बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
कलाकार

जब प्रकाश बने ‘काल्का’, सुटिङ युनिटमा भागाभाग

शनिबार, २२ भदौ २०८१, ११ : ०२
शनिबार, २२ भदौ २०८१

काठमाडौँ । अभिनेता प्रकाश शाह दर्शकले बिर्सन नसक्ने चरित्रको खोजीमा थिए । निर्देशक सुदर्शन थापाको लक्ष्य करियरकै फरक फिल्म बनाउने थियो । फिल्म ‘रावायण’को सिलसिलामा प्रकाश र सुदर्शनको भेट भयो । त्यही क्रममा सुदर्शनले प्रकाशलाई ‘रावायण’का लागि उनको चरित्रबारे सुनाए । सो चलचित्रमा प्रकाश ‘काल्का’को भूमिकामा छन् ।

‘सुदर्शन दाइबाट फिल्ममा आफूले निर्वाह गर्ने चरित्रबारे सुनेपछि बिर्सन नसक्ने चरित्र निभाउने मेरो चाहना पूरा हुनेमा ढुक्क भएँ’, प्रकाशले भने, ‘सुदर्शन दाइले मेरो चरित्र सुनाउँदा यो चरित्रले दर्शकमा छाप छोड्छ भन्ने मलाई विश्वास थियो ।’

‘रावायण’मा उनले निर्वाह गरेको ‘काल्का’ चरित्र फिल्म प्रदर्शन अगाडि देखि नै चर्चामा रहन सफल रह्यो । ट्रेलर र टिजरबाटै चर्चित ‘काल्का’ चरित्रको चर्चा फिल्मको प्रदर्शनपछि झनै चुलिने प्रकाश बताउँछन् ।

WhatsApp Image 2024-09-05 at 20.47.58

यस चलचित्रमा प्रकाश देहाती गेटअपमा देखिएका छन् । फिल्ममा उनको भूमिका वीरगञ्जमा बस्ने भोजपुरी भाषी देहातीको छ । प्रकाशको ‘काल्का’ गेटअप हेर्दैमा डरलाग्दो छ । एक आँखामा फुलो परेको, कपाल घिनलाग्दो, दाह्री झुस्स फुलेको छ । झट्ट हेर्दा साउथ इन्डियन भिलेनजस्तो पनि लाग्नसक्छ ।

‘काल्का’ चरित्र भनेको कालको पनि काल रहेको प्रकाश बताउँछन् । ‘तराईको जङ्गलमा बस्ने, आफूले आफूलाई ठुलो मान्ने, काठ तस्कर, ५० जनाभन्दा बढी मानिस वरिपरि राख्ने राजा टाइपको, अनि उमेर ३५ वर्षभन्दा बढी’, उनले भने ।

WhatsApp Image 2024-09-05 at 20.47.58 (1)

कैलाली, टीकापुरका प्रकाशले फिल्ममा वीरगञ्जमा बस्ने देहाती चरित्र निर्वाह गर्न धेरै मेहनत धेरै गर्नुपर्‍यो । ‘म पश्चिमको ठकुरी, तर फिल्मको क्यारेक्टरचाहिँ टिपिकल भोजपुरी देहाती छ’, प्रकाशले भने ।

निर्देशक सुदर्शनसँग चरित्रको कुराकानी लगत्तै प्रकाश काठमाडौँबाट वीरगञ्ज पुगे । वीरगञ्जमा उनी १० दिन बसे । त्यो बसाइमा देहातीले कस्तो लुगा लगाउँछ, कसरी बोल्छ भन्ने उनले बुझे ।

प्रकाशले भने, ‘वीरगञ्ज बसाइका क्रममा त्यस क्षेत्रमा १०–१० किलोमिटरको फरक गाउँमा पनि फरकफरक भाषा हुँदो रहेछ भन्ने थाहा पाएँ । त्यसपछि थप भाषा बुझ्न परासी निस्किएँ ।’

परासीमा प्रकाशले देहातीले के गर्छन् भन्ने बुझ्न विभिन्न ठाउँमा चिया खान जाने, घुम्ने गर्न थाले । दिनभर उनीहरूको बोलीचाली बुझ्ने, हिँड्ने शैली हेरेर होटलमा फर्किएपछि तिनै चरित्रलाई उनी राति अभ्यास गर्थे ।

‘भूमिकाकै लागि कपाल बढाएँ, शरीर कालो देखाउन घाममा सुतेँ,’ प्रकाशले भने, ‘आँखामा लेन्स लगाएँ ।’ आफूले गेटअप तयार गरेर देखाउँदा निर्देशक सुदर्शन थापा समेत चकित परेको उनको भनाइ छ ।

लुक्सका लागि तीन महिनासम्म दाह्रीजुँगा र कपाल नकाटेको तथा मुख धुने, नुहाउने नगरेको प्रकाश बताउँछन् । ‘मेहनत अनुसार क्यारेक्टरले चर्चा पाउँछ भन्ने थियो । त्यो भयो । अहिले एकदमै खुसी छु,’ प्रकाशले भने ।

WhatsApp Image 2024-09-05 at 20.48.00 (3)

पहिले प्रकाशलाई निर्देशक सुदर्शनले ‘आलम’ चरित्रका लागि कुरा गरेका थिए, जुन चरित्र अहिले प्रमोद अग्रहरीले निर्वाह गरेका छन् । स्क्रिप्ट पढेपछि उनलाई ‘आलम’ भन्दा ‘काल्का’ चरित्रको लोभ लाग्यो । निर्देशक सुदर्शनसँग कुरा गरेपछि उनले काल्का भूमिका पाए ।

‘काल्का भूमिका अलि छोटो भए पनि चरित्र जति शक्तिशाली छ, त्यो चरित्र निभाउन त्यति नै चुनौतीपूर्ण पनि लाग्यो,’ प्रकाशले भने, ‘मलाई जोखिमपूर्ण अभिनय गर्न मन लाग्छ ।’

प्रकाश काल्काको भूमिकामा युवा र पाको गरी दुई फरक उमेर समूहका चरित्रमा देखिनेछन् । ‘मलाई दर्शकले दुई फेजमा देख्न सक्नुहुन्छ, एउटा युवा र अर्को बुढो उमेरको । युवावस्थामा जङ्गलको राजा जस्तै । समयसँगै ऊ शक्तिविहीन हुँदै जाँदा भैँसी पालनतिर लाग्छ । त्यसपछि बढी उमेरको भूमिकामा देखिन्छ’, प्रकाशले भने ।

फिल्ममा उनको र अभिनेत्री निकिता चण्डकको एक आइटम नृत्य पनि छ, जुन केही दिन अगाडि सार्वजनिक भएको थियो । प्रकाशका अनुसार ‘काल्का’ चरित्र नाँचगानमा पनि उत्तिकै रमाउँछ ।

‘त्यो आइटम गीतको सुटिङ हेर्न स्थानीय बच्चादेखि बुढासम्म आएका थिए’, प्रकाशले भने, ‘जब म सुटिङ सेटमा काल्का गेटअप मा पुग्थेँ । बच्चाहरूको भागाभाग हुन्थ्यो । मेरो लुक्स देखेर बुढाहरू समेत तर्सिन्थे ।’

आफूले कुन तहको काम गरेको रहेछु भन्ने परीक्षण छायाङ्कनै चरणमा अनुभूति गरेको प्रकाशले बताए ।

६ फिट हाइट, आकर्षक जिउडालका प्रकाश नै ‘काल्का’ हो भन्दा उनलाई देख्नेहरूलाई पत्याउन मुस्किल पर्छ । किनभने रिल र रियलमा उनी आकाश जमिनको फरक देखिएका छन् । सुटिङको समय आफूलाई भेट्न आउनेले गेटअपमा नचिनेको किस्सा पनि छन् उनीसँग ।

फिल्मको टिजर हेरेपछि अभिनेता तथा निर्देशक विराज भट्टले कामको तारिफ गरेको प्रकाशको भनाइ छ । ‘तैँले राम्रो गर्छस् भन्ने थाहा थियो, तैँले एकदमै बबाल काम गरेको रैछस् । तर यस्तो नसोचेको काम गर्छस् भन्नेचाहिँ लागेको थिएन,’ प्रकाशले विराजको शब्द दोहोर्‍याए ।

WhatsApp Image 2024-09-05 at 20.47.59 (1)

‘काल्का’ भूमिकामा उनलाई धेरैले प्रशंसा गरेका छन् । केही निर्माता, निर्देशकले त फिल्मको अफरसमेत गरेका छन् । क्यारेक्टरको कारणले मिडियाबाट पनि उनलाई राम्रो साथ मिलेको छ । फिल्मका लागि आफ्नो जस्तो गेटअप अहिलेसम्म कसैले नगरेको प्रकाशको दाबी छ ।

‘काल्का’ चरित्रको चर्चा अहिले बजारमा जति छ, त्योभन्दा गाह्रो यसबाट बाहिर निस्कन परेको प्रकाश बताउँछन् । फिल्मको काम सकेपछि क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लागेको उनले सुनाए ।

‘सुटिङ सकेर काठमाडौँ आएपछि सुदर्शन दाइलाई अझै कहीँ कतै बाँकी छ कि भनेर सोधेँ । किनकि तराईको ४४ डिग्रीसम्मको गर्मी, त्यसमाथि म नुहाउन पनि पाएको थिइनँ’, उनले भने, ‘म पूरै बिरामी भएको थिएँ । म तराईमा जन्मिए पनि त्यतिको तातो र गर्मी अनुभव मैले अहिलेसम्म गरेको थिइनँ ।’

प्रकाश फिल्म ‘लभ स्टेसन’बाट चिनिएका अभिनेता हुन् । त्यसअघि दुई फिल्म अभिनय गरे पनि प्रदर्शनमा आउन नसकेको कारण उनी ‘लभ स्टेसन’ डेब्यु फिल्म भन्छन् ।  प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको ‘लभ स्टेसन’मा उनी नेगेटिभ भूमिकामा देखिएका थिए ।

WhatsApp Image 2024-09-05 at 20.48.00

‘लभ स्टेसन’पछि अभिनेता विराट भट्टसँग ‘साङ्लो’मा उनले अभिनय गरेका थिए । यो फिल्ममा पनि उनी नेगेटिभ भूमिकामै थिए । ‘साङ्लो’पछि केही समय हराएका उनी अहिले आएर ‘रावायण’मा देखिए ।

‘साङ्लो’मा उनको अभिनय हेरेर उनलाई निर्देशक सुदर्शनले ‘रावायण’मा विश्वास गरेका हुन् । झट्ट हेर्दा हिरो झैँ देखिने उनी राम्रो कलाकार बन्ने लक्ष्यसहित अभिनयमा होमिएका हुन् । उनले अभिनेता अनुप बरालसँग ३ महिना अभिनय प्रशिक्षणसमेत लिएका छन् । उनी ‘मिष्टर ग्लोबल नेपाल २०१८’ का विजेता हुन् ।

अहिलेसम्मको फिल्ममा प्रकाश नेगेटिभ चरित्रमै देखिएका छन् । ‘राम्रो चरित्र देखेर लभ स्टेसन चलचित्रमा नेगेटिभ भूमिका निर्वाह गरेको । मेरो विषयमा त्यही छापा प¥यो’, उनले भने, ‘म राम्रो कलाकार बन्न आएको हो । पोजेटिभ भूमिका पनि गर्न सक्छु ।’

आफूलाई छोटो वा लामो भूमिकाले फरक नपर्ने तर दर्शकले प्रशंसा गर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।

सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’मा अभिनेता पल शाह र पूजा शर्माको मुख्य भूमिका छ । फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप