शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

भूपाल राईका तीन कविता

शनिबार, २२ भदौ २०८१, १४ : ३०
शनिबार, २२ भदौ २०८१

१) ह्यारी हिल

समाजशास्त्रभन्दा जेठो
एउटा समाज
जो शास्त्रभन्दा धेरै पर
त्यहीँ थियो,
त्यहीँ थिए नृतत्वविज्ञानभन्दा जेठा मानिसहरू
जहाँ सबभन्दा पहिले पुगेको थियो
हावाको पुर्खा
र दिई गएको थियो भाषा

जन्मिएकै थिएन अर्थशास्त्र
थिएन कुनै अङ्कगणित 
कला, विज्ञान
धर्म, कानुन
न थियो जन्मिएको कुनै दर्शन
जहाँ पहिलोचोटि बल्यो
आगोको प्रथम नस्ल
र रोपिदियो
जीवनको बीउ अक्षर

कहाँ थियो र उत्तरआधुनिक कविता ? 
विचारको नवउदारवादी घोषणा !
र, रङ्गशालामा घन्किने राष्ट्रिय गान ! 
पुग्यो सबभन्दा पहिले
खोलाको पहिलो पुस्ता
र छाडिगयो मानिसको ओँठमा सङ्गीत

वेद, बाइबल
त्रिपिटक, कुरान
लेखिएकै थिएनन् कुनै पनि धर्मग्रन्थ
खुल्यो पहिलोचोटि
माटोको कुमारी कागज
र लेखियो माटोकै किताब

हावा, पानी, घाम, ढुङ्गामाटो
जङ्गल, खोला, पर्वत
सब मिलेर सजाइदिए
मानिसको सबभन्दा पहिलो प्रेमनगर

पाहुनाहरू
पाहुनाहरूले बोल्ने वाचाल भाषा
र कब्जादार जुत्तामा आभूषित
जङ्गी राज्यको खुट्टा त 
धेरै पछि पुगेको हो त्यहाँ

धेरै पछि
कोही घोडा चढेर
कोही मान्छे चढेर 
कोही गाडी, हेलिकप्टर
र कोही वित्तीय हावाको पखेटा चढेर
कुनै न कुनै ब्रान्डेड तलुवासँगै 
पुगेको हो खुट्टा

र खुट्टा
जब पुग्छ त्यहाँ
टेक्छ सबभन्दा पहिले माटोकै मातृसत्ता
र फर्किंदा
भत्काउँदै फर्किन्छ त्यहाँको शास्त्रहीन समाज
निभाउँछ आगोको आद्य–सौन्दर्य
मेट्छ हावाको भाषा
खोलाको सङ्गीत
र च्यात्छ पहिलो पहिलो किताब

ठीक यसरी नै एक दिन
चढ्दै चढ्दै
अचानक आइपुग्यो
राजकुमार ह्यारीको खुट्टा त्यहाँ
सुमसुम्यायो एक जोर आरोही खुट्टाले
भूकम्पग्रस्त बस्ती
चिठ्यो उदार आयतनको हातले
क्षतिग्रस्त स्कुलको पर्खाल
र खेल्दै ससाना नानीहरूसँग
चढ्यो शीर्ष खबर भएर
राष्ट्रिय छापाहरूको टांगन घोडा

तर चढ्दै चढ्दै
एक जोर ब्रान्डेड जुत्ताले 
जब चढ्यो
सबै शास्त्र र विज्ञानभन्दा पुरानो ‘तमु डाँडा’
अचानक बदलिएर इतिहासभन्दा जेठो 
एउटा इतिहास
रातारात
परिणत भयो ‘ह्यारी हिल’मा

बिचरा ! जेठा मानिसहरूलाई थाहा छैन
यसरी नै अचानक
आइपुग्छ अन्जान गाउँतिर
कुनै पाहुना खुट्टा
अचानकै गर्छ गोप्य शास्त्रार्थ
र क्षणिक पद–विलास
र ठडिन्छ एकै रातमा 
आफ्नै छालामाथि
कुनै ‘ह्यारी हिल’ ।
००

२) खुर्पे जून

सानो छँदा
जून हेर्थें– खुर्पे जून
आमाले भिरिरहेको खुर्पा सम्झिन्थेँ
र भन्थेँ–
‘बाबा, झारिदिनू त्यो चाँदीको खुर्पा...

बिँड लगाउँछु
घाँस खुर्किन्छु
एक छाक, एक अगेना दाउरा काटेर
अलिकति भए पनि आमाको दुःख काट्छु ।’
००

३) दाजै ! कविता गाउँमै छ

एक हुल तन्नेरीहरू ढोल बनाएर फर्केपछि 
गाउँभरि गुन्युचोलोको गीत गुन्जिरह्यो 
पोहोर यसै बेला सिलाएको कमिजको गोजीभित्र 
धीत नमरेको गीत पट्याइराखेर
एकाबिहान
रित्ता घैलाहरू उँधो झरिरहेको बेला 
आउँदाआउँदै
बिरालाले बाटो काटिरहेको बेला
एक भोला कविता बोकेर
सहर भर्दै छ
मलाई नपछ्याउनू दाजै !
कविता गाउँमै छ

कुन अज्ञात कुण्डको पिँधबाट हावाको सन्देश बोकेर 
उत्तरगामी क¥याङकुरुङहरू फेरि फर्किए
यतिखेर हतारका पिङहरू झड्किरहेका होलान्
मनका मौजाहरूमा
एउटा चञ्चल गीत आफ्नो सप्तकको गरा भिजाउन 
दौडिरहेको होला मुहान भाँच्दै डाँडैडाँडा
केराका सग्ला पातहरूमा मनका जम्मै द्विविधा 
खिलिराखेको छु
मलाई नरिसाउनु दाजै । 
कविता गाउँमै छ

पापी कुइनेटो, सयपत्रीको थुँगा गन्न पल्केको ! 
एकतमास उँधौली लागेका माइती–निकासलाई 
पर्खिरहेकै छन् ‘दिदीबहिनी डाँडा’ कहावत भएर 
विश्वासको आदिम घोचो चिबेका पुच्छरहरूमा अझै 
बाँचिरहेको छ आख्यान भएर
ढुकुरको थैलीबाट कोदाको ब्याड सारेर 
एकेक ठेली लोककथा मान्छेभित्र ज्युँदै छ 
किम्बदन्तीको एकेक सूतमा बाँधिएको 
त्यो भव्य विरासत र
छोरीको वियोगमा विक्षिप्त
‘थुविक्मा’ चरीको दुःखान्त गीत
जम्मैजम्मै त्यहीँ छाडेको छु
मलाई नसराप्नु दाजै !
कविता गाउँमै छ

त्यो बारीको बुढो सिमल जो अझै समय गनिरहेको होला
त्यसलाई नछुनु अथवा
त्यसमाथि बन्चरोको बुद्धि खियाएर
कुनै सङ्गीतहीन बिहान नबिताउनू
एउटा तिलस्मी घोडचढी आधा रातमा राँको बाल्दै
पूर्वतिर अल्पेको कथा बिर्सेर
कल्पनाको सुन्दर लोकमा खडेरी नपार्नू
हाट भरेर फर्किरहेको त्यो साँझको वीरे क्लिन्टनलाई

अनाहक जिस्क्याएर
ऊभित्रको जङ्गबहादुर नभत्काउनू
सखारै बर झारिरहेको कागलाई हाँगाबाट धपाएर 
बच्चाहरूको संसारबाट
‘कागदाइ’ प्रतिको विश्वास नहटाउनू 
कुनै कल्पित सुख भनेको
भौतिक साँचोको करामत हो कि हैन
त्यो बिचार्दै
दुई मिनेट अडेर एक छिन सोच्ने वा
दुई कदम पछाडि फर्केर हेर्ने
आशयको रिट हाल्न
एक झोला कविता बोकेर
सहर भरेको छु
मलाई नपछ्याउनू दाजै !
कविता गाउँमै छ ।
०००
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भूपाल राई
भूपाल राई
लेखकबाट थप