बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

२७ वर्षदेखि हराइरहेका यी चर्चित बलिउड अभिनेता

शनिबार, २२ भदौ २०८१, १२ : १०
शनिबार, २२ भदौ २०८१

मुम्बई । कर्ज, अर्थ, घर एक मन्दिर जस्ता दर्जनौं हिट फिल्ममा अभिनय गरेका राज किरण ८० र ९० को दशकका चर्चित अभिनेता थिए । तर, सन् १९९७ मा एक दिन उनी अचानक बेपत्ता भए । 

ऋषि कपुर र दिप्ती नवल लगायत धेरै सेलिब्रेटीले उनलाई खोज्ने कोसिस गरे तर सबै असफल भए । केही वर्ष पहिले उनी एटलान्टामा मानसिक अस्पतालमा रहेको खबरहरु आएका पनि थिए । तर यो कहिल्यै पुष्टि हुन सकेन।  अब अभिनेत्री सोमी अलीले उनलाई फेला पार्नेलाई पुरस्कार दिने घोषणा गरेकी छन् । अभिनेत्रीले आफूले ऋषि कपूरलाई राज किरणको खोजी कहिल्यै नरोक्ने वाचा गरेको बताएकी छन् ।

सोमी अलीले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट राज किरणका धेरै तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘साथीहरू, यदि तपाईंमध्ये कसैले उहाँलाई फेला पार्नुहुन्छ भने त्यसको लागि पुरस्कार पनि छ । यो धोखाधडी होइन। मैले ऋषि कपूरलाई वाचा गरेकी थिएँ कि म राजकिरणजीको खोजी गर्न कहिल्यै छोड्ने छैन। मैले उहाँलाई खोज्नको लागि २० वर्ष बिताएँ। म आफ्नै खर्चमा धेरै राज्यमा गएकी छु। एक समय मैले मेरी आमाबाट उधारो पनि लिएँ, ताकि चिन्टु जी (ऋषि कपूर) को आत्माले शान्ति पाओस् र म मेरो वाचा पूरा गर्न सकूँ।’

अभिनेत्रीले थप लेखेकी छिन्, ‘चिन्टुजी र अन्य अभिनेत्रीले पनि उहाँलाई खोज्ने प्रयास गरे तर भेटिएनन् । उहाँको बारेमा कसैलाई जानकारी छ भने मलाई म्यासेज गर्नुहोला । म केवल जान्न चाहन्छु कि उहाँ ठीक हुनुहुन्छ । मैले विगत १७ वर्षदेखि आफ्नो संस्था सञ्चालन गर्दै आएको छु । म कहिल्यै हिम्मत हार्दिनँ। म केवल उहाँ ठिक हुनुहुन्छ भनेर जान्न चाहन्छु। अब हामी सबैको चाहना यही हो, मैले मेरो वाचा पूरा गर्नुपर्छ।’

राज किरण, ५ फेब्रुअरी १९४९ मा जन्मेका भारतीय अभिनेता हुन् । उनले बीआर इशारा को कागज की नाव (१९७५) बाट बलिउडमा डेब्यू गरेका थिए ।  उनले ९० को दशकको मध्यसम्म १०० फिल्ममा अभिनय गरेका थिए । त्यसपछि उनी अचानक बेपत्ता भए । उनी अमेरिकामा गुमनाम जीवन बिताइरहेका थिए भन्ने खबर आएको थियो । सन् २०११ यता उनको कुनै खबर आएको छैन ।

दीप्ती नवलले फेसबुक पोस्टमार्फत राजकिरणको खोजी सुरु गरेकी थिइन् । दीप्तीले आफ्नो पोस्टमा राज न्युयोर्कमा रहेको संकेत गरेकी थिइन् ।  यसपछि सन् २०११ मा ऋषि कपूर राज किरणको खोजीमा न्यूयोर्क पुगेका थिए । राजका भाइलाई सम्पर्क गर्दा उनी एटलान्टाको मानसिक अस्पतालमा रहेको जानकारी पाए । उनी राजकिरणसँग कुरा गर्न चाहन्थे, यद्यपि उनका भाइहरूले मानेनन्। 

पछि राजकिरणको परिवारले पनि उनको खोजी गरिरहेको खबर आएको थियो । जसका लागि उनीहरूले धेरै निजी जासूसहरूलाई काममा राखेको समाचारहरु प्रकाशित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप