्दृष्टि दिन्थिन् । उनी आत्मसाक्षात्कारप्रति जोड दिन्थिन् ।
उनी भन्ने गर्थिन्, ‘म आफ्नो जीवन त्यसरी नै बाँच्छु, जस्तो मलाई लाग्छ । तपाईंहरू पनि आफ्नो अनुभवमा बाँच्ने गर्नुस्, अनुभूतिलाई महसुस गर्नुस् । राबिया सम्पूर्ण मानव इतिहासमा दुर्लभ महिलामध्ये एक हुन् । राबियासँग तुलना गर्न सकिने मीरा, थेरेसा, लैला केही नाम मात्र छन् । तर पनि उनी एक कोहिनुर हुन्, अर्थात् यो जगतकी सबैभन्दा बहुमूल्य महिला । उनको अन्तर्दृष्टि अपार थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु