सहकारी पीडितसँग तत्काल वार्ता गर्न मन्त्री अधिकारीलाई समितिको निर्देशन
काठमाडौँ । सहकारी छानबिन विशेष समितिले सहकारी पीडितहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले सहकारी मन्त्री बलराम अधिकारीलाई सो निर्देशन दिएको हो ।
बैठकमा मन्त्री अधिकारीलाई आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न समेत निर्देशन दिइएको छ ।
बैठकपछि सामाजिक सञ्जाल फेसबुकमा समितिका सभापति सूर्य थापाले लेखेका छन्- ‘बैठकमा बचतकर्ताको भावनामा चोट पुग्ने गरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न मन्त्री बलराम अधिकारीलाई निर्देशन दिँदै मन्त्रालयलाई सकारात्मक पहलकदमी लिँदै पीडितहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गरिएको छ।’
त्यस्तै आन्दोलनकारीहरूलाई संसदीय छानबिन विशेष समितिमा पीडितहरूको प्रतिनिधि मण्डलसँग भएको चार घण्टा लामो छलफलको मर्म र इमानदार प्रयासलाई विश्वास एवं भरोसा गर्नसमेत अनुरोध गरिएको छ।
आजको बैठकमा सो मन्त्रालय र सम्बद्ध निकायहरूसँग प्रतिवेदनमा समेट्ने विषयवस्तु केन्द्रित परामर्श बैठक र छलफल भएको सभापति थापाले बताएका छन् ।
बैठकमा मन्त्री बलराम अधिकारी, सचिव अर्जुन पोखरेल, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज
-
तराई र उपत्यकामा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?
-
चिनी उद्योगले समयमै भुक्तानी दिएपछि उखु किसानलाई राहत
-
एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि
-
आज महालक्ष्मीको बार, कस्तो छ तपाइको दिन ? हेरौँ राशिफल
-
अमेरिकी डलर, युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र रिङ्गेट ओरालो